s

दूतावासका आधा कर्मचारी बिरामी

सुरेन्द्र पौडेल

साउदी अरबको रियादस्थित नेपाली दूतावासका आधा कुटनीतिक कर्मचारी बिरामी परेका छन्। साउदीले अवैध आप्रवासी कामदारलाई वैध बन्ने तथा स्वदेश फर्कन एम्नेस्टी (आममाफी) घोषणा गरेसँगै कामको चाप बढेका बेला कर्मचारी ज्वरोले थलिएका हुन्। 'आधा कर्मचारी बिरामी भई घर र अस्पतालमा छन्,' साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेले नागरिकसँग टेलिफोनमा भने, 'आधा कर्मचारीले दूतावास चलाउन परेको छ। ठूलो समस्यामा छौं।'

उनका अनुसार १० कुटनीतिक कर्मचारीमध्ये चार जना ज्वरोले सिकिस्त भई घरमा सुतेका छन्। एक जना दूतावासकै कामले जेद्दा गएका छन्। ज्वरोले थलिने कर्मचारीमा उपनियोग प्रमुख हरिषचन्द्र घिमिरे, काउन्सिलर सुधीर भट्टराई, द्वितीय सचिव उत्तम दवाडी र श्रम सहचारी कृष्णप्रसाद दवाडी छन्।

बिरामी चारै कुटनीतिक कर्मचारी उठ्न नसक्ने भएपछि उपचारपछि घरमै आराम गरिरहेका छन्। दूतावासमा 'लोकल स्टाफ'का रूपमा कार्यरत मानबहादुर थापालाई भने उच्च ज्वरो नघटेपछि अहिले स्थानीय अस्पतालमा स्लाइन दिई राखिएको राजदूत पाण्डेले जनाए।

'कामको चाप बढी हुँदा धेरै पहिलादेखि परराष्ट्र मन्त्रालयसँग कामदार थपिदिन भन्दै आएका थियौं। अहिले साउदीले अवैध आप्रवासी कामदारलाई स्वदेश फर्काउन एम्नेस्टी घोषणा गरेपछि त कामको चाप ह्वात्तै बढेको छ। आँधी आइरहेको बेला असिना परेजस्तो भा'छ,' उनले भने।

वैध/अवैध गरी ६ लाखभन्दा बढी नेपाली कामदार साउदीमा कार्यरत छन्। ७० हजार पुरुष र ५० हजार महिला गरी साउदीमा कार्यरत नेपाली अवैध कामदारको संख्या एक लाख २० हजार हाराहारी रहेको अनुमान छ।

साउदीले आप्रवासी कामदारलाई लक्षित गरी १५ वर्षपछि वैशाख २७ बाट लागू हुने गरी एम्नेस्टी घोषणा गरेको थियो। एम्नेस्टी अवधि असार १९ गते सकिने छ। लामो समयदेखि अवैध रूपमा साउदीमा बसेका कामदार यो अवधिमा आफ्नो दूतावासबाट राहदानी बनाई बिना कारबाही स्वदेश फर्कन पाउनेछन्।

काम विशेषले काठमाडौं आएका राजदूत पाण्डे एम्नेस्टी घोषणा भएलगत्तै गत साता साउदी फर्केका थिए। साउदी फर्कनुअघि उनले परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे र परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईसँग थप कामदार काजमा पठाइदिन आग्रह गरेका थिए। 'दुई जना नासु पाँच साताका लागि काजमा पठाइदिने आश्वासन दिनुभएको थियो। आवश्यकता परे पछि काजको समय थप्ने सहमति भएको थियो,' उनले भने, 'तर अहिलेसम्म नासु पठाउने कुनै छेकछन्द छैन।'

कामको चाप प्रमुख कारण त भयो नै, अझ वर्षौदेखि संकलन गरिएको अवैध नेपाली कामदारका करिब १३ हजार राहदानीको पोका खोल्दा निस्केको धुलोले कर्मचारीलाई थप बिरामी बनाएको उनको विश्लेषण छ।

साउदीका विभिन्न रोजगारदाताले नेपाली कामदार उक्त कम्पनीबाट भागी अन्यत्र काम गर्न गए, उसको राहदानी त्यहाँको विदेश मन्त्रालयमार्फत दूतावास पठाउने गर्छ। यसरी विभिन्न समयमा आएर अवैध बनेका नेपाली कामदारको राहदानी दूतावासले पोका बनाई थन्काउँदै आएको थियो।

एम्नेस्टी घोषणापछि अवैध कामदार वैध बन्न तथा स्वदेश फर्कन राहदानी आवश्यक हुने भएपछि थन्काइएका ती राहदानीका पोका खोली सूचीबद्ध (राहदानी वाहकको नाम, नम्बर, ठेगाना) गरी दूतावासले आफ्नो वेबसाइटमा राखेको छ। सूचीमा रहेका कामदारले दूतावास पुगी ती राहदानीबाटै स्वदेश फर्कन पाउनेछन्। नहुनेले नयाँ राहदानी (यात्रा अनुमतिपत्र) लिनुपर्ने हुन्छ।

एम्नेस्टी घेषणापछि यो अवधिमा २० हजार अवैध नेपाली कामदारले स्वदेश फर्कन राहदानीका लागि निवेदन दिइसकेका छन्। 'रेगुलर काम त छँदै छ। अहिले एम्नेस्टीको अवसर छोप्दै घर फर्कन रियादमा मात्र दैनिक १२ सय अवैध कामदार राहदानी बनाउन आउने गरेका छन्। त्यसै त थोरै कर्मचारी झन्, धपडीले गर्दा बिरामी भएपछि काम कसरी भ्याउने सोच्न पनि गाह्रो भएको छ,' राजदूत पाण्डेले भने।

हस्तलिखित राहदानी सन् २०१५ उता प्रयोग गर्न नमिल्ने भएकाले केही महिनादेखि एमआरपी बनाउन आउनेको संख्या निकै बढेको छ। प्रत्येक दिन सयभन्दा बढी एमआरपी बनाउन दूतावास पुग्ने गरेका छन्। अवैध कामदारले असार १९ गतेसम्म राहदानी नपाए स्वदेश फर्कन पाउँदैनन्। एम्नेस्टीको बेला पनि स्वदेश नफर्कने आप्रवासी कामदारलाई जरिवानादेखि जेल सजायसम्म गर्ने चेतावनी साउदीले दिएको छ। 'कर्मचारी बिहान ४ बजेदेखि राति ११ बजेसम्म काममा खटिएका छन्। बाँकी कर्मचारी पनि बिरामी भए के गर्ने भन्ने चिन्ताले सताएको छ,' राजदूत पाण्डेले भने। कामको चापसँगै उखरमाउलो गर्मी कर्मचारी बिरामी पर्नुको कारण रहेको उनको बुझाइ छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले साउदीमा थप कर्मचारी नपठाई नहुने भए पनि कर्मचारी अभावले पठाउन नसकिएको बताए। 'मन्त्रालयमै कर्मचारीको सर्टेज छ। कसरी पठाउने भन्ने सोचिरहेका छौं,' उनले भने।

Published on: 22 May 2013 | Nagarik

Back to list

;