s

‘इकोनोमिक हिरो’लाई तुच्छ कामदार ठान्यौँ : डा. गणेश गुरुङ

सागर चन्द

 

समाजशास्त्री, नीति तथा अनुसन्धान प्रतिष्ठानका सदस्य तथा आप्रवासी कामदारविज्ञ डा. गणेश गुरुङसँग सागर चन्दले गरेको अन्तर्वार्ता 

यो महामारीले ‘माइग्रेन्ट वर्कर’को अवधारणामा परिवर्तन ल्याउने सम्भावना कति छ ? 

इतिहासमा महामारीले मानव समुदायमै ठूलो उथलपुथल ल्याइदिएको उदाहरण छ । महामारीले प्रकृतिमा आफ्नो नियमअनुसारको सन्तुलन मिलाएको पनि भनिन्छ । माल्थसको जनसंख्या सिद्धान्तअनुसार मान्छेले आफ्नो लोभ, लालच बढाएर, प्रकृतिलाई धेरै बिगारेपछि प्रकृति आफैँ सन्तुलन मिलाउन लागिपर्छ । महामारी, भूकम्प, आँधीबेहरीजस्ता प्रकोप नै प्राकृतिक सन्तुलन मिलाउने विधि हुन् भनेर माल्थसले व्याख्या गरेका छन् । कोरानापछिको ‘पोस्ट पेन्डेमिक’ संसारबारे इतिहासकार युवल नोआ हरारीलगायत विद्धान्ले ‘बिफोर कोरना र आफ्टर कोरोना’ भनी व्याख्या गरिसकेका छन् । यति भन्दैमा माइग्रेन्ट वर्करको अवधारणा नै रहँदैन भन्न सकिँदैन । किनभने मानवजाति एक स्थानबाट अर्को स्थानसम्मको यात्राले नै यहाँसम्म पुगेको हो । कोरोनापछि पनि मान्छेहरू एक ठाउँबाट अर्को ठाउँमा काम गर्न जान्छन् नै । 

माइग्रेन्ट वर्क किन पनि बाँकी रहन्छ भने विश्वको कुनै न कुनै देश वा भूगोलमा धेरै काम हुन्छ । त्यस्ता स्थानमा काम गर्ने जनशक्ति पर्याप्त हुँदैन । जापान, सिंगापुर वा युरोपजस्ता देशको प्रजननदर एकदम कम छ । त्यसमाथि जीवनशैली र अन्य कुराले ती स्थानमा लामो समय बाँच्ने मान्छेको संख्या धेरै छ । नेपालजस्तो देशसँग काम कम थियो, तर काम गर्ने जनशक्ति बढी थियो । त्यसैले यी जनसांख्यिक यथार्थमा अहिले नै धेरै परिवर्तन नहुन सक्छ । कुनै ठाउँमा जनशक्ति ‘स्टोरेज’ भइरहेको हुन्छ, कुनै ठाउँमा काम गर्ने जनशक्तिको अभाव हुन्छ । त्यसैले कोरोनापछि पनि कुनै न कुनै ठाउँमा जनशक्तिको माग भइरहन्छ । तर, महामारीलगत्तै पहिलाको तुलनामा माइग्रेन्ट वर्कमा जानेहरू र माइग्रेन्ट वर्कर लिने देशहरूको संख्यामा भने केही कमी आउन सक्छ । माइग्रेन्ट वर्कको अहिलेको स्वरूपमा भने केही परिवर्तन आउन सक्छ । पानीले बिस्तारै आफ्नो सतह मिलाएजस्तै यो समस्या पनि एक दिन समाधान हुन्छ नै । 

आगामी दिनमा माइग्रेन्ट वर्कको क्षेत्र कति सहज हुन्छ र यो क्षेत्रमा संकट आउने सम्भावना कति देख्नुहुन्छ ? 

आप्रवासी कामदारको मुख्य गन्तव्य बनेको गल्फ कन्ट्रीहरू अब हाम्रा लागि उपयुक्त नहुन सक्छन् । यसको सट्टा रोजगारीको अबको गन्तव्य युरोप बन्न सक्छ । रोगजारीको गन्तव्य बदलिँदा अहिले गल्फ र अन्य देशमा काम पाइरहेका हाम्रा अधिकांश नेपाली बेरोजगार हुनेछन् । किनभने युरोपियन देशले सीपयुक्त जनशक्तिलाई पहिलो प्राथमिकतामा राख्छ । अनस्किल्ड म्यानपावर उनीहरूका लागि दोस्रो प्राथमिकतामा पर्छ । 

लाखौँ युवा देश फर्किएपछि सबैभन्दा पहिलो असर निम्न र मध्यम वर्गीय परिवारमा देखिनेछ । कैयौँ परिवारले सहकारीको ऋण तिर्न नसक्दा त्यसको असर राष्ट्र बैंकको विदेशी सञ्चिति मुद्रासम्म पुग्छ । एउटा घरमा देखिएको यो समस्याले अन्ततः हाम्रो अर्थतन्त्र नै ‘कोल्याप्स’ हुन पनि सक्छ । 

कोरोनाअघि पनि युरोपमा हाम्रा कामदारको ठूलो माग थियो । युरोपको पनि न्युजिल्यान्डजस्तो दुग्ध उत्पादनमा सक्रिय देशमा नेपालीको माग थियो । तर, हामीले त्यसलाई आफ्नो गन्तव्य बनाउन सकेनौँ । हाम्रो सरकारले त्यतातिर ध्यानै दिएन । पपुवान्युगिनी र घानाजस्ता देश त्यहाँ पुग्यो । उनीहरूले त्यहाँको रोजगारीको बजार लियो । आफ्टर कोरोना माइग्रेन्ट वर्कका लागि नयाँ भूगोल जन्मिने निश्चित छ । नयाँ भूगोल फेला पर्छ भनेर हामी चुपचाप बस्नुहुँदैन । हामीले जनशक्ति तयार गर्नुपर्छ । 

नयाँ गन्तव्यका लागि हामीले कसरी र कस्तो जनशक्ति तयार गर्नुपर्छ ? 

संसारभर नेपाल तीन चिजले चिनिन्छ । एक– गौतम बुद्ध, दुई– सगरमाथा र तीन– बहादुर गोर्खाली । सगरमाथाको देश भनेर चिनिनुमा हाम्रो कुनै योगदान छैन । गौतम बुद्धको आमालाई पनि हामीले अनुनयविनय गरेर यहीँ बच्चा जन्माइदेऊ भनेको होइन । त्यसैले यी दुईभन्दा तेस्रो महत्वपूर्ण छ । किनभने हामीले धेरै नेपाली महिलालाई विधवा बनाएर वीर गोर्खालीको उपाधि पाएका हाैँ । यो उपाधि पाउनमा हाम्रो योगदान छ, यसलाई क्यास गर्न सकिन्छ । अहिले संसारभर सेक्युरिटीको चासो बढ्दै गइरहेको छ । त्यसैले हाम्रा युवालाई कम्तीमा पनि ६–६ महिनाको तालिम दिएर पिएसओ (पर्सनल सेक्युरिटी अफिसर) तयार गर्न सक्छौँ । कमान्डोहरू प्रोडक्सन गरी संसारभर पठाउन सकिन्छ ।  संसारका ठूला सुनखानी, गोदाम, बैंक, भिभिआइपी, भिआइपी निवासजस्ता क्षेत्रको सुरक्षामा हामी हाम्रा युवा पठाउन सकिन्छ । तर, हामीले आजसम्म खाडीमा ५२ डिग्रीको तापक्रममा उँट चराउन, निर्माणको काम गर्न हाम्रा युवा पठायौँ । 

ब्रिटिस आर्मीमार्फत ब्रुनाईको राजाको सुरक्षामा नेपाली नै खटिएका छन् । सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जोङ उन भेट्दा पनि सुरक्षामा नेपाली नै खटिएका थिए । वीर गोर्खालीको उपाधिलाई हामी ‘पुमा’, ‘एडिडास’ वा ‘नाइक’भन्दा ठूलो ब्रान्ड बनाएर रोजगारी हात पार्न सक्छौँ । त्यसैले कोरोनापछिको वैदेशिक रोजगारीका लागि सरकारले विकल्पहरू तयार गर्नुपर्छ । नयाँ गन्तव्यको खोजी गर्नुपर्छ र नयाँ गन्तव्यका लागि त्यहीअनुसारको जनशक्ति तयार गर्नुपर्छ । किनभने अहिलेकै तरिकाले आफ्टर कोरोनामा हाम्रो जनशक्ति खपत हुने सम्भावना निकै कम छ । कोरोनापछिको युगमा हाम्रो जनशक्ति खपत गराउन सरकारले निकै ठूलो तयारी गर्नुपर्छ । 

लकडाउनका कारण फसिरहेका आफ्ना नागरिकलाई सम्बन्धित देशले फिर्ता लगिरहेको छ । तर, नेपालले भने ‘जहाँ छौ, त्यहीँ बस’ भनेको छ । अझ सीमासम्म आइपुगेका नागरिकलाई समेत देशभित्र भित्र्याउन सकिएको छैन । देशको अर्थतन्त्रमा योगदान गर्ने युवाप्रति राज्यले गरेको यो कस्तो खालको व्यवहार हो ?

वितेको ४० वर्षयता नेपालको अर्थतन्त्र रेमिट्यान्सले चलाएको छ । रेमिट्यान्स पठाउनेहरू खाडी र भारतमा काम गर्ने मजदुर नै हुन् । अमेरिका, बेलायतमा जानेहरू अधिकांश धनी हुन् । उनीहरू रेमिट्यान्स पठाउनुको सट्टा यहाँको पनि बेचेर उता पठाउँछन् । खाडी र भारतजस्ता देशमा काम गर्ने यी निम्नवर्गका कामदारले पठाएको रेमिट्यान्सले हाम्रो कुल गार्हस्थ उत्पादनमा २९ प्रतिशत योगदान दिएको छ । त्यसैले हाम्रो अर्थतन्त्र चलायमान बनेको छ ।

यी मजदुरविना हाम्रो देशको अर्थतन्त्र चलायमान हुँदैन । त्यसकारण म यिनीहरूलाई ‘इकोनोमिक हिरो’ भन्छु । माइग्रेन्ट नेपाली वर्करहरू इकोनोमिक हिरो हुन् । कोरोनाअघि पैसा पठाइरहेका यिनीहरूलाई हामीले कहिल्यै इकोनोमिक हिरोको रूपमा लिएनौँ । यिनीहरूलाई त हामीले तुच्छ कामदार मात्रै ठान्यौँ । यिनीहरूका आवाज सुनेनौँ । किनभने यिनीहरू गरिब थिए र छन् । संगठित छैनन् । महामारीका वेला इकोनोमिक हिरोलाई ‘तिमीहरू चाहिँदैन’ भनेजस्तो व्यवहार गरियो । बोर्डरमा आएर बसेका र खाडीमा फसेका मजदुरलाई राज्यले भन्यो, ‘तिमीहरूसँग कोरोना हुन सक्छ । तिमीहरू चाहिएन हामीलाई ।’ उनीहरूबाट रेमिट्यान्स आउँदासम्म ठीक छ, जब संकटका वेला देश फर्किन खोजे, तब उनीहरू दुर्गन्धित भए, अपमानित भए । बोर्डरमा फसेका, खाडीमा फसेका हाम्रा नेपाली नागरिक हुन् । एउटा नागरिकले आफ्नो देशमा आउन किन नपाउने ? खाडी वा अन्यत्र भएका नेपाली मजदुरलाई प्लेन चार्टर गरेर तत्काल ल्याउन नसके पनि भारतको बोर्डरमा आइसकेका मान्छेलाई स–सम्मान नेपाल भिœयाएर क्वारेन्टाइनमा राख्न सकिन्छ । बिरामी भए उपचार पनि गर्नुप-यो । 

भू–उपग्रह र विशाल एयरपोर्ट निर्माणजस्ता बिलासी परियोजनामा छुट्याइएको बजेट अहिले नेपाली कामदारलाई देश भिœयाएर क्वारेन्टाइनमा राख्न र बिरामी भए उपचार गर्न खर्च गर्नुप-यो । विदेशमा फसेका, सीमामा अड्केका हरेक नागरिकलाई राज्यले ससम्मान भन्नुप¥यो, ‘तपाईंहरू यो देशको नागरिक हो, यो देशको नागरिकको हैसियतमा प्रधानमन्त्रीको जति अधिकार छ, त्यति नै तपाईंहरूको पनि छ । नेपाल आउनुस्, खाने, बस्ने र उपचार गर्ने व्यवस्था गर्छौं ।’ तर, ठीक उल्टो महाकाली नदीमा हाम फालेर तर्नेलाई समेत नांगै सडकमा डुलाइन्छ ।

राज्यलाई योगदान गर्ने श्रमिकहरू अपमानित भइरहेका छन् । तपाईंको भाषामा ती इकोनोमिक हिरोहरू शक्तिशाली र सम्मानित हुन के गर्नुपर्छ ? 

हाम्रो जस्तो गलत मानसिकताले ग्रसित भएको देशमा जसको पहुँच बढी छ, उसैको मात्र आवाज सुनिन्छ र सुन्नुपर्छ भन्ने ठानिन्छ । उद्योग वाणिज्य महासंघका ४–५ जना मान्छे सहजै अर्थमन्त्रीलाई भेटेर आफ्नो कुरा भन्न सक्छन् । तर, मलेसियामा काम गर्ने ५ लाखबढी युवा आफ्नो समस्या र गुनासो लिएर श्रममन्त्रीकहाँ पुग्न सक्दैनन् । किनभने उनीहरू असंगठित छन् । असंगठित हुँदा उनीहरूको आवाज कमजोर भयो । 

वैदेशिक रोजगारीमा रहेका इकोनोमिक हिरोको आवाज शक्तिशाली बनाउन उनीहरू जहाँ छन्, त्यहीँबाट भोट हाल्ने व्यवस्था गर्नुपर्छ । विदेशमै रहेर भोट हाल्ने अधिकार पाउनेबित्तिकै नेताहरू डराउँछन् । उनीहरू त्यसपछि मजदुर मात्र रहँदैनन्, भोटर पनि बन्छन् । त्यसपछि उनीहरूको आवाज गम्भीरतासाथ लिइन्छ । जस्तै– डोटीका डेढ लाख मानिस भारतमा छन् । ती भोटले कुनै पनि नेतालाई जिताउने वा हराउने तागत राख्छ । यो अभ्यासले विदेशमा रहेका मजदुरलाई शक्तिशाली बनाउँछ । उनीहरूको संगठित आवाज नभए पनि मतदानको अधिकारकै कारण उनीहरूका बारेमा नेताहरू गम्भीर हुन बाध्य हुन्छन् । 

महामारीको विध्वंस घट्दो चरणमा छैन । अवस्था बिग्रिँदै गयो भने नेपालबाहिरका लाखौँ युवा ढिलोचाँडो नेपाल फर्किएलान् । लाखौँ युवा देश फर्केमा त्यसको असर कहाँ–कहाँ पर्ला ? 

लाखौँ युवा देश फर्किएपछि सबैभन्दा पहिलो असर निम्न र मध्यम वर्गीय परिवारमा देखिनेछ । किनकि ६० प्रतिशत रेमिट्यान्स निम्न र मध्यम वर्गीय परिवारमा पुग्छ । रेमिट्यान्सको प्रवाह रोकिनासाथ यी परिवारको जीवनयापनमा प्रत्यक्ष असर पर्छ । एउटा परिवारमा देखिएको यो अप्ठ्यारो बिस्तारै राष्ट्रिय अर्थतन्त्रमा देखिन थाल्छ । कैयौँ परिवारले सहकारीबाट ऋण लिएका छन् । त्यो ऋण तिर्न नसकेपछि त्यसको असर बढ्दै गएर राष्ट्र बैंकको विदेशी सञ्चिति मुद्रासम्म पुग्छ । 

खाडी र भारतमा काम गर्ने मजदुरविना नेपालको अर्थतन्त्र चलायमान हुँदैन । त्यसकारण म उनीहरूलाई ‘इकोनोमिक हिरो’ भन्छु । विडम्बना, देशको अर्थतन्त्र धान्ने ती हिरोहरूलाई हामीले सधैँ ‘तुच्छ कामदार’ मात्रै ठान्यौँ । 

रेमिट्यान्सको भरमा बालबच्चाहरू बोर्डिङमा पढिरहेका हुन्छन् । अब पढाउन सक्दैनन् । शैक्षिक स्तर कमजोर हुन्छ, जसले गरिबीलाई झन् निरन्तरता दिलाउँछ । स्थानीय हाटबजारको व्यापार घट्छ । त्यस्तै प-यो भने बन्द पनि हुन सक्छ । मान्छेको क्रयशक्ति घट्छ । यसको असर हाम्रो समग्र बजारमा देखिनेछ । एउटा घरमा देखिएको यो समस्याले अन्ततः हाम्रो समग्र अर्थव्यवस्था डामाडोल बनाउन सक्छ । हाम्रो अर्थतन्त्र ‘कोल्याप्स’ पनि हुन सक्छ । 

लाखौँ युवा स्वदेश फर्किंदा देशले त्यो श्रमशक्ति व्यवस्थापन गर्ने सामथ्र्य राख्छ कि राख्दैन ? 

त्यसरी फर्किएको जनशक्तिलाई तुरुन्तै व्यवस्थापन गर्ने क्षमता र ठाउँ हामीसँग छैन । तर, हामीले केही समय लगाएर नयाँ रणनीति बनाउन सक्छौँ । जस्तै– मेलम्ची, अपर तामाकोसी, विमानस्थल निर्माणजस्ता ठूला परियोजनामा भारत र बंगलादेशबाट कामदार आएका छन् । यस्ता ठूला परियोजनामा हाम्रै जनशक्ति लगाउन सक्छौँ । 

नेपालमा अधिकांश कपाल काट्ने पेसामा भारतीय नागरिक छन् । तिनको सट्टा हामी नेपालीलाई राख्न सक्छौँ । तर, समस्या के छ भने यी क्षेत्रमा हाम्रा युवा काम गर्न इच्छुक देखिँदैनन् । विदेशमा भने शौचालय पनि सफा गर्छन्, तर, देशभित्र भने यो काम गर्दैनन् । त्यसैले अब हाम्रा युवालाई यी काममा लगाउन उनीहरूको मानसिकता नै परिवर्तन गर्ने रणनीति बनाउनुपर्छ । हाम्रा युवालाई बढी तलब दिएर, स्वास्थ्य बिमाजस्ता सेवा दिएर र श्रमको सम्मान गर्ने वातावरण बनाएर देशभित्रै काममा लगाउन सकिन्छ । यस्ता काममा भविष्य राम्रो छ भन्ने विश्वास राज्यले दिलाउन सकेमा नेपालमै नेपाली श्रमशक्ति खपत गर्न सकिन्छ । राज्य र कामदार दुवै ‘विन–विन पोजिसन’मा बस्ने गरी यस्ता योजना बनाउन सकिन्छ । 

युवा बिदेसिएपछि खेतबारी बाँझो भयो । महामारीका कारण युवा देश फर्किए भने बाँझो खेत हराभरा हुने सम्भावना कति छ ? 

यो सम्भावना निकै कम छ । ती युवाले खेती गरे बजारबाट किनेर खानुपर्ने अवस्थामा थोरै कम होला, तर यसले समग्र अर्थतन्त्र धान्छ भन्न सकिँदैन । किनभने हाम्रो कृषि प्रणाली पुस्तान्तरबाट प्राप्त हुने ज्ञान हो । हाम्रो कृषिपद्धति किताबमा लेखिएको छैन । कृषिको ज्ञान एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरित हुँदै आएको समाज हो हाम्रो । तर, हाम्रो समाजको एक पुस्ता खाडीमा गएर बस्नुप-यो । कोही युरोप, अमेरिका, जापान गएर बसे । त्यसैले हाम्रो परम्परागत कृषिज्ञानको पनि ग्याप भइसक्यो । अर्कोतर्फ हाम्रो मानसिकतामा पनि निकै परिवर्तन भइसक्यो । मान्छेहरूले रेमिट्यान्सकै सहजताका कारण गाउँ र पहाड छाडेर सहर रोजिसके । अब ती मान्छे गाउँ फर्केलान् र कृषिकर्म गर्लान् भन्ने विश्वास गर्न सकिँदैन । 

अर्कोतर्फ धान, मकै, कोदो बाली लगाउँदा गरिने लगानी र त्यसको प्रतिफलबीचको मार्जिन पनि निकै कम छ । यति धेरै श्रम गर्नुभन्दा बजारमा सस्तो पर्छ । त्यसैले मान्छेहरू अब पारम्परिक खेतीमा फर्कंदैनन् । यति हो कि हाम्रो देशको कृषिकर्मले भोकमरीबाट चाहिँ बचाउन सक्छ, तर व्यवसायचाहिँ हुन सक्दैन । गाउँमा खेतिपाती गरेर बस्नुभन्दा सहरमै ठेलमठेल गरेर, सुकुम्बासी भएर, चोरीडकैती गरेर भए पनि मान्छेहरू बाँच्ने प्रयास गर्छन् । यदि यस्तो भयो भने सामाजिक अपराधका शृखंला बढ्नेछन् । समाज अराजकता र अव्यवस्थातिर जान्छ । यसलाई सरकारले समयमै व्यवस्थापन गर्न सकेन भने त्यसले राजनीतिक रूप पनि लिन सक्छ । 

ऊर्जावान् युवाशक्ति देशभित्रै हुँदा राजनीतिमा चाहिँ त्यसको प्रभाव कस्तो पर्ला ? 

निश्चय नै राजनीतिमा यसको प्रभाव पर्छ । तत्कालीन समयमा धेरै मान्छे सिद्धान्त बुझेर वा मन परेर माओवादी भएका होइनन् । त्यतिखेर धेरै मान्छे त्यो समय र परिस्थितिले उब्जाएको फ्रस्टेसनका कारण माओवादीमा लागेका हुन् । अब पनि यस्तो नहोला भन्न सकिन्न । किनकि बेरोजगार मानसिकताले अशान्ति पैदा गर्छ । त्यो अशान्तिलाई कुनै पनि राजनीतिक समूहले क्यास गर्न सक्छ । जसको परिणाम राम्रै हुन्छ भन्ने छैन । 

यो महामारीमा सूचना प्रविधि निकै शक्तिशाली देखियो । आगामी दिनमा कतिपय विद्वान्ले अनुमान गरेजस्तै आर्टिफिसियल इन्टेलिजेन्ट बलवान् हुँदै जाने र मजदुर झनै बेरोजगार हुने सम्भावना कति छ ? 

मजदुर बेरोजगार हुने सम्भावना छ । प्रविधिको उच्चतम प्रयोग अहिले नै काठमाडौंमा सुरु पनि भइसक्यो । टनेलमा तरकारी फलाउने प्रविधिको प्रयोग भइसक्यो । यो प्रविधिअनुसार ४ देखि ५ जना मानिसले ५० रोपनीमा तरकारी खेती गर्न सक्छन् । गोड्न, मल हाल्न र सिँचाइ गर्न मानिस चाहिँदैन । दरबारमार्गको एउटा रेस्टुरेन्टमा वेटरका रूपमा रोबर्ट राखिसके । यस्ता प्रविधिले हामीकहाँ विस्तारित रूप लिन मात्र बाँकी छ । तर, आर्टिफिसियल इन्टेलिजेन्टको प्रयोग ढिलोचाँडो नेपालमा हुन्छ नै । आर्टिफिसियल इन्टेलिजेन्ट प्रयोग भए पनि मान्छेको श्रमशक्ति खेर जान्छ नै भन्न त सकिँदैन । तर, श्रमको रूप बदलिन्छ । मूल्य फेरिन्छ । विशिष्टीकृत सीप भएको जनशक्तिले मात्र रोजगारी पाउने सम्भावना हुन्छ । 

महामारीपछि अर्थ–राजनीतिको केन्द्र फेरिनेछ भन्ने पूर्वानुमान पनि सुनिन थालिएको छ । अनुमान गरिएजस्तै केन्द्र फेरियो भने रेमिट्यान्समा निर्भर हाम्रो जस्तो देशलाई फाइदा होला कि घाटा ? 

यो एउटा कल्पना गरिएको विश्व परिदृश्य हो । हाम्रा लागि बदलिँदो विश्व परिदृश्य महत्वपूर्ण हुन्छ नै । तर, त्योभन्दा भारत र चीनको बदलिँदो स्वरूप हाम्रा लागि महत्वपूर्ण हुन्छ । आफ्टर कोरोना यी दुई देशमा के हुन्छ भन्ने कुराले हामीलाई असर गर्छ । अहिले हाम्रो धेरै जनसंख्या भारतमा काम गर्न जान्छन् । तर, अब भारतको सट्टा चीन जानुपर्ने अवस्था पनि आउन सक्छ । यसका लागि हामी तयार भएर बस्नुप-यो । अब हामीले नयाँ अरनिकोहरू तयार गर्नुपर्छ ।

Published on: 11 April 2020 | Nayapatrika

Link

Back to list

;