s

'दूतावासले बेवास्ता गर्‍यो'

विश्वभरका मजदुरले मे—१ लाई एउटा ऐतिहासिक दिनको रूपमा मनाउँदै आएका छन् । 'आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जन'का लागि गरेको आन्दोलन सफल भएको दिनको सम्झनास्वरुप मजदुहरुले यो दिनलाई विशेष रूपमा लिने गरेको छ । यस दिनमा कामदारको अवस्था र उनीहरुको अधिकारको विषयमा आवाज उठाउने गरिन्छ । यसै सन्दर्भमा कान्तिपुरका होम कार्कीसँग कतारमा कार्यरत नेपाली कामदारले यस्तो धारणा राखे ।

मेसिन र सरसामानको मेन्टिनेन्समा कार्यरत छु । जुन काम भनेर आएको थिएँ, काम त त्यही नै पाएको छु, तर जति तलब पाउनुपर्ने त्यो पाएको छैन । हाम्रो कम्पनीमा त सबै औसत राम्रो नै छ । अन्य कम्पनीमा काम गर्नेहरु र भेटे मध्येका ५० प्रतिशतको समस्या देखेको छु । काम गर्ने समय निश्चित नहुनु, काम गरे अनुसारको तलब नपाउनु, ओभरटायम गर्न पाए पनि त्यसको मोल नपाउनु, एउटै कोठामा अत्यधिक कामदार कोचिएर बस्न बाध्य हुनु, किचन र ट्वाइलेटमा लामो लाइन बस्न बाध्य हुनु, समान काम गरे पनि देशका आधारमा कम तलब पाउनु नेपालीले दैनिक भोगिरहेका समस्या हुन् । यी समस्या समाधान गर्नु नेपाली दूतावासको कूटनीतिक काम हो । तर उसले गर्नुपर्ने जति गरेको देखिएन ।

कतार आएको ८ वर्ष भयो । म टेलिफोन नेटवर्क र सेटेलाइटको क्षेत्रमा कार्यरत छु । समस्याहरु अरुको तुलनामा खासै हैन । नेपालीको समस्या भनेको त गर्मीमा खटिनुपर्ने, तलब कम हुने नै हो । अहिले अधिकांश मान्छेको समस्या भनेको महँंगाइ नै हो । म तनुवा भिसामा आएको हुँ । कतार सरकार र नेपाल सरकार बीचमा सहमति भयो भने नेपानीहरुले भोग्दै आएको सास्ती कम गर्न सकिन्थ्यो । दूतावासले नेपाली श्रमिकका समस्याका विषयमा नेपाल सरकारमा जाहेर गरी बोल्नुपर्छ । नेपाल दूतावास मौन हुनुभएन ।

म ड्राइभिङ भनेर आएको तर पलम्वर र क्लिनर काम गर्नुपरेको छ । आफ्नै पैसा खर्च गरे लाइसेन निकालिदिन्छु भन्छ । कोही साथीभाइ चिनेको छैन । नेपाली दूतावास कहाँ छ ? के छ ? केही थाहा छैन । समस्या परेमा दूतावास जानुपर्छ भन्ने थाहा छ । तर ८ घन्टा डिउटी भनेर बोलाएको १६ घन्टा डिउटी गर्नुपर्छ, कतिबेला जाने ? काम अनुसारको तलब छैन । समस्यै-समस्याले जेलिएको छ, मेरो वैदेशिक रोजगार जीवन ।

म स्काफोल्डिङको काम गर्छु । चर्को घाम खप्नुबाहेक मेरो खासै समस्या छैन । उताबाट तोकेर आएको पारिश्रमिक पाएको त छु, तर गर्मी सहन संघर्ष छँदैछ । अरु देशका कामदारको जस्तो समान काम गरे पनि हाम्रो देशका कामदारको तलब बराबर छैन । यो असमान तलबमानलाई समान बनाउन नेपाल सरकारको मातहतमा रहेको नेपाली नियोगको काम हो । हामी श्रमिकहरु धेरैजसो लेबरमा मात्र आउनाले पनि समस्या परेको हो । भनेको काम र तलब नहुनमा सरकारको कमजोरी छ, कूटनीतिक कार्यक्षमता अभाव हुनु श्रमिक ठगिनुको एउटा कारण हो ।

७ वर्ष भयो म कतार आएको । पन्चर बनाउने काम गर्छु । आफूभन्दा अग्ला-अग्ला टायरहरु उठाउनुपर्छ । गर्मी भन्न पाइन्न । गाह्रो भो भन्न पाइन्न । १२/१३ घन्टा काम गरे पनि भने अनुसारको दाम छैन । टायर खोल्ने, फिट गर्ने, पन्चरी टाल्ने सबै काममा निपुण भए पनि काम अनुसारको तलब, सेवा र सुविधा नपाउँदा रुन मन लाग्छ । तर हेर्नुस्, रोएर हुने केही होइन रहेछ । टायरको काममा ओस्ताद नै हो, म तर लेबरकै हाल छ । हँसिलो मुख बनाएर काम गर्न कहिले नपाइने भो ।

म अफिस एसिस्टेन्टका रूपमा कार्यरत छु ।  अनेकौँ सपना लिएर आएका हुन्छौँ, हामी । नेपालका एजेन्टले ठगेर हो वा के भएर हो, ती सपना कहिलै पूरा भएनन् । अदक्ष कामदार पठाउनु राष्ट्रको असक्षम कदम हो । किनकि कम्पनीले मागेको जस्तो उपयुक्त कामदार नेपाल सरकारले पठाउन नसक्नुले हामी श्रमिकको तलब निर्धारण गरेको छ । सुरक्षित वैदेशिक रोजगार बनाउन हामी सबैले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्छ । एउटै काम गर्ने तर देश फरकको आधारमा तलब र सेवासुविधामा भिन्नता हुनु मुख्य कारण हो ।

म बिल्डिङ कन्ट्रक्सनमा फोरमेनको काम गर्छु । कतारमा नेपाली मजदुरका समस्याहरु धेरै छन् । एउटा मजदुर बस्ने ठाउँमा एसी हुँदैन, राम्रो खाने र बस्ने सुविधा छैन । भोकभोकै बस्ने कति नेपालीहरु छन् । तिनका पक्षमा लडिदिने निकाय कमजोर छ । ऋण बोकेर पसेका नेपालीहरु जे/जस्तो काम वा तलब भए पनि काम गर्न बाध्य छन् । सरकारले कतारमा आउने कामदारका लागि सीपबेगर पठाउँछ । अनि कामदारहरु गैँची र बेल्चा हान्न बाध्य हुनुपर्छ । हाम्रो सरकार गतिहीन भएर पनि यस्तो समस्या परेको हो ।

म यहाँ ड्राइभिङ गर्छु । यो काम गर्दा जोखिम धेरै छन् । होशियार भएर गाडी कुदाउँदा पनि सिग्नलमा बाइचान्स गल्ती भो भने सालभरको तलबले पनि नपुग्ने दण्ड हुन्छ । ५ वर्ष भयो मैले यो कम्पनीमा काम गरेको, तर मलाई जाने बेला ग्रयाजिटी दिने हो कि होइन ? भन्ने चिन्ता छ । काम अनुसारको सुविधा पाउनुपर्ने त्यो पाउनसकेको छैन ।

म सेक्युरिटी गार्डको काम गर्छु । नेपालमा ८ घन्टा काम गर्ने भनेर भन्यो, तर यहाँ त्यो भएन ।  भने अनुसारको तलब त पाएको छु । तर डिउटी १२ घन्टा गर्नुपर्छ । खाने सुविधा छैन, अरुको विदाका दिनमा छुट्टी छैन । एउटै काम गर्ने अन्य देशका धेरै छन्, तर तिनको र हामी नेपालीको तलब स्केल फरक छ । यही आधारमा हेला पनि भइन्छ । समान तलबमान बनाउनका लागि  ह्युमन राइटसमा गएर नै पहल गर्नुपर्छ जस्तो लाग्छ ।

म गाडीका टायर फेर्ने, चक्का खोल्ने आदि काम गर्छु । यो काम गाह्रो छ । बाहिर घाममा गर्नुपर्ने भएकाले गर्मीमा गाह्रो हुन्छ । चित्तबुझ्दो सेलरी छैन । अधिकांंश समय घाममा डढ्नुपर्छ । १२/१४ घन्टा काम गर्नुपर्छ । भने अनुसारको तलब छैन, खाने सुविधा छैन । यिनै समस्या हुन् । नेपाली जनताका लागि भनेर नै पठाएको दूतावासले यो समस्याको समाधान गर्नुपर्छ । तोकेको तलबका आधारमा डकुमेन्ट एटेस्टेसन गर्नुमात्रै आफ्नो काम हो । तर श्रमिकले पाएको-नपाएको हेरविचार गर्ने काम मेरो होइन भन्ने सोचाइबाट नेपाली नियोग र कर्मचारी बाहिर निस्कनुपर्छ । नेपाल सरकार र कतार सरकार बीचमा टेबलटक गर्न पहल गर्नुपर्छ । नेपाली श्रमिक ठगिनु र न्याय नपाउनुमा नियोगको उदासीनता प्रमुख कारण हो ।

म कतार आएको १४ महिना भयो । मेकानिकको काम गर्छु । साह्रो-गाह्रो भनेको नेपालमा ८ घन्टा डिउटी भन्थ्यो, यहाँ ११ घन्टा छ । उता भनेभन्दा कम स्यालरी छ । खाने सुविधा छैन । आफ्नो कामअनुसार सुविधा छैन । हाम्रो देशको सरकार गतिलो छैन । सम्झौता गर्दा पनि राम्रो छैन, बिना सीप पठाउँछ । वैदेशिक रोजगारका लागि सम्झौताहरु पनि गर्दैन । महंँगीले घाँटी समाउँदा पनि वषौँसम्म पुरानै सम्झौतामा नेपाली कामदार यहाँ काम गर्न बाध्य छन् । राष्ट्रपति आए, प्रधानमन्त्री आए, नेताहरु आए, हामीले तिनलाई समस्या देखायौँ, तर केही भएन । गैल भैँस पानीमे ।

म कतार आएको ८ महिना भयो । ड्राइभरमा आएको तर अपरेटरको काम गरिरहेको छु । कम्पनीले ड्राइभर नदिएर अपरेटरमा हालेको छ । अब लड्न-भिड्न कहाँ जाने ? भने अनुसारको तलब पनि पाएको छैन । तलब दिए पनि २/३ महिना बितेपछि दिन्छ । श्रमिकले पाउने हक र अधिकार त उसको पसिना सुक्नुअघि नै पो दिनुपर्छ । तर महिनौँ बित्दा पनि 'आकासको फल, आँखा तरी मर' जस्तो भएको छ । भनेको तलब, भनेको काम, भनेको सुविधा नपाउँदा सम्बन्धित निकायमा नजानु आफ्नो गल्ती हो, तर गए कम्पनीको आँखाको तारो भइने डर, ऋण सम्भिmयो कहाली लाग्छ ।

म मेकानिककै काम गर्छु । चर्को घाम छ, काम गह्रो छ । डिउटी १४/१५ घन्टा छ । स्यालरी पनि १ हजारमात्र छ । खान पनि त्यसैमा, फोन खर्च पनि त्यसैमा । दिनभरि काम गरेर गलेको शरीरले आराम खोज्छ, तर मन नै अशान्त भएपछि कसरी निद्रा पर्छ । परिवार सम्भिmयो, आँसु आउँछ । काम सम्भिmयो, कहाली लाग्छ । समस्या नै समस्या छ । सस्तो श्रम बेच्न बाध्य नेपालीले कतै न्याय पाउने छाँट छैन । वैदेशिक रोजगारलाई सुव्यवस्थित बनाउन सरकारले सिन्को भाँच्दैन । बरु कूटनीतिक नियोगमा राजनीतिक नियुक्ति गरिदिन्छ । तिनले राष्ट्रकै धज्जी उडाउँदासमेत सरकार मौन बस्छ ।

म कतार आएको ५ वर्ष भयो । ड्राइभिङ गर्छु । सिग्नलमा फाइन पर्दा गाह्रो हुन्छ । खासै अरु समस्या केही छैनन् । हाम्रो कम्पनीले सबैको समान रूपमा नै सेवासुविधाहरु दिएको छ । अन्य कम्पनीहरुमा असमानता देखेको छु । खासगरी काम गर्ने समय, ओभरटायमको दाम, नियमित कामको प्रकृति अनिश्चित हुनु, खाने र आराम गर्ने समय निश्चित नहुनु, नेपालमा र यहाँ गरिएको एगि्रमेन्टमा आकास-पातालको फरक हुनु, कम्पनी फरक पर्नु आदि मुख्य समस्या हुन् । कति कम्पनीले भिसा-आईडी नलाउने, हेल्थ कार्ड नबनाइदिने, इन्सुरेन्स नगरिदिने, वषौँसम्म तलब नबढाइदिने आदि गर्ने गरेका छन् । यी गैरन्यायिक कामको खिलाफमा नेपाली कूटनीति खरो उत्रनुपर्छ ।

म इेलेक्टि्रसियन काम गर्छु । कम्पनीको नियमअनुसार ८ घन्टा अनि बांँकीचाहिँ ओभरटाइम हो । नेपाली श्रमिकका समस्याहरु धेरै छन् । म्यानपावरसँग गरिएको ऐगि्रमेन्टअनुसार तलब पाइँदैन । कम्पनी अर्कै हुन्छ । यहाँ आउँदा काम अर्कै हुन्छ । एउटा काममा आएको मान्छेले अर्को काम लगाउँदा गर्न जान्दैन । यही विषयमा कम्पनी र उसको नराम्रो सुरु हुन्छ । यस्तो विकराल अवस्था आउनुमा सरकार दोषी छ ।

Published on: 1 May 2013 | Kantipur

Back to list

;