s

'दूतावासले मजदुर हकहितमा काम गरेन'

नेपालीको हक हित सुरक्षित गर्न खोलिएको दूतावासले कामदारका विषयमा कुनै काम नगरेको त्यहाँ रहेका मजदुरको गुनासो रहेको छ ।

उनीहरूले रोजगारीलाई व्यवस्थित, मर्यादित र उपलब्धिमूलक बनाउन कामदार, नेपाल र मलेसियामा कार्यरत वैदेशिक रोजगार व्यवसायी एवं नेपाली दूतावासले आआफ्नो भूमिका र जिम्मेवारीलाई पारदर्शी रूपले बहन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

वैदेशिक रोजगार पत्रकार समाजले क्वालालम्पुरमा आइतबार आयोजना गरेको विशेष अन्तरक्रियामा पीडित एवं वक्ताहरूले यस्तो दुःखेसो पोखेका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्ष कुमुद खनालले मलेसियामा रोजगारीको भविष्य सुनिश्चित गर्न 'कमिसन खेल' तत्काल रोक्नुपर्ने बताए । मलेसियाले सुरक्षागार्डमा गोर्खा गार्डका रूपमा नेपाली मात्र लिने निर्णय गरेको अवस्थामा पनि नेपाली म्यानपावरले पैसा बढाबढ गरेर माग तान्ने दुष्प्रयास गर्नु दुर्भाग्यपूर्ण भएको उनको कथन थियो ।

गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष शंकर पौडेलले आवश्यक कागजपत्रको अभावमा विदेशमा काम गर्न आउँदा दुःख झेल्नुपर्ने उल्लेख गर्दै कामदारलाई यथार्थ कुरा बताएर मात्र वैदेशिक रोजगारमा पठाउन जोड दिए ।

नेपाल-मलेसिया वैदेशिक रोजगार समन्वय समितिका अध्यक्ष हरि भट्टराईले समस्याको जड धेरै रहेको बताए । उनले म्यानपावर कम्पनी स्थानीय स्तरमा कामदारसम्म पुग्न नसकी एजेन्टको भर पर्नुपरेको, व्यवसायीले माग लिने नाममा पैसाको चलखेल बढाउने गरेकामा चिन्ता व्यक्त गरे । भट्टराई नेपाली राजदूतावासले कामदारका हक, हितका पक्षमा ठोस भूमिका खेल्न नसकेको उल्लेख गर्दै सरकारले वैदेशिक रोजगारका नीति, नियमहरू समयसापेक्ष बनाउन नसकेकै कारण पनि समस्याहरू थपिँदै गएको उल्लेख गरे ।

नेपाली दूतावासका श्रम सहचारी अमलकिरण ढकालले मलेसिया आउने कामदारलाई मलेसियाको कमाइ र बसाइबारे यथार्थ जानकारी गराएर पठाउनुपर्ने, मलेसियामा अवैध रूपमा बस्न नहुने र कामदारमाथि भार बढ्ने गरी व्यवसायीहरूले अस्वस्थ प्रतिस्पर्धा गर्न नहुने धारणा राखे । उनले दूतावासको कार्यक्षेत्र र सीमाका बीच कामदारका कतिपय समस्या समाधान गर्न ढिलाइ भइरहेको स्वीकार गर्दै दूतावासको स्रोत र साधन बढाउनेतर्फ पहल भइरहेको जानकारी दिए ।

Published on: 11 August 2012 | Kantipur

Back to list

;