s

डिभीसम्बन्धी केही भ्रम

प्याट्रिक टी. मिक्निल

डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम (जुन अनौपचारिकरूपमा 'ग्रीन कार्ड चिठ्ठा' का नामबाट पनि प्रचलित छ) संयुक्त राज्य अमेरिकाको अध्यागमन नीतिको एक महत्वपूर्ण हिस्सा हो। डिभी कार्यक्रम नेपालमा अति नै प्रचलित छ तर यो कार्यक्रम के हो र कसरी सञ्चालन हुन्छ भन्नेबारे अझै पनि धेरै किसिमका भ्रम व्याप्त छन्।

प्रायःजसो मानिस पारिवारिक पुनर्मिलनमार्फत् अमेरिका आप्रवासन गर्छन्। उदाहरणका लागि यदि कुनै अमेरिकी नागरिकले विदेशी नागरिकसँग विवाह गर्यो् भने उसले आफ्नो पति वा पत्नी आफूसँग अमेरिकामा स्थायीरूपमा बसोबास गर्नका लागि निवेदन गर्न सक्छ। त्यस्तै, अङ्गीकृत अमेरिकी नागरिकले आफ्ना बाबुआमालाई अमेरिकामा स्थायी बसोबासका लागि प्रायोजन गर्न सक्छन्। आप्रवासी भिसामा विविधता ल्याउने उद्देश्यले अमेरिकी कङ्ग्रेसले डाइभर्सिटी भिसा कार्यक्रम स्थापना गरेको हो। जसअन्तर्गत आप्रवासी भिसाका लागि आवेदन गर्न पाउने अवसरको निर्धारण चिठ्ठामार्फत् हुन्छ। धेरै संख्यामा आप्रवासीहरू पठाइसकेका देशका नागरिकलाई डिभी कार्यक्रममा सहभागी हुन मनाही गरिएको छ। नेपालजस्ता तुलनात्मकरूपमा कम संख्यामा आप्रवासी पठाउने देशका नागरिकले मात्र यसमा सहभागी हुन पाउँछन्।

डिभी कार्यक्रम बन्द गर्न लागिएको भ्रम पनि कतिपयमा परेको हुन सक्छ। तर अहिलेका लागि डिभी कार्यक्रम बन्द गरिएको छैन। अमेरिकामा अध्यागमनसम्बन्धी अमेरिकी कानुनको सुधार एक लोकप्रिय विषय हो र विभिन्न सञ्चार माध्यमले अमेरिकी कङ्ग्रेसमा छलफल भइरहेका विभिन्न प्रस्तावबारे समाचार संप्रेषण गरेका छन्। तर हालसम्म कुनै पनि प्रस्तावलाई अमेरिकी कङ्ग्रेसले पारित नगरेको तथा अमेरिकी राष्ट्रपतिले हस्ताक्षर नगरेको हुँदा अमेरिकी अध्यागमन कानुनमा कुनै फेरबदल भएको छैन र डिभी कार्यक्रम अझै पनि सुचारु छ।

यो कार्यक्रममा सहभागिताका लागि कुनै त्यस्तो उमेरको हदबन्दी तोकिएको छैन। तर अमेरिकी कानुनबमोजिम डिभी भिसाका लागि योग्य हुन आवेदकले निश्चित शैक्षिक वा रोजगारको आवश्यकता पूरा गरेको हुनुपर्छ। शैक्षिक आवश्यकताअन्तर्गत अमेरिकी उच्च माध्यमिक शिक्षासरहको शिक्षा पर्छ। नेपालको सन्दर्भमा त्यो भनेको दश जोड दुईसरहको शिक्षा हो। केवल एसएलसी (अर्थात् १० वर्षे शिक्षा) उत्तीर्ण गरेका, निजी परीक्षा दिएका वा बाह्र वर्षसम्म नियमितरूपमा कक्षा नगएका व्यक्ति डाइभर्सिटी भिसा कार्यक्रमका लागि योग्य हुँदैनन्। छनौट भएका आवेदकले अन्तर्वार्ताका समयमा माथि उल्लिखित आवश्यकताहरू आफूले पूरा गरेको भनी प्रदर्शन गर्न नसकेको खण्डमा उसले भिसा प्राप्त गर्ने छैन र तिरिसकेको कुनै पनि शुल्क फिर्ता पनि पाउने छैन। त्यसो त नेपाली नागरिकले नेपालबाट नै आवेदन भर्नुपर्छ भन्ने छैन। हरेक वर्ष विश्वका विभिन्न भागमा काम गरिरहेका नेपाली नागरिकले समेत आवेदन भर्ने गर्छन् र उनीहरूमध्ये धेरैजना भिसा आवेदनका लागि छनौट हुने गर्छन्।

डिभी कार्यक्रममा सजिलै सहभागी हुन सकिन्छ। तर आवेदन राम्ररी नभरेको खण्डमा आवेदकले भिसा प्राप्त गर्न सक्ने अवसर गुमाउन सक्छ। डिभी कार्यक्रमको आवेदन प्रत्येक वर्ष करिव ३० दिनका लागि खुला गरिन्छ। आवेदन अनलाइनमार्फत् भरिनुपर्छ, जसमा आवेदकले आफ्नो नाम, जन्म मिति, राष्ट्रियता र तस्बिर जस्ता सामान्य जानकारी उपलब्ध गराउनुपर्ने हुन्छ। धेरै आवेदकलाई आवेदन भर्दा कठिनाई पर्ने एक महत्वपूर्ण कुरा भनेको पति वा पत्नी तथा २१ वर्षमुनिका सबै अविवाहित सन्तानबारे भर्नुपर्ने विवरण हो। एकल वा अविवाहित भनी आवेदन भरेमा छनौट हुने सम्भावना बढी हुन्छ भन्ने आवेदकहरूमा भ्रम रहँदै आएको छ, त्यो पूर्णरूपमा गलत हो।

आफूसँग अमेरिका जाने योजना नबनाएका परिवारका सदस्यको नाम आवेदनमा उल्लेख गर्न जरुरी छैन भन्ने कतिपय आवदेकको बुझाई छ। त्यो पनि सरासर गलत हो। आवेदनका बेला बच्चाको पासपोर्ट साइजको तस्बिर नभएको जस्ता कारणले गर्दा कतिपयले परिवारका केही सदस्यको विवरण उल्लेख गर्दैनन्। तर तथ्य कुरा के हो भने जसले आफ्नो परिवारको सम्पूर्ण सदस्यको विवरण आवेदनमा उल्लेख गर्न छुटाउँछ, उक्त व्यक्ति डाइभर्सिटी भिसाका लागि अयोग्य ठहर हुन्छ। त्यसकारण आवेदकहरूले आफ्नो पति वा पत्नी र २१ वर्षमुनिका प्रत्येक अविवाहित सन्तानको नाम आवेदनमा उल्लेख गर्न अत्यन्त जरुरी छ। आवेदन भरिसकेपछि कम्प्युटर स्त्रि्कनमा एउटा 'कन्फर्मेसन नम्बर' देखिन्छ। आवेदकले सो नम्बर सुरक्षितसाथ राख्नुपर्छ।

डिभी कार्यक्रममा कसरी सहभागी हुने र यो कार्यक्रमका लागि आवश्यक पर्ने कुराहरू के हुन् भन्ने सम्पूर्ण जानकारी डिभी कार्यक्रमसम्बन्धी अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा उपलब्ध छ। डिभीका लागि आवेदन भर्नका लागि आवेदन खुला रहेको अवधिमा त्यस वेबसाइटमा गई भर्न सकिन्छ। र, हरेक वर्षको मे महिनामा अघिल्लो वर्ष अनलाइनमार्फत् आवेदन भर्नेहरूमध्येबाट छनौट भएकालाई (अनौपचारिकरूपमा 'विजेता' पनि भन्ने गरिन्छ) सूचित गराइन्छ। यसरी छनौट भएका व्यक्तिले अमेरिकी दूतावासमा आप्रवासी भिसाका लागि आवेदन गर्न पाउनेछ।

धेरै व्यक्तिले 'तपाईंले डिभीको चिठ्ठा जित्नुभयो' भन्ने किसिमको इमेल प्राप्त गर्ने गर्छन्, जसमा विजेतालाई कुनै निश्चित ठेगाना वा खातामा पैसा पठाउन अनुरोध गरिएको हुन्छ। त्यस्ता इमेल नक्कली हुन्। अमेरिकी विदेश मन्त्रालयले छनौट भएकाहरूलाई कहिल्यै पनि इमेलमार्फत् सूचित गराउँदैन। बरु आवेदकहरूले आफूले डिभीको आवेदन भरेको वेबसाइट डब्लुडब्लुडब्लु डट डीभीलट्री डट स्टेट डट गभमा गई आफू छनौट भए/नभएको आफैंले हेर्नुपर्छ। उक्त वेबसाइटमा आवेदकले आफ्नो सामान्य जानकारी (नाम, जन्म मिति, आदि) तथा आवेदन भर्दा प्राप्त गरेको 'कन्फर्मेसन नम्बर' भर्नुपर्छ। 'कन्फर्मेसन नम्बर' बिना आफू छनौट भए/नभएको थाहा पाउन नसकिने हुँदा 'कन्फर्मेसन नम्बर' अत्यन्तै महŒवपूर्ण छ।

आवेदक छनौटमा परे तापनि यदि उसको शैक्षिक वा रोजगारको योग्यता पुगेको छैन भने, यदि उसले आवदेनमा परिवारका सबै सदस्यको नाम उल्लेख गरेको थिएन भने वा अन्य कारण, जस्तै– कुनै आपराधिक इतिहास वा सरुवा रोगका कारण उसले भिसा प्राप्त नगर्न सक्छ।

अन्तमा, डिभी कार्यक्रममा भाग लिन चाहने तथा मे महिनामा सन् २०१४ को डिभी कार्यक्रमका लागि आफू छनौट भएको थाहा पाउनुहुने सबैलाई एउटा सानो सुझाव : भिसा कन्सल्टेन्ट अर्थात् परामर्शदाताको सेवा लिन नियम विपरित नभए तापनि डिभी प्रक्रियाका क्रममा कुनै पनि बेला त्यस्तो सेवा लिनुभन्दा पहिला दुईपटक सोच्नुहोस्। अमेरिकी दूतावासमा हजारौं डिभी आवेदकहरू आउँछन् र कन्सल्टेन्टहरूको लापरबाहीपूर्ण, जालसाजीपूर्ण वा गलत सुझावका कारण धेरैको सपना चकनाचुर हुने गर्छ। केही कन्सल्टेन्टले ग्राहकबाट बढी रकम असुल्ने, गलत जानकारी भरिदिने, तस्बिर गलत किसिमले हालिदिने वा आवेदकहरूलाई जालसाजीपूर्ण कार्य गर्न उक्साउने (जस्तै– विवाहितको सट्टा अविवाहित भर्न लगाउने, परिवारका सदस्यहरूको नाम नराख्न सल्लाह दिने, अविवाहित विजेतालाई नक्कली विवाह गर्न प्रोत्साहन गर्ने, शैक्षिक योग्यता पूरा गर्न नक्कली शैक्षिक कागजात पेश गर्न सुझाव दिने) जस्ता कार्य गर्ने गर्छन्। कन्सल्टेन्टको स्वार्थ तपाईंका लागि इमानदारीपूर्ण सेवा प्रदान गर्नुभन्दा तपाईंको पैसामाथि बढी हुनसक्छ। त्यस्ता कन्सल्टेन्टको प्रयोग गर्नुभन्दा कुनै विश्वासिलो मित्र वा परिवारको सदस्यसँग सहायता लिनेतर्फ सोच्नुहोस्।

विगतका वर्षमा हजारौं नेपालीहरू डिभी कार्यक्रमका लागि छनौट भई संयुक्त राज्य अमेरिका गएका छन्। यसले अमेरिकालाई सुसम्पन्न बनाएको छ। तीमध्ये धेरैजना अमेरिकी नागरिक बनेका छन्। डिभी कार्यक्रममा भाग लिन चाहने सम्पूर्ण योग्य आवेदकलाई अमेरिकी दूतावास अग्रिम शुभकामना दिन चाहन्छ र भिसाको आवेदनका लागि छनौट भएका सबैलाई बधाई दिन चाहन्छ।

लेखक अमेरिकी वाणिज्य दूत हुन्।

Published on: 15 May 2013 | Nagarik

Back to list

;