s

एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गर्छौँ : मन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्न सफल भएको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले कार्यालय समयभित्र आवश्यक काजगपत्र तथा विवरण अनलाइन प्रविधिमार्फत दर्ता (अपलोड) गरेको एक घण्टाभित्र आफ्नै मोबाइलमा श्रम स्वीकृति प्राप्त गर्न सकिने बताए।

वैदेशिक रोजगार कार्यालय ताहाचलले अनलाइनमार्फत दिइँदै आएको श्रम स्वीकृतिको सेवालाई छिटोछरितो बनाउँदै एक घण्टाभित्र उपलब्ध गराउन सम्भव भएको उनको भनाइ छ।

‘कोही पनि श्रमिकले आफ्नो सम्पूर्ण कागजपत्र अनलाइन प्रविधिमार्फत विवरण दर्ता गराएको एक घण्टाभित्र श्रम स्वीकृति आफ्नै मोबाइलमा प्राप्त गर्न सक्नुहुनेछ,’ मन्त्री अर्यालले भने, ‘कर्मचारीको लगनशीलता, इमानदारी र सम्पूर्णको सहयोगले यो कार्य गर्न सम्भव भएको हो।’

श्रम स्वीकृति लिने काममा अहिले धेरै लामो समय लाग्ने अवस्था नभएको भन्दै मन्त्री अर्यालले कागजात नपुगेको अवस्थामा, दोहोरोपना वा कर्मचारीलाई शंकास्पद लागेको अवस्थामा बाहेक काम सहज रूपमा नै भइरहेको दाबी गरे।

Published on: 8 April 2024 | Naya Patrika

Link

Back to list

;