s

दूतावासमा नेपालीको ओइरो

रामचन्द्र गिरी

मलेसियास्थित नेपाली दूतावासमा विविध सेवा लिन आउने नेपालीको चाप बढेको छ । अवैध आप्रवासी कामदारलाई मलेसियाले वैध हुन दिएको समयसीमा सकिनै लागेकाले दूतावासमा राहदानी र घर र्फकन ट्राभल डकुमेन्ट लिन आउने नेपालीको चाप बढेको हो । 

मलेसियाले यही जनवरी १० भित्र वैध बन्न समयसीमा तोकेकाले वैध बन्न चाहिने राहदानी र घर फर्कन चाहिने ट्राभल डकुमेन्ट लिन आउने नेपालीको चाप निकै बढेको दूतावासका उपनियोग प्रमुख लेखनाथ भट्टराईले बताए । 

चाप बढेपछि दूतावासले मलेसियास्थित कार्यालय अवस्थित भवनको भुइँतलामा रहेको एक ठूलो हल भाडामा लिई सेवा दिन थालेको 
छ । करिब तीन सय जना अटाउने क्षमता भएको हलबाट वैधता कार्यक्रममा भाग लिएका अवैध नेपाली र आममाफी कार्यक्रमअनुरूप घर र्फकन चाहनेहरूका लागि एकैसाथ सेवा दिन थालिएको हो । वैध बन्ने समयसीमा सकिनै लाग्दा दूतावासको कार्यालय रहेको आम्पाङस्थित 'विस्मा-एमसिए' भवनको तेह्रौं तलामा दैनिक सयौं नेपालीको ओइरो लाग्ने गरेको छ । मलेसियास्थित टाढा-टाढाका सहरदेखि नेपाली निकै हतारो गर्दै दूतावास आउने गरेका छन् । पछिल्ला दिनमा दूतावास आउने नेपालीको चाप बढेकाले दूतावासका कर्मचारीलाई समेत भ्याइनभ्याई छ ।

'पछिल्ला दिनमा वैध हुने समयसीमा सकिन लागेकाले राहदानी र ट्राभल डकुमेन्ट लिन आउने नेपाली बढेका छन् । हामीलाई भ्याइनभ्याई छ । सक्दो खटिरहेका छौं,' उपनियोग प्रमुख भट्टराईले भने, 'सबैलाई छिटोछरितो सेवा दिनका लागि भुइँतलामा एउटा हल भाडा लिएर काम थालेका छौं ।'

भट्टराईका अनुसार कार्यालयको हलमा मात्रै सेवाग्राही नअटाउने र सेवा दिन अप्ठ्यारो परेकाले हल भाडामा लिइएको हो । दैनिक २ सयभन्दा बढीको संख्यामा अवैध रूपमा यहाँ रहेका नेपालीहरू आउने गरेका छन् । राजदूतसहित विभिन्न तहका गरी १० जना कर्मचारी कार्यरत रहेको दूतावासले हाल यी सबै काम एकैसाथ गर्नुपरेकाले पनि भ्याइनभ्याई भएको हो । वैध हुने समयसीमा सकिन अब सार्वजनिक बिदाका दिनबाहेक ४ दिनमात्रै बाँकी छ । उक्त म्याद पुनः थप्ने या नथप्ने भन्नेबारे हालसम्म केही बताइएको छैन । अवैध सबै नेपाली वैध बन्न राहदानी आवश्यक पर्छ ।

Published on: 5 January 2012 | Kantipur

Back to list

;