s

दूतावासका प्रतिनिधि कामदारकाे अवस्था बुझ्न युएईको जेलमा

उमाकान्त पाण्डे

युएईको आबुधाबीस्थित नेपाली दूतावासले यहाँका जेलहरुको भ्रमण अभियान सुरु गरेको छ । अभियान अन्तर्गत युएईका सात वटा इमिरेट्समा रहेका सबै जेलमा पुगेर नेपालीको अवस्था बारे जानकारी लिइने छ । 

परराष्ट्र मन्त्रालयले गएको माघ १० गते विदेशस्थित सबै नेपाली नियोगहरुलाई पत्राचार गरेर सम्बन्धित मुलुकका जेलमा रहेका नेपालीको तथ्याङ्क र अवस्था जानकारी गराउन भनेको थियो । 
 
त्यसै अनुसार युएईका सातै वटा इमिरेट्सका ८ वटा जेल पुगेर कैदी जीवन बिताइ रहेका नेपालीको मुद्दा, उनीहरु माथि लागेको आरोप र अवस्था बारे जानकारी लिन सुरु गरेको हो । आरोप वा मुद्दाका विषयमा दूतावासले गर्न सक्ने कानूनी सहजीकरणका लागि योजना बनाउन पनि अभियान सुरु गरिएको दूतावासका प्रवक्ता एवं द्वितीय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो । 
 
दूतावासले सुरु गरेको अभियानमा कार्यवाहक राजदूत सागरप्रसाद फुँयाल सहित श्रम काउन्सिलर भेषबहादुर कार्की, द्वितीय सचिव कृष्ण अर्याल, श्रम सहचारी मोतिराम भुसाल, सेक्रेटरी आनस मोहमद मेहदी सहितको टोली हुनेछ । टाेलीले जेलमा पुगेर प्रतिवेदन तयार गर्नेछ ।
 
दूतावासले गएको हप्तादेखि जेल भ्रमण सुरु गरेको हो । नेपालीको अवस्था बारे जेलमा पुगेर प्रतिवेदन तयार गरी कुटनैतिक तवरबाट समस्या समाधान तर्फ काम गर्ने दूतावासको योजना छ ।
 
टोलीले सोमबार युएईको रसअल खेमा राज्यको जेल पुगेर नेपालीको अवस्थाबारे जानकारी लिएको थियो । त्यस जेलमा ४ जना नेपाली छन् । उनीहरु जेल सजाय भुक्तान गरे पनि अहिलेसम्म जेलमै छन् । त्यस विषयमा सम्बन्धित कम्पनीसँग छलफल गरिसकेको कार्यवाहक राजदूत सागरप्रसाद फुँयालले उज्यालोलाई बताउनुभयो । 
 
रसअल खेमाको जेलमा रहेका ४ नेपाली सबै पुरुष कामदार हुन । ती मध्ये दुई जना चोरी आरोपमा र दुई जना नक्कली कागजपत्र प्रयोग सम्बन्धमा जेल परेका हुन । रक्सी खाएर अनुमती बिना नचिनेका मान्छेको कोठामा पसेर सामान तोडफोड गरेकाहरु चोरी आरोपमा सजाय भोगिरहेका छन । रसअल खेमाको जेलमा श्रम सहचारी मोतिराम भुसाल र सेक्रेटरी आनस मोहमद मेहदी पुग्नुभएको थियो ।  
 
त्यस्तै दूतावासको टोली सोमबार सारजाहमा रहेकाे जेल भ्रमणका लागि गएको छ । श्रम काउन्सिलर भेषबहादुर कार्की नेतृत्वकाे टाेली नेपालीको अवस्था बुझ्न गएको दूतावासले जनाएको छ । यी दुवै जेल दूतावास रहेको ठाउँ आबुधाबी भन्दा झन्डै अढाई सय किलोमिटर भन्दा टाढा पर्छन् ।
 
भर्खरै कार्यभार सम्हालेका कार्यवाहक राजदूत फुँयालसमेत दुवईको जेलमा नेपालीको अवस्था बुझ्न जाने योजना छ । दुवईमा जेलमा रहेका अमरबहादुर बम लगायत अन्य ठूला मुद्दामा जेल परेका नेपालीको अवस्था बारे बुझ्न दुवई र आबुधाबी जेलमा कार्यवाहक आफैं जाने कार्यतालिका छ । 
 
दुतावासले गएको असारमा पनि युएईका सबै जेलमा पुगेर नेपालीको अवस्था बारे बुझेर सरकारलाई जानकारी गराएको थियो । त्यस बेला १ सय ९ जना नेपालीले युएईमा जेल सजाय भोगिरहेका थिए । यसवर्ष पनि दूतावासले आफ्ना नागरिकको विषयमा चासो देखाएर काम सुरु गरेकोमा नेपाली संघसंस्थाका प्रतिनिधिले प्रशंसा गरेका छन् । 
 
Published on: 5 February 2018 | Ujyaaloonline

Back to list

;