s

दूतावासमा पीडित महिलाको उजुरी- ‘दूतावासका कर्मचारीले पैसा खाइदिए'

नेपाली दूतावासकै कर्मचारीबाट ठगिएपछि एक महिला न्यायका लागि परराष्ट्र मन्त्रालयको ढोका ढक्ढकाउन पुगेकी छन्। कामदार हकहितका लागि खाडी राष्ट्रमा रहेको दूतावासका एक कर्मचारीले लिएको करिब १ लाख रुपैयाँ चार वर्षदेखि नफर्काएपछि रुपन्देही भैरहवा–७ की उमा सार्कीले परराष्ट्रको कन्सुलर विभागमा उजरी दिएकी छन्।

सार्कीले सन् २०१० जुन ५ का दिन साउदी अरबस्थित नेपाली दूतावासमा कार्यरत परराष्ट्र मन्त्रालयका कर्मचारी खड्गप्रसाद दाहालले आफूसँग ३ हजार ५ सय साउदी रियाल लिएर हालसम्म फिर्ता नगरेको आरोप लगाएकी छन्। परराष्ट्रका उपसचिव दाहाल अहिले इजरायलस्थित नेपाली दूतावासमा उपनियोगप्रमुख छन्।

‘हजुरको पैसा मालिकले खाइदिन्छ, मलाई राख्न दिनुस्, म सुरक्षित राखिदिन्छु भन्नुभयो। नपढेको मान्छे, दूतावासकै कर्मचारी, आफ्नै देशको दाजुभाइ भनेर विश्वास गरेँ। चार वर्ष भइसक्यो, अहिलेसम्म फिर्ता गर्नुभएन,' सार्कीले नागरिकसँग भनिन्। उनले ‘खाइनखाई' जम्मा पारेको पाँच महिनाको तलब दाहाललाई राख्न दिएको बताइन्। 

सार्कीका अनुसार उनी सन् २००९ को अन्त्यतिर घरेलु कामदारका रुपमा साउदी गएकी थिइन्। मासिक ७ सय रियाल उनको तलब थियो। खाना बनाउने, कपडा धुने, बच्चा हेर्नेलगायत काम त सजिलो थियो, तर काम गर्ने घरको साहु भने असजिलो परे। काम गर्न अफ्ठेरो भएपछि उनी त्यहाँबाट भागेर दूतावासमा शरण लिन पुगिन्। दूतावासको सेल्टरमा रहँदा अर्को घरमा काम पाएपछि जाने बेला खड्काले उनीसँग भएको पैसा सुरक्षित राखिदिने भन्दै मागेका थिए। 

दाहाललाई पैसा दिने बेला उनले कागजसमेत गरेर दिएकी थिइन् जुन प्रमाणका रुपमा अहिले परराष्ट्रमा बुझाएकी छन्। पैसा बुझेको कागजमा दाहालले हस्ताक्षर गरे पनि उक्त पैसा आफूले नभई ‘एम्बेसीमा बुझाएको' उल्लेख गरेका छन्। ‘मेरो पैसा लिएलगत्तै उहाँ त नेपाल फर्कनुभएछ। मलाई कुनै सम्पर्क गर्नु पनि भएन, दूतावासमा पनि पैसा छाडिदिनुभएन,' सार्कीले भनिन्।

एक महिनाअघि नेपाल फर्कने बेला सार्कीले साउदीस्थित नेपाली दूतावासमा दाहालको खोजी गरिन्। दूतावासलाई उनले आफ्नो पैसा दाहालले लिएका प्रमाण बुझाइन् तर कुनै सुनवाइ भएन। ‘साउदीस्थित दूतावासमा पैसा फिर्ता गरिदिन भनी निवेदन दिएँ तर केही भएन। दाहाल अहिले इजरायल हुनुहुन्छ भन्ने जानकारी मात्र दिए,' उनले भनिन्। 

काठमाडौं आएलगत्तै उनी आफ्नो घर पनि नगई सिधै परराष्ट्रको कन्सुलर विभाग पुगेकी थिइन्। त्यहाँ उनले प्रमाणसहितको निवेदन दिएकी छन्। परराष्ट्र मन्त्रालयस्रोतका अनुसार अहिले विभागले दाहालसँग स्पष्टीकरण मागेको छ। ‘परेको निवेदन र प्रमाणका आधारमा दाहालसँग मन्त्रालयले स्पष्टीकरण मागेको छ। स्पष्टीकरण चित्तबुझ्दो नआए कारबाही अघि बढ्छ,' स्रोतले भन्यो। 

सार्की अहिले रुपन्देहीस्थित घरमा छिन्। पतिले जाँडरक्सी खाई दुःख दिने गरेपछि उनी छोरीको भविष्य बनाउन ६ वर्षअघि साउदी पुगेकी थिइन्। ‘आँसु पिईपिई कमाएको पैसा खाइदिए,' उनले भनिन्। दाहालमाथि यसअघि पनि वैदेशिक रोजगारमा गएको रकम हिनामिना गरेको आरोप लागेको थियो। तत्कालीन साउदीका लागि नेपाली राजदूत हमिद अन्सारी र उनीमाथि मरेका मान्छेका नाममा आएको लाखौं क्षतिपूर्ति तथा बिमा रकम अनियमितता गरेको आरोप लागेको थियो। आरोप प्रमाणित भएपछि राजनीतिक नियुक्तिमा राजदूत भएका अन्सारीलाई सरकारले कारबाहीस्वरुप फिर्ता बोलाएको थियो भने दाहाललाई परराष्ट्रका केही कर्मचारीले जोगाएका थिए। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी हिनामिना गरेको रकम पीडित परिवारलाई फिर्ता गराउन लगाएपछि अन्सारीले पत्रकार सम्मेलन गरेरै मरेकाका नाममा आएको क्षतिपूर्ति रकम अनियमितता गर्न दाहालले सघाएको बताएका थिए। मुख्य आरोपीले पोल्दा पनि परराष्ट्र र अख्तियार दुवैले त्यतिबेला दाहालमाथि कुनै छानबिन र कारबाही गरेनन्। अन्सारी एक्लैले भने हिनामिना गरेको ६० लाख रुपैयाँभन्दा बढी रकम पीडितका परिवारलाई फिर्ता गरेका थिए।

Published on: 17 September 2014 | Nagarik

Back to list

;