s

दूतावासले बेवास्ता गर्दा मलेशियामै रोकियो परियारको शव

रोजगारीका लागि मलेशियामा पुगेका जिल्लाको मालिका गाउँपालिका–२ रुमका बुद्धिबहादुर परियारको शव मलेशियास्थित नेपाली दूतावासको बेवास्ताका कारण अस्पतालमै रोकिएको छ।
 
गत चैत १२ गते ड्यूटीबाट फर्किएपछि कोठामा सुतेको ठाउँमा मृत्यु भएका परियार कार्यरत कम्पनीले आवश्यक प्रक्रिया पुरा गरे पनि दूतावासले थप प्रक्रियामा बेवास्ता गर्दा अस्पतालमै शव रोकिएको मृतकका भिनाजु सुनिल परियारले जानकारी दिए।
 
‘कम्पनीले नेपाली दूतावासले एउटा कागज नदिएको बताउँछ। दूतावासमा फोन गर्दा विभिन्न बहाना बनाउँछन्’ परियारले भने। गत आइतबार मृत्यु भएका परियारको शव एकसातासम्म अस्पतालमै रोकिँदासमेत दूतावासले सामान्य पहल नगरेको त्यहाँ कार्यरत नेपालीको गुनासो रहेको छ।
 
‘नेपालीकै लागि काम गर्न बसेका नेपाली दूतावासका कर्मचारीलाई मृत्युको कुनै वास्ता छैन। उहाँहरूलाई बिदामा रमाउनै ठिक्क छ’, मृतक परियार कार्यरत एसएच कम्पनीका एक नेपालीले भने।
 
कम्पनीले मृतकको शवलाई तत्काल अस्पतालमा पुर्‍याएर आवश्यक प्रक्रिया पुरा गरी नेपाल लैजान तयारी अवस्थामा रहेको बताएको सात दिन बितिसक्दासमेत नेपाली दूतावासबाट सहयोग नभएको भन्दै नेपालीले आक्रोश पोखेका छन्।
 
घरबाट आफन्तले शवलाई बेली खोलामै अन्त्येष्टिको चाहना व्यक्त गरेपछि कम्पनीमा कार्यरत नेपालीले पहल गरेका थिए। यता काठमाडौंमा रहेका मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले श्रम मन्त्रालय लगायत सरकारी निकायमा पहल भइरहेको बताए।
 
‘नेपालमा शव ल्याए हामीले आफैँ गाउँमा पुर्‍याउँछौं। शव ल्याउनै समस्या भइरहेको छ’ अध्यक्ष रोकाले भने। उनले एउटै गाउँका दुई युवा मलेशियामा मृत्यु भएको शोकमा गाउँ रहेको समेत बताए पनि मलेशियामै प्रक्रिया रोकिएको बताएपछि थप पहल गरिने बताए।
 
करिब पाँच वर्ष अगाडि मलेशिया पुगेका परियारको परिवारिक अवस्थासमेत निकै नाजुक छ। आर्थिक अवस्था कमजोर भएकै कारण किरिया खर्चलगायत थप सहयोग जुटाउनु पर्ने अवस्था रहेको स्थानीयको भनाइ छ।रासस
 
Published on: 3 April 2018 | Setopati

Back to list

;