s

दूताबासको लापबाहीले शव ल्याउन ढिलाई

रोजगारीका लागि मलेसियामा पुगेका मालिका–२ रुमका बुद्धिबहादुर परियारको शव मलेसियास्थित नेपाली दूतावासको बेवास्ताका कारण अस्पतालमै रोकिएको छ । गत चैत १२ गते ड्युटीबाट फर्किएपछि कोठामा सुतेको अवस्थामै मृत्यु भएका परियार कार्यरत् कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेपनि दूतावासले थप प्रक्रियामा बेवास्ता गर्दा अस्पतालमै शव रोकिएको हो ।
 
मृतकका भिनाजु सुनिल परियारले भने, कम्पनीले नेपाली दूतावासले एउटा कागज नदिएको बताउँछ । दूतावासमा फोन गर्दा विभिन्न बहाना बनाउँछ ।’ गत आइतबार मृत्यु भएका परियारको शव एक सातासम्म अस्पतालमै रोकिँदा समेत दूतावासले सामान्य पहल नगरेको त्यहाँ कार्यरत नेपालीको गुनासो रहेको छ ।
 
नेपालीकै लागि काम गर्न बसेका नेपाली दूतावासका कर्मचारीलाई मृत्युको कुनै वास्ता छैन । ‘उनीहरुलाई बिदामा रमाउन नै ठिक्क छ’, मृतक परियार कार्यरत एसएच कम्पनीका एक नेपालीले भने ।
 
कम्पनीले मृतकको शवलाई तत्काल अस्पतालमा पु¥याएर आवश्यक प्रक्रिया पूरागरी नेपाल ल्याउने तयारी अवस्थामा रहेको बताएको सात दिन भइसक्दा पनि नेपाली दूतावासबाट सहयोग नभएको भन्दै नेपालीले आक्रोश पोखेका छन् ।
 
घरबाट आफन्तले शवलाई बेली खोलामै अन्त्येष्टिको चाहना व्यक्त गरेपछि कम्पनीमा कार्यरत नेपालीले पहल गरेका थिए । यता, काठमाडौँमा रहेका मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले श्रम मन्त्रालयलगायत सरकारी निकायमा पहल भइरहेको बताए ।
‘नेपालमा शव ल्याए हामीले आफैँ गाउँमा पु¥याउँछाँै । शव ल्याउनै समस्या भइरहेको छ’, अध्यक्ष रोकाले भने । करिब पाँच वर्ष अगाडि मलेसिया पुगेका परियारको परिवारिक अवस्था निकै नाजुक छ ।
 
Published on: 4 April 2018 | Madhyanha

Back to list

;