s

एक वर्षमा ६ लाख ३० हजार बिदेसिए

उत्तम काप्री

वैदेशिक रोजगारीका लागि २०७३ साल ६ लाख ३० हजार भन्दाबढी युवा विश्वका विभिन्न मुलुकमा पुगेका छन् । देशमा रोजगारीको पर्याप्त अवसर नहुँदा कामका लागि विदेश जाने युवाको संख्या यती धेरै भएको हो । तर, यो संख्या २०७२ भन्दा १५ प्रतिशतले कम हो । वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा बढी कतार, दोस्रोमा साउदी अरब र तेस्रो स्थानमा मलेसिया गएका छन् ।

सरकारले रोजगारीका लागि एक सय १० भन्दा बढी मुलुक खुला गरेको छ । अन्य मुलुकको तुलनामा कतार जाने बढी दक्ष देखिएका छन् । नेपाली कामदारका लागि हावापानीदेखि सेवा सुविधा र तलब बढी हुने राष्ट्र मलेसिया भए पनि पछिल्लो सयम मलेसिया जानेको संख्यामा गिरावट आइरहेको छ । सरकारले २०७२ असारदेखि लागू गरेको फ्री भिसा-टिकटको निर्णयसँगै व्यावसायीले मलेसियाको ‘डिमान्ड’ ल्याउने छाडेका छन् ।

वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालयका अनुसार २०७३ सालको वैशाख महिनामा नयाँ र बिदामा आई पुनः कामकै लागि विदेसिएकाको संख्या ६० हजा सात सय १४ छ । यसैगरी जेठमा ६० हजार पाँच सय २८, असारमा ५० हजार दुई सय ८७, साउनमा ५१ हजार एक सय साच र भदौमा ४९ हजार तीन सय १२ युवा रोजगारीका लागि बिदेसिएकोे कार्यालयले जनाएको छ ।

असोजमा ४२ हजार दुई सय आठ, कातिकमा ५९ हजार एक सय ८२, मंसिरमा ६५ हजार आठ सय ९१, पुसमा ५३ हजार सात सय ९८, माघमा करिब ४० हजार, फागुनमा ४१ हजार पाँच सय ३५ र चैतमा ५६ हजार एक सय ९६ युवा रोजगारीका लागि विदेश पलायन भएका छन् ।

२०७२ सालको विनाशकारी भूकम्प र श्रम तथा रोजगार मन्त्रालयले लागू गरेको मलेसियासहित खाडी मुलुकमा न्यूनतम लागतको निर्णयले निरन्तर ओरालो लागिरहेको वैदेशिक रोजगार अझै लयमा फकैन सकेको छैन् । वैदेशिक रोजगारमा जानेको संख्या घटेसँगै देशले प्राप्त गर्दै आएको रेमिटेन्स रकमको वृद्धिदरसमेत ओरालो लागेको छ ।

तर, यसरी विदेश पलायन हुने युवा म्यानपावरका दलालबाट भने ठगिने क्रम घटेको छैन । योसँगै विभिन्न संस्था खडा गरी विदेश जाने युवासँग विभिन्न शीर्षकमा समेत रकम असुल गर्ने कार्य पनि जारी छ ।

नेपाली कामदारका लागि सबैभन्दा राम्रो मानिएको पहिलो गन्तव्य मलेसियामा रोजगारीका लागि थप अवसर सिर्जना भएसँगै विदेश पलायन हुनेको संख्या बढेको हो । मलेसियाले कामदारले तिर्दै आएको लेबी पनि कम्पनीले नै तिर्ने गरेको निर्णयसँगै अझै यो संख्या बढ्ने अनुमान विभागको छ । अहिले नेपालीका लागि पहिलो गन्तव्य बनेको कतारमा भने कामदारले बढी दुःख गर्नुपर्ने हुन्छ ।

लेसियासहित कतार, साउदी अरब, दुबई, ओमन र बराइनमा कामदार पठाउँदा म्यानपावर कम्पनीले फ्री भिसा र टिकट उपलब्ध गराउनुपर्ने व्यवस्था छ । म्यानपावर कम्पनीले यी देशमा कामदार पठाउँदा सेवा शुल्क बापत मात्र १० हजार रुपैयाँ लिनुपर्ने व्यवस्था छ । तर, म्यानपावर कम्पनीले कामदारसँग लाख रुपैयाँसम्म लिइरहेका छन् ।

सरकारी निकायमा पेस गर्ने कागजका लागि भने १० हजार रुपैयाँकै रसिद काट्ने गरेका छन् । सरकारी अनुगमन फिताले हुँदा कामदार पनि बढी भारमा परेका छन् भने फ्री भिसा र टिकटको निर्णय कागजमा सीमित हुन पुगेको छ । साथै विभिन्न संस्थाका नाममा मलेसिया जाने कामदारलाई परेको थप भार पनि रोकिन्न सकेको छैन । अहिले मलेसिया जाने कामदारले अनावश्यक रूपमा १७ हजारभन्दा बढी रकम तिरिरहेको छन् ।

महिना संख्या
वैशाख ६०७१४
जेठ ६०५२८
असार ५०,२८७
साउन ५१,१०७
भदौ ४९३१२
असोज ४२,२०८
कातिक ५९,१८२
मंसिर ६५,८९१
पुस ५३,७९८
माघ ३९९९८
फागुन ४१५३५
चैत ५६,१९६
स्रोतः वैदेशिक रोजगार विभाग

Published on: 27 April 2017 | Annapurna Post

Back to list

;