s

दूतावासको ‘नो अब्जेक्सन’ पनि नक्कली

देवेन्द्र भट्टराई
 
भारतका अन्तर्राष्ट्रिय विमानस्थलहरू हुँदै पर्यटक भिसामा तेस्रो मुलुक जाने नेपालीका लागि दिल्लीस्थित नेपाली दूतावासको ‘नो अब्जेक्सन’ पत्र लिनु अनिवार्य छ। तर, यही पत्रसमेत नक्कली भेटिन थालेपछि विदेश मन्त्रालयले पत्रको आधिकारिकता पुष्टि गर्न चाहेको छ।
 
दिल्ली नाका हुँदै तेस्रो मुलुकमा भइरहेको नेपाली युवतीको ओसारपसार र मानव तस्करीको बढदो सञ्जालबारे भारतीय विदेश मन्त्रालयमा बिहीबार अपराहन भएको द्विपक्षीय छलफलमा मन्त्रालयका उच्च अधिकारीले विमानस्थल र अध्यागमनको सतर्कता छँदाछँदै नक्कली ‘नो अब्जेक्सन’ पत्रका कारण कठिनाइ उब्जिरहेको गुनासो गरेका छन्।
 
‘अध्यागमन विभाग र विदेश मन्त्रालयका उच्च अधिकारीले नेपाली दूतावासले उपलब्ध गराउँदै आएको ‘नो अब्जेक्सन लेटर’को हुबहु नक्कल भेटिएर कठिनाइ उब्जिएको बताएका छन्,’ मन्त्रालयको बैठकमा सहभागी दूतावासका कार्यवाहक राजदूत कृष्णप्रसाद ढकालले कान्तिपुरसँग भने, ‘विमानस्थलमा यात्रुले लिएर जाने त्यस्ता अनधिकृत पत्रको आधिकारिकता पुष्टि गर्नै पनि अब नयाँ पद्धति कार्यान्वयनमा ल्याइने भएको छ।’ ढकालका अनुसार अब दूतावासबाट दिइने पत्रको एकप्रति ‘स्क्यान’ गरेर तत्काल विदेश मन्त्रालयको संयन्त्रमार्फत अध्यागमनमा पठाइनेछ। त्यही आधारमा पत्रको आधिकारिकता पहिल्याइने भएको छ।
 
भारतीय विमानस्थल हुँदै तेस्रो मुलुक जान चाहने नेपालीलाई ‘विशेष निगरानी’ राखिदिन नेपाल सरकारले भारतलाई आग्रह गरेपछि दिल्लीसहितका ‘ट्रान्जिट’ विमानस्थलमा नेपाली यात्रुको राहदानी, भिसा तथा अन्य कागजात ध्यानपूर्वक हेरिँदै आएको छ। खाडी क्षेत्रका ६ वटा र इराक, सिरिया, लेबनानसहितका मुलुकमा पर्यटक भिसामा जाने नेपालीका लागि दूतावासबाट अनिवार्य ‘नो अब्जेक्सन लेटर’ लिनैपर्ने प्रावधानबारे नेपालले भारत सरकारलाई अवगत गराइसकेको छ।
 
यी तोकिएका ९ वटा वा अन्य मुलुकमा कामदार भिसामा जान चाहने नेपालीका लागि राहदानीमा अनिवार्य ‘श्रम स्टिकर’ चाहिनेबारे पनि भारत सरकार जानकार भइसकेको छ। कामदार भिसाका भरमा ‘श्रम स्टिकर’ बिनै उड्न चाहने नेपाली यात्रुलाई भारतीय विमानस्थलहरूमै रोकिने गरेको छ।
‘नेपाल सरकारले तोकेको यो नियमबारे दिल्लीबाहेक अरू विमानस्थल र सम्बद्ध निकायमा राम्ररी जानकारी नभएको हुन सक्नेबारे पनि हामीले कुरा उठायौं,’ ढकालले भने। भारतभर रहेका प्रमुख १२ वटा अन्तर्राष्ट्रिय र अन्य अन्तर्राज्य विमानस्थलको ‘ट्रान्जिट’ भएर पनि नेपाली युवायुवतीलाई गिरोहले तेस्रो देशमा लैजाने क्रममा पछिल्लो दुई सातामा २८ युवतीको दिल्लीमा उद्धार गरिएको थियो।
 
दिल्लीबाट खाडी मुलक लैजाने तयारी गरिएका यी युवतीमध्ये ७ जनालाई दिल्लीबाट कोलम्बो हुँदै दुबई र त्यसपछि सिरिया लगिन लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। ‘अवैध आवतजावत रोक्न नेपाल–भारत द्विदेशीय अध्यागमन निकायबीच थप समन्वय जरुरी छ, शंकास्पद गतिविधिका सूचना आदानप्रदान गर्ने र यसमा दोहोरो निगरानी बढाउने काम जरुरी देखिएको छ,’ काठमाडौंस्थित अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले फोनमा भने।
 
नेपाली दूतावासमा कागजात प्रमाणीकरण गर्न ल्याइएका नेपाली नागरिकता, लाइसेन्स, विवाह प्रमाणपुर्जा आदि समेत नक्कली फेला पर्ने गरेको छ। पहाडगन्जस्थित एक स्रोतका अनुसार, अझै पनि नेपालीका लागि १०र१५ हजार रुपैयाँमा नागरिकता वा हस्तलिखित राहदानी बनाइदिने गिरोह दिल्लीमा सक्रिय छ। विशेषतस् अफ्रिकाका केन्या, तान्जानियासहितका केही मुलुकमा नेपालीलाई ‘अनअराइभल भिसा’ दिइने हुनाले दिल्लीमा नक्कली राहदानी बनाएर चर्को रकम असुल्दै युवायुवतीलाई उडाउने मानवतस्करको जालो अझै पनि महिपालपुर, पहाडगन्ज, मुनरिका आसपासमा सक्रिय भेटिने गरेको छ।
 
बिहीबार अपराहन विदेश मन्त्रालय भएको बैठकमा नेपाल मामला हेर्ने सहसचिव अभय ठाकुरले विमानस्थल, अध्यागमन र मन्त्रालयका अधिकारी सम्मिलित दुईदेशीय संयन्त्र बनाएर मानवतस्करी र अवैध आवागमनमा निगरानी बढाउन सकिने उपाय सुझाएका थिए। ठाकुरले दुवै देशका विमानस्थल र अध्यागमन निकायबीच यात्रु आवागमनको सहजीकरण र आवश्यक पर्दा निगरानी बढाउन २४ घण्टा सक्रिय रहने ‘संयन्त्र’ स्थापना गर्नुपर्ने सुझाव दिएका थिए।
 
अध्यागमनका अधिकारीले भारतका कुनकुन विमानस्थलमा अनधिकृत तवरमा नेपाली यात्रु आवागमन भइरहेको हो र कहाँ बढी निगरानी तथा समन्वय जुटाउनुपर्ने हो, त्यसबारे तत्काल जानकारी गराउनसमेत दूतावासका प्रतिनिधिसमक्ष आग्रह गरेका छन्। बैठकमा विदेश मन्त्रालयका अधिकारी, अध्यागमन विभाग, विमानस्थल र मातहतका प्रतिनिधि उपस्थित थिए।
  
Published on: 14 August 2015 | Kantipur
 

Back to list

;