s

एक हात गुमाएका मोरङका अरुण राई २ वर्षदेखि साउदीमा अलपत्र

विष्णु घिमिरे

साउदी : वैदेशिक रोजगारीको क्रममा ड्राइभर भिषामा साउदी अरेबिया पुगेका मोरङ बेलबारी-६ का अरुण राईले सडक दुर्घटनामा एक हात गुमाएका छन्। उनी हाल साउदीमा नै अलपत्र परेका छन् । मध्यम वर्गीय परिवारमा जन्मिएका राई वैदेशिक रोजगारीको क्रममा १ जुन २०१९ मा नेपालमा रहेको नारायणी मेनपावरबाट साउदीस्थित अल मसार कम्पनीमा ड्राईभरको लागि गएका थिए ।

ड्राईभर कामको लागि नेपालमा गरिएको सम्झौता अनुसार १८ सय रियल प्रतिमहिना दिने सर्तमा साउदी पुगे तापनि उक्त कम्पनीले १२०० मात्र दिने सर्तमा काम दिएको र सोही काम गरेका थिए। काम गर्दै जाँदा २५ जनावरी २०२० मा सडक दुर्घटना भयो । दुर्घटना भएलगत्तै हस्पिटल लाँदै गर्दा उनीसँगै रहेका सहचालक भारतीय नागरिकको मृत्यु भयो भने उनले सो दुर्घटनामा आफ्नो एक हात गुमाए।

दुर्घटनामा भएको १० दिनपछि हस्पिटलबाट कम्पनीले स्टाफ एकोमोडेसन राखेको तर हालसम्म पनि स्वदेश फिर्ताको लागि कुनै पनि पहल नगरेको उनको गुनासो छ । कम्पनीका अनुसार स्वदेश फिर्ताको लागि आवश्यक काम भइरहेको र पाउनु पर्ने सेवा सुविधा र सडक दुर्घटनामा देखिएको गल्तीलाई मध्यनजर गर्दै स्वदेश फिर्तामा केही ढिलाइ हुने भनेता पनि २ वर्षदेखि राई साउदीमा नै बिना काम अलपत्र परेका छन्। सम्बन्धित मेनपावर पनि यो अवस्थामा बेखवर रहेको जानकारी दिए।

पीडित अरुण भन्छन्, 'परिवारलाई सुख सुविधा दिने उद्देश्यले साउदी आएको थिएँ। मैले सोचेजस्तो कम्पनी परेन। सम्झौता अनुसारको सेवा सुविधा पनि पाइनँ। दुर्घटनामा मेरो गल्ती पुलिस केसमा देखाएको छ। त्यो केश तनफिज कोटमा रहेको र हालसम्म पनि कुनै सुनाई भएको छैन। स्वदेश फिर्ताको लागि कठिन भएको छ।'

उनले थप भने, 'काठमाडौंको गंगबुमा रहेको नारायणी मेनपावरबाट साउदी जाँदा १ लाख २५ हजार तिरेको थिएँ। म अलपत्र परेपछि साउदीमा रहेको नेपाली दूतावास रियादमा सडक दुर्घटना सम्बन्धी सम्पूर्ण जानकारी गराएको थिएँ। लगतै दूतावासले सम्बन्धित कम्पनी र पीडितसँग समन्वय गरी आवश्यक कार्य अगाडि बढाएको थियो ।'

दूतावासका अनुसार पीडितले आफ्नो समस्या दूतावासमा दिए लगत्तै सम्बन्धित कम्पनी, मेनपावर, र पीडितसँग छलफल गरी आवश्यक सहयोगको लागी सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थियो। साथै पीडितले पाउनुपर्ने सेवा सुविधा जोड दिइ पिडीत पक्षमा देखिएको पुलिस केसलाई तनफिज कोटको फैसला अनुसार स्वदेश फिर्ताको लागि एक्जिट प्रकिया गरी आवश्यक सहयोग गर्ने जानकारी दिएको छ।

स्वदेश फिर्ता हुने आशामा रहेका राईको अवस्थालाई मध्यनजर गर्दै साउदीमा कार्यरत नेपालीहरुले सि डी सी ग्रुपले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा रकम संकलन गरी ६ हजार साउदी रियल सहयोग गरेका थिए। पीडितको घरमा बुवा आमा लगायत श्रीमती र एक छोरी छन्।

Published on: 10 August 2022 | Annapurna Post

Link

Back to list

;