s

दूतावासमा कामदार कोषको ६ करोड बेरुजु

दिनेश रेग्मी

वैदेशिक रोजगारमा जाने कामदारको 'कल्याणकारी कोष' बाट नेपाली दूतावासहरूले लगेको ७ वर्षदेखिको ६ करोड २९ लाख ५५ हजार रुपैयाँभन्दा बढी बेरुजु भेटिएको छ । कामदारको उद्धार, राहत, उपचार, दूतावासलाई गाडी, फर्निचर, कम्प्युटर खरिद र कर्मचारीलाई तलब दिन भन्दै ०६५ देखि दूतावासहरूले गरेको रकम फस्र्योट हुन नसकेको हो ।

एकपछि अर्को गर्दै दूतावासहरूले पेस्कीका रूपमा पटकपटक रकम लैजाने गरे पनि फस्र्योट नगरेको 'कल्याणकारी कोष' को संरक्षक निकाय 'वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड' ले जनाएको छ । आर्थिक कार्यविधि ऐनअनुसार पहिला लगेको पेस्की फस्र्योट नगरी अर्को नदिने प्रावधान भए पनि त्यसलाई उल्लंघन गरिएको छ ।

कतिपय दूतावासले कसको उद्धार गर्ने, कति रकम लाग्नेजस्ता विवरणसमेत नखुलाई रकम मागे पनि बोर्डले दिएको देखिन्छ । आर्थिक कार्यविधि ऐनले 'सरकारी वा अन्य कुनै व्यक्तिले सरकारी कामकाजका लागि पेस्की लिनुपर्दा कुन कामका लागि, के कति रकम चाहिने हो, त्यसको विवरण पेस गर्नुपर्छ,' भने पनि नियम पालना गरिएको छैन ।

७ वटा नेपाली दूतावासमध्ये सबभन्दा बढी बेरुजु साउदी अरबको छ । कतार, मलेसिया, दक्षिण कोरिया, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई) र इजिप्टस्थित दूतावासले लगेको रकमको ठूलो अंशसमेत बेरुजुमा छ । स्रोतका अनुसार दूतावासहरूले एउटा काममा लगेर अर्कोमा खर्च गरेको, बिल-भरपाई पेस नगरेको, कुनै बिल पाइएन भनेको, कुनैमा रकम स्पष्ट नभएको र कुनै बिल शंकास्पद भेटिएको छ ।

पेस्की रकम कुनै बेला परराष्ट्रमार्फत र कुनै बेला सीधै बोर्डमा मागेर लगेको देखिन्छ । बोर्डले कुनै बेला बैठकबाट निर्णय गरेर, कहिले निर्णय नै नगरी, कुनै श्रममन्त्री -बोर्ड अध्यक्ष) को आदेशमा दूतावासलाई रकम दिएको हो । सरकारले वहन गर्नुपर्ने आर्थिक दायित्व पनि कामदारकै कोषमा भार पर्ने गरी दूतावासलाई दिइएको हो ।

'बोर्डको पैसा त हो, जे गरे पनि हुन्छ भन्ने सोचले यस्तो अराजकता भएको हो,' बोर्डका एक अधिकारीले भने, 'दूतावासहरूले खर्च गरेर उभ्रेको रकम पनि फिर्ता नगरी फेरि अर्को शीर्षकमा खर्चेका छन् ।' कामदारको कोषको रकमबाट बेरुजु गर्ने ७ दूतावासमध्ये सबभन्दा बढी २ करोड ६४ लाख ४७ हजार रुपैयाँ साउदी अरबको नेपाली दूतावास रहेको छ । सबभन्दा कम इजिप्टस्थित दूतावासको १ लाख ५९ हजार रुपैयाँ बेरुजु छ ।

महालेखा परीक्षकको कार्यालयले ०६५/६६ देखि ०७०/७१ सम्म गरेको लेखा परीक्षणअनुसार ५ करोड ८७ लाख ९५ हजारभन्दा बढी र ०७१ मंसिर १ गते दक्षिण कोरिया दूतावासमा गाडी किन्न ४१ लाख ६० हजारसहित ६ करोड २९ लाख ५५ हजार ५ सय २४ रुपैयाँ पेस्की बेरुजु देखिएको हो । 'लेखा परीक्षण गराउँदा जुन कामका लागि गएको हो, त्यसैमा खर्च हुनुपर्छ र अर्कोमा गए माग्नुपर्छ भन्छन्,' दूतावास र परराष्ट्रले हलुंगो रूपमा कोषलाई लिए भन्दै बोर्डका एक अधिकारीले भने, 'स्वेच्छाचारिता छ, किनेका सामानको स्टोर दाखिला पनि नभएको भेटिएको छ ।' बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले बढदो पेस्की बेरुजु घटाउन एक वर्षदेखि लेखापाल नियुक्त गरेर १० करोडबाट ६ करोड रुपैयाँमा झारेको बताए । 'पेस्की फस्र्योटका लागि अनुरोध गरिरहेका छौं,' उनले भने, 'पेस्की लिने-दिने पारिपाटीमै व्यवस्थित गर्न सकियो भने यस्तो अवस्था आउने थिएन ।'

०७१ असार ३२ को महालेखाको प्रतिवेदनअनुसार कुवेतस्थित दूतावासले गाडी किन्न, कामदारको उपचार गर्न, शव पठाउन र फर्निचर किन्न भनेर पेस्की रकम लगेकोमा गाडीको दाखिला रिपोर्ट नपठाएको र मागै नगरेको कम्प्युटर तथा फोटोकपी मेसिन किनेकोे भेटिएको छ ।

साउदीस्थित दूतावासले सामान खरिदका लागि भनेर ०६५ कात्तिक ९ गते लगेको पेस्कीमध्ये 'फ्लोरिङ कार्पेट' गरेको २० हजार ५ सय ९६ रियाल - करिब ५ लाख ३५ हजार रुपैयाँ) बिल नपाएको, सेफ हाउसका लागि किनेका सामानको बिल फेला नपरेको भनेर रिपोर्ट पठाएको छ । काठमाडौंमा भेट हुँदा साउदीस्थित राजदूत उदयराज पाण्डेले सबैको बिल भरपाई पठाएको दाबी गर्दै पेस्की फस्र्योट बाँकी नहुनुपर्ने बताएका थिए ।

बोर्डका अधिकारीले 'कुनै दूतावासबाट केही डकुमेन्ट आएका छन् तर त्यसको स्वरूप कस्तो छ भनेर अडिट गर्दा मात्र थाह हुन्छ,' भनेका छन् । आर्थिक कार्यविधि ऐनअनुसार प्रचलित कानुनबमोजिम रीत नपुर्‍याई कारोबार गरेको वा राख्नुपर्ने लेखा परीक्षण नराखेको तथा अनियमिता वा बेमनासिब तरिकाले आर्थिक कारोबार गर्नु बेरुजु हो ।

परराष्ट्र प्रवक्ता ताराप्रसाद पोखरेल दूतावासहरूसँग बुझेर फस्र्योट गर्न लगाउने बताए । 'यति लामो समयसम्म यसलाई टुंग्याउनुपथ्र्यो,' उनले भने, 'यो फस्र्योट गर्नुपर्छ, म विस्तृत बुझेर के गर्नुपर्छ भन्छु ।'

 

कुन दूतावासमा कति बेरुजु ?

साउदी अरब-    २ करोड ६४ लाख ४७ हजार ८९० रुपैयाँ

कतार -    १ करोड ११ लाख २५ हजार २५२ रुपैयाँ

मलेसिया-    ६९ लाख २९ हजार ७६८ रुपैयाँ

दक्षिण कोरिया-    ८६ लाख १९ हजार ९६९ रुपैयाँ ३१ पैसा

कुवेत-    ६८ लाख ९७ हजार ०८१ रुपैयाँ ४२ पैसा

यूएई-    २७ लाख ७६ हजार ४०३ रुपैयाँ ८३ पैसा

इजिप्ट-    १ लाख ५९ हजार १६० रुपैयाँ

कुल बेरुजु :    ६ करोड २९ लाख ५५ हजार ५ सय २४ रुपैयाँ ५६ पैसा

 Published on: 4 April 2015 | Kantipur 

Back to list

;