s

दूतावासले भन्यो: मलेसियामा अलपत्र परेका १३ जना नेपाल आउँदैछन्

काठमाडौं: नेपाली राजदूतावास क्वालालाम्पुरले मलेसियामा अलपत्र परेका १३ नेपाली स्वदेश फर्कन लागेको जनाएको छ। वैदेशिक रोजगारीमा पठाउने कम्पनी, रोजगारदाता र नेपाली युवासँगको छलफल पछि उनीहरूलाई नेपाल फर्काउने पहल भएको दूतावासले जनाएको छ।

दूतावासले सोमबार एक सूचना जारी गर्दै विभिन्न सञ्चारमाध्यममा आएका मलेसियामा नेपाली नागरिक अलपत्र भन्ने समाचारले ध्यानाकर्षण भएको जनाउँदै समस्यामा परेका नेपालीको सहयोगका लागि दूतावासले काम गरिरहेको जनाएको छ।

मलेसियामा नेपाली समस्यामा परेका दुई बेग्लाबेग्लै घटना रहेको जनाउँदै दूतावासले एक घटनामा पीडित भएकालाई आपसी समन्वय गरी स्वदेश फर्काउन सम्पूर्ण प्रक्रिया पूरा भएको जनाएको छ।

मलेसियाको प्लान्टेशन क्षेत्रमा काम गर्ने कम्पनी प्रेस् फरेस्ट म्यानेजम्यान्ट एसडीएन बीएचडीमा काम गर्न गएका नेपालीले सम्झौता अनुसारको सेवा सुविधा र तलब नपाएको गुनासोसहित दूतावासमा गुनासो आएको थियो। सोही गुनासाका आधारमा दूतावासले रोजगारदाता, नेपालबाट पठाउने त्रिवेणी हुमन रिसोर्स सोलुसन्सका प्रतिनिधिको रोहबरको छलफलले उनीहरूलाई नेपाल फर्काउने समझदारी गरेको थियो। ३० डिसेम्बरमा भएको सहमति अनुसार १३ मध्ये ६ जनालाई १० जनवरी मंगलबार र ७ जनालाई १३ जनवरी शुक्रबार नेपाल फर्कने व्यवस्था मिलाइएको दूतावासले जनाएको छ।

त्यस्तै होङ तेस इन्टरप्राइजेजमा काम गर्न गएका २८ नेपाली कामदारको विषयमा पनि छलफल भइसकेको दूतावासले जनाएको छ। कामदार कम्पनीबाट भनाभन र कुटपिटको घटनापछि कम्पनीबाट निकालिएका उनीहरूको उजुरीका आधारमा मलेसियन प्रहरीले अनुसन्धान थालेको दूतावासको भनाइ छ।

यो घटनाका पीडित नेपालीलाई दूतावासका कर्मचारीले ४ जनवरीमा भेटेका थिए। त्यसपछि उनीहरूलाई पठाउने खोजी रिक्रुमेन्टका प्रतिनिधिसहितको छलफलबाट घर फर्कन चाहनेलाई तत्काल पठाउने र नजानेलाई काम दिलाउने समझदारी भएको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ।

यही समझदारी अनुसार ९ जना नेपाली सोही काममा फर्किसकेको, ७ जना ११ जनवरी २०२३ को दिन नेपाल फर्कने व्यवस्था भएको र बाँकी १२ जनाको हकमा पनि नेपाल फर्कने वा रोजगारीमा फर्कने उनीहरूकै छनौट अनुसार निर्णय लिइने दूतावासले जनाएको छ।

Published on: 11 January 2023 | Annapurna Post

Link

Back to list

;