s

एघार महिनामा १ सय ६४ विदेशी निष्कासन

सन्तोष पोखरेल

वैशाखदेखि फागुनसम्मको अवधिमा एक सय ६४ विदेशी नागरिक (पर्यटक)लाई नेपालबाट निष्कासन गरिएको छ। पाहुनाका रूपमा नेपाल भित्रिएका ती विदेशी पर्यटक विभिन्न अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेर सजाय भोगिरहेका थिए। सजाय पूरा गरेका ती विदेशी नागरिकलाई अध्यागमन विभागमार्फत निष्कासन गरिएको हो।

विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार विभिन्न अपराधमा संलग्न भएको आरोपमा नेपालका विभिन्न ठाउँबाट विभिन्न समयमा पक्राउ परेका ती विदेशी नागरिक विभिन्न कारागारमा कैद भुक्तानमा थिए। कैद सजाय भुक्तानपछि उनीहरूलाई स्वदेश फिर्ता पठाएको तिवारीले बताए। विभागका अनुसार सबैभन्दा बढी ओभरस्टेका ६७ जना विदेशी यो अवधिमा निष्कासनमा परेका छन्। तिवारीका अनुसार सबैभन्दा बढी ओभरस्टेका ६७ जना पर्यटक निष्कासनमा परेका छन्। त्यस्तै जाली राहदानीका ३७, जाली भिसाका सात, कागजात शंकास्पदका १२, इन्ट्रि रिफ्युजका ६, ठगीमा पाँच, लागुऔषधका ६, अपहरण तथा शरीर बन्धकका एक, बैंकिङ कसुरका आठ, सुन चोरी–पैठारीका पाँच, हुण्डी कारोबारका दुई, खोटाचलनका तीन तथा मानव बेचबिखन, अप्राकृतिक मैथुन, अखेटोपहार, सरकारी छाप र दस्तखत किर्ते र विदेशी विनिमय अवैध ओसारपसारका एक–एक जना निष्कासनमा परेका छन्। अझै केही विदेशी कैद भुक्तानको क्रममा विभिन्न कारागारमा रहेको तिवारीले बताए। ‘विदेशीहरू घुम्नका लागि मात्र नभई विभिन्न अपराध गर्ने उद्देश्यले पनि नेपाल आउने गरेको तथ्यांकले देखाउँछ,’ उनले भने, ‘हामीले विदेशीलाई सम्मानपूर्वक पाहुना मान्दै आए पनि उनीहरुको गतिविधि फरक हुने गरेको छ। त्यसैले सचेत हुनुपर्छ।’

पाहुनाको रूपमा नेपाल भित्रिएका विदेशी कुनै अपराधिक गतिविधिमा संलग्न रहेको पाइएमा अध्यागमन ऐन २०४९ अनुसार कारबाही हुने प्रावधान छ। नेपाल भित्रिएका विदेशीले आफ्नो नाम, उमेर, राष्ट्रियता वा अन्य कुनै कुरा ढाँट्न, झुठ्ठा विवरण दिन वा जाली राहदानी वा भिसा प्रयोग गर्न–गराउन नपाइने ऐनमा उल्लेख छ। त्यसबाहेक नेपाल भित्रिएका कुनै विदेशीले अपराध गरेको खण्डमा ५० हजार रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने ऐनमा उल्लेख छ।

पाहुनाका रूपमा नेपाल भित्रिएका विदेशीले अनपेक्षित गतिविधि गर्ने र आपराधिक क्रियाकलापमा समेत सहभागी हुने भएकाले उनीहरुलाई नियन्त्रणका लागि अध्यागमन विभागको सक्रियता र सचेतना कम भएको पर्यटन व्यवसायीहरू बताउँछन्। ‘पाहुनाको रूपमा भित्रिन्छन् अनि विभिन्न अपराधिक गतिविधि गर्छन्,’ पोखराका अग्रज पर्यटन व्यवसायी गणेश भट्टराई भन्छन, ‘यसलाई नियन्त्रण गर्ने मुख्य दायित्व अध्यागमन विभागको हो तर विभाग अपेक्षित सक्रिय हुन सकिरहेको देखिँदैन।’ भट्टराईका अनुसार भारतसँगको खुला सिमानाका कारण पनि नेपाल भित्रिएका विदेशीलाई आपराधिक गतिविधि गर्न सहज भइरहेको छ। तर, अध्यागमन यसतर्फ मौन रहेको छ। भट्टराईले पर्यटकको बसाइ अवधि, व्यापार, करको दायरामा भए–नभएको लगायत गतिविधिप्रति अध्यागमनले खासै ध्यान दिन नसकेको आरोप पनि लगाए।

Published on: 27 March 2019 । Nagarik

Back to list

;