s

एक वर्षमा रामेछापका १० युवाले विदेशमा ज्यान गुमाए

वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाउनेको संख्या दिनानुदिन वृद्धि हुँदै गएको छ। गत वर्षमात्रै रामेछाप जिल्लाबाट मात्रै वैदेशिक रोजगारीका लागि गएका १० जना युवाले विदेशमै ज्यान गुमाएका हुन्।

विदेशमा ज्यान गुमाउनेमध्ये सबैभन्दा बढी मलेसियामा रहेको सुरक्षित वैदेशिक रोजगारीका लागि काम गरिरहेको संस्था सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र रामेछापले जनाएको छ। तथ्यांकअनुसार मलेसियामा मात्रै एक वर्षको अवधिमा पाँच जनाले ज्यान गुमाएका छन्।

साउदी अरबमा एक जना, दुबईमा एक जना, कुवेतमा एक जना, कतारमा एक जना र साइप्रसमा एक जनाले ज्यान गुमाएका हुन्। रामेछाप जिल्लाको साविकको गुप्तेश्वर गाउँ विकास समिति ६ की सुना तामाङले कुवेतमा ह्दयघातको कारण ज्यान गुमायो भने डडुवा २ का अशोक तामाङले साउदी अरबमा गाडी दुर्घटनामा परेर ज्यान गुमाए।

टोकरपुर ८ की यमुना मगरले साइप्रसमा, सैपु २ का गंगाबहादुर सुनुवारले मलेसियामा पानीमा डुबेर, सुकाजोर ७ का लोकबहादुर मगर दुबईमा र डडुवा ९ का सन्तोष तामाङको सुतैकै ठाउँमा ज्यान गएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र रामेछापकी परामर्शदाता सिर्जना बस्नेतले बताइन्। खनियापानी ६ का दिपक तामाङ बिरामीका कारण, र चनखु ३ का धनबहादुर तामाङ सुतेकै ठाउँमा, रामेछाप नगरपालिका ८ का सञ्जीव शाही विदेशमै क्यान्सर लागेर र नागदह ५ का लोकबहादुर आले मलेसियामा ह्दयघातका कारण ज्यान गुमाएका छन्।

नेपालको मौसमी र हावापानी जस्तो विदेशमा अनुकूल नभएकै कारण ज्यान गुमाउनु परेकोे तीन वर्ष साउदी अरब काम गरेर नेपाल आएका रामेछाप नागदहका निमा तामाङको भनाइ छ। उनले दुई वर्षअघि आफूसँगै बसेर काम गर्ने साथी गुमाउनु परेको क्षण सम्झँदै उनले भने, ‘दिनभर गर्मीमा काम गरेर कोठामा एसी खोलेर सुत्दा सुतेको सुतै हुन्छ।’

वैदेशिक रोजगारको क्रममा विदेश रहँदा नेपालीले सामान्य कुराको समेत ज्ञान नलिँदा ज्यान गुमाउनु परेको चार वर्ष मलेसियामा काम गरेर फर्किएका रामेछाप नगरपालिका रामपुरका युवराज सुनुवारले बताए। भाषा, मौसमी अवस्था तथा सडक बाटो क्रस गर्नेजस्ता कुराको ज्ञान नहुनुृ ज्यान गुमाउने प्रमुख कारण रहेको उनको भनाइ छ।

Published On: 6 September 2018 | Annapurna post

Back to list

;