s

इद बिदामा म्यानपावरको हड्ताल, कामदार नपठाउन लिखित पत्राचार

दवाव दिन अनावश्यक हल्ला : विभाग

खाडी देशका सरकारले दिइएको १० दिने इद बिदाको मौकामा वैदेशिक रोजगार व्यवसायीले कामदार पठाउन रोकेको खुलेको छ । खाडीका सरकारले इदको अवसरका ३० मेदेखि जुन ९ (जेठ १६ देखि २६) सम्म बिदा दिइएको समयमै म्यानपावर व्यवसायीले कामदार पठाउन रोकेका थिए ।

अधिकांश रोजगारदाता कम्पनीले यो समयमा आफ्नो काम बन्द रहने भन्दै म्यानपावर कम्पनीलाई कामदार नपठाउन लिखित पत्राचार नै गरेका थिए । म्यानपावर व्यवसायीले धरौटीको ब्याज दिइनुपर्ने, मलेसियाको रोजगार खुलाउनुपर्ने, मर्जर हुने म्यानपावरलाई छुट, सुविधा र सहुलियत दिनुपर्नेलगायत ६ बुँदे माग राख्दै सरकारलाई दवाव दिन भन्दै जेठ १६ देखि २३ गतेसम्म कामदार पठाउन रोकेका थिए । यो समयमा सरकारी काम पूर्ण रुपमा बन्द छ । 'साता दिनदेखि बन्द कार्यालयहरु आउँदो आइतबारदेखि मात्रै खुल्छ,' साउदी अरबस्थित नेपाली राजदूत महेन्द्रसिंह राजपुतले कान्तिपुरसँग भने, 'एक महिना रमजान चलेको थियो । रमजान महिनाभर यहाँका सरकारी काम सुस्त हुन्छ । पछिल्लो एकहप्ता त पुरै बन्द छ ।'

राजपुतले सरकारी कार्यालय बन्द हुँदा भिसा जारी हुने काम रोकिने बताए । 'बिदामा यहाँको प्रणाली नै बन्द हुन्छ । नियम एकदमै कडा छ,' उनले भने, 'सबै इस्लाम धर्मालम्बीको लागि यो ठूलो पर्व हो । उनीहरु सबै पर्वको माहोल रमाएर बसिरहेको छन् ।' रामजान अवधिभर कामदार भर्ना प्रक्रिया सुस्त हुने गर्छ । वैदेशिक रोजगार विभागका अनुसार हरेक रमजान महिनामा अन्य महिनाको तुलनामा कम कामदारलाई श्रम स्वीकृति दिने गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७३/७४ मा संस्थागततर्फ (म्यानपावरबाट जाने) २९ हजार ७६३ जना र व्यक्तिगततर्फ १९ हजार ४८३ गरी जम्मा ४९, २४६ जना रमजानको अवधिमा वैदेशिक रोजगारीका लागि गएको देखिन्छ । आर्थिक वर्ष २०७४/७५ मा सो संख्या संस्थागततर्फ २३ हजार र व्यक्तिगततर्फ २३ हजार ४३१ जना गरी कूल ४६, ४३७ जना वैदेशिक रोजगारीमा गएका छन । यसबर्ष रमजान अवधिभर वैदेशिक रोजगारीमा जाने संख्या संस्थागततर्फ २० हजार ९७६ र व्यक्तिगततर्फ २७ हजार २३२ गरी ४८ हजार २०८ जना वैदेशिक रोजगारीमा गएका छन् ।

'यसरी गत वर्षको रमजानको अवधिमा भन्दा यस वर्षको सोही अवधिमा रमजान एक दिन बाँकी रहँदैको तथ्यांक हेर्दासमेत १७ सय ७१ जना थप व्यक्तिहरु वैदेशिक रोजगारीका लागि गएका छन् । विभागको श्रमडेस्कको तथ्याङ्कले रमजानको मुख्य दिन नजिकिंदै जाँदा समेत संस्थागततर्फ औसतमा ३५० जना र व्यक्तिगततर्फ ७०० को हाराहारीमा वैदेशिक रोजगारीमा गएको देखिन्छ ।', विभागका महानिर्देशक भिष्मराज भुसालले भने,-'यी तथ्यहरुले वैदेशिक रोजगारीमा पठाउने कार्य बन्द भएको भन्ने हल्लामा कुनै सत्यता छैन ।'

Published on: 6 June 2019 | Kantipur

Back to list

;