s

एक महिनादेखि दुबईको बाढीमा बेपत्ता छिन् लीला

दाङको तुलसीपुर उपमहानगरपालिका– १ भमकेकी ३७ वर्षीया लीला पाण्डे संयुक्त अरब इमिरेट्स (युएईमा) महिना दिन यता बेपत्ता छिन्।

युएईमा वैशाख ४ गते राति परेको भारी वर्षापछि उनी बेपत्ता भएकी थिइन्।

महिना दिनदेखि आमा बेपत्ता भएको खबरले १४ वर्षीया साइँली छोरी लक्ष्मी र १२ वर्षीया देवी पाण्डे शोकमा डुबेकी छन्।

आफन्तहरूको पनि आँखा ओभाउन सकेको छैन। अनिँदै छन् उनीहरू।

वैशाख २५ गते युएईको दूतावासबाट परराष्ट्र मन्त्रालयमा एक जना महिलाको शव फेला परेको सूचना आयो।

त्यो शव पहिचान गर्न मुस्किल हुने अवस्थाको थियो। युएईमा बस्ने टीकाराम न्यौपानेले पहिचानका लागि शव हेर्न खोजे। तर त्यहाँको प्रशासनले नाता प्रमाण खोजेपछि टीकारामले मृतकको शव हेर्न र पहिचान गर्न पाएनन्।

विराट शाह युएईमा बेपत्ता पाण्डेकी जेठा ज्वाइँ हुन्। टीकाराम न्यौपाने नाताले विराटका साढु हुन्।

विराट र टीकारामका बीचमा सामाजिक सञ्जालमार्फत् पाण्डेको खोजतलाज गर्नेबारे कुराकानी भएपछि दुवैले खोजपड्तालको कोसिस पनि गरेका थिए।

तर उनीहरूको प्रयासले मात्रै केही सीप चलेन ।

यही क्रममा वैशाख २५ गते त्यहाँको सरकारले नेपालको परराष्ट्र मन्त्रालयलाई एक जना महिलाको शव फेला परेकाले डिएनए परीक्षणका लागि आउन खबर गरेको थियो।

१० वर्षीया लक्ष्मी र १२ वर्षीया देवी एक्लै युएई जान सक्ने अवस्था थिएन।

दाङ छाडेर टाढा नगएकाले युएई पुग्ने कल्पना पनि गर्न नसक्ने उनीहरू बताउँछन्।

आमा जायजेथा बेचेर विदेशको बाटो तताएकी थिइन्।

घर–जग्गा नै बेचेर आमा वैदेशिक रोजगारीका लागि जानुपरेकाले दिदीबहिनी ठूली दिदी धनी र भिनाजु विराट शाहको घरमा बस्दै आएका छन्।

यस्तो अवस्थामा दिदी बहिनी एक्लै युएई कसरी जाऊन् पनि कसरी!

दुवै दिदीबहिनी तुलसीपुरको सामुदायिक विद्यालयमा कक्षा १० र ८ मा अध्ययनरत छन्।

विराट दम्पत्तिले घरको आर्थिक अवस्था कमजोर दुवै छोरी अल्पवयस्क भएकाले डिएनए परीक्षणका लागि आउन नसक्ने जानकारी परराष्ट्र मन्त्रालयलाई गराइदिए।

परराष्ट्र मन्त्रालयले युएईस्थित नेपाली दूतावासलाई त्यही सूचना दिएको थियो।

यही पत्राचारका आधारमा युएईस्थित दूतावासले नेपालमै गरेको डिएनए परीक्षण रिपोर्ट पनि मान्य हुने जानकारी परराष्ट्र मन्त्रालयलाई दिएको थियो।

कन्सुलर विभागबाट नेपालमै गरेको डिएनए परीक्षणको रिपोर्ट पनि मान्ने हुने व्यहोराको पत्रका आधारमा उनीहरू अहिले नेपाल प्रहरीको हेडक्वार्टर पुगेका छन्।

उनीहरूले बुधबारमात्रै प्रहरी मुख्यालयमा डिएनए परीक्षणका लागि नमूना बुझाएको लक्ष्मीले बताइन्।

बिहीबारसम्ममा डिएनए परीक्षण हुन सक्ने जानकारी उनीहरूलाई दिइएको छ।

रिपोर्ट आउन दुई दिन लाग्नेछ। त्यो रिपोर्ट युएई लगेर म्याचिङ गरेपछि मात्रै फेला परेको शव लीला पाण्डेको हो, होइन भनेर यकिन हुनेछ।

चार छोरीकी आमा लिला पाण्डे घरायसी आर्थिक अवस्था सुधार्न २७ महिनाअघि युएई गएकी थिइन्।

जेठी र माइली छोरीहरूको विवाह भइसकेको छ। बुवाको पनि केही वर्ष पहिले नै मृत्यु भइसकेको छोरी लक्ष्मीले बताइन्।

‘आमा हामी दुई बहिनीलाई पढाउन भनेरै विदेश जानु भएको थियो,’ लक्ष्मीले भनिन् ‘हामीलाई सधैँ राम्रोसँग पढ्नू, राम्रो बाटोमा लाग्नु भनेर फोनमा सम्झाइ रहनुहुन्थ्यो।’

वैशाख ४ गते उनीहरूको आमासँग फेसबुक म्यासेन्जरमा कुराकानी भएको थियो। त्यतिबेला युएईमा घनघोर पानी परिरहेको बताएकी थिइन्।

‘त्यो दिन आमाले ठूलो पानी परिरहेको हुँदा आज रूममा लाँदैन होला भन्नुभएको थियो,’ लक्ष्मीले भनिन्।

छोरी लक्ष्मीका अनुसार लीलाले साउन नभए दसैँमा घर आउने बताएकी थिइन्। त्यसैले उनीहरू आमा आउने दिन गनिरहेका थिए।

लीला दुबई सहरको एक विद्यालयमा सरसफाइको गर्थिन्।

‘वैशाख ५ गते बिहान ७ बजेतिर दुबईमा ममीसँगै बस्ने आस्मा र सोनी काकीले हामीलाई म्यासेन्जरमा फोन गर्नुभएको थियो। ममी बिरामी परेकाले अस्पताल भर्ना गरेको बताउनुभएको थियो,’ लक्ष्मीले भनिन्, ‘तर दिदी–भिनाजुलाई चाहिँ बाढीले बगाएर बेपत्ता बनाएको बताउनुभएछ! दिदी–बहिनी आत्तेलान् भनेर हामीलाई चाहिँ बिरामी भएको भन्नुभएको होला!’

आम दुबईको भेलमा बगेपछि जेठी छोरी धनी पनि चिन्तित छिन्। दुई बहिनीको अभिभावकत्व लिइरहेकी उनले आमाको अवस्था पत्ता लगाइदिन सरकारसँग याचना गरिन्।

बुवाको निधन भइसकेकाले दुई बहिनीको भविष्य के हुने हो भन्ने चिन्ता त छँदैछ। आमाको सास र लाशको टुंगो नलाग्दा त्यसबाट शोकाकुल बनेका बहिनीहरूलाई के भनेर सम्झाइबुझाइ गर्ने उनले केही भेउ पाउन सकेकी छैनन्।

‘आमाको अवस्था जे जस्तो भए पनि पत्ता लगाउन सरकारले सहयोग गरिदिए हुन्थ्यो!,’ उनले भनिन्।

Published on: 16 May 2024 | Setopati

Link

Back to list

;