s

दूतावास भवन किन्ने योजना अलपत्र

चन्द्रशेखर अधिकारी

यहाँस्थित नेपाली दूतावासका लागि भवन खरिद गर्ने योजना अलपत्र परेको छ । अहिलेको राजदूत निवासमा दूतावास सार्ने र निवासका लागि नयाँ भवन किन्ने योजना भए पनि त्यसबारे टुंगो लागिसकेको छैन । यतिबेला तीन लाख डलर खर्च गरेर निवास मर्मत गरिँदैछ भने राजदूत अर्जुन कार्की भाडाको घरमा बसिरहेका छन् । 

सरकारले उपलब्ध गराउने रकमका आधारमा मात्र नयाँ निवास किन्ने/नकिन्ने टुंगो लाग्ने कार्कीले बताए । परराष्ट्रमन्त्री प्रकाशशरण महतले दूतावास निवासमा सारेर निवास खरिद गर्दा राम्रो हुने सल्लाह दिएको दूतावासका अधिकारीले बताएका छन् ।

निवास खरिद गर्न सकिएमा दूतावास पनि दुई खण्डमा परिमार्जन गरिने तयारी छ । कन्सुलरसम्बन्धी काम हाल दूतावास रहेको भवनको पहिलो तलाबाट हुनेछ । माथिको दुई तलालाई दुई कर्मचारी परिवारको निवास बनाइने अवधारणा दूतावासले परराष्ट्र मन्त्रालयलाई प्रस्ताव गरेको छ ।

अहिलेका दुवै भवन सरकारले दूतावास स्थापना गर्दैमा खरिद गरेको हो । ऋषिकेश शाह न्युयोर्कको स्थायी प्रतिनिधि र अमेरिकाको राजदूत हुँदा नै भवन आवास र चान्सरी खरिद गरेका थिए । त्यसपछि भवन खरिदको विषयमा कसैले चासो दिएन । अघिल्ला केही राजदूतले चासो देखाए पनि परराष्ट्र मन्त्रालय आफैं पछि हट्यो । चार वर्षयता सरकारले विदेशमा सम्पत्ति खरिद गर्न २ अर्ब रुपैयाँ बजेट छुट्याउँदै आएको छ । यो बीचमा मासिक ३ देखि ७ हजार डलरसम्म कर्मचारीले आफू बस्ने निवासको भाडा बुझाउँदै आएका छन् । दूतावासले सकेसम्म कुनै कर्मचारीलाई पनि भाडामा नराख्ने गरी भवन खरिद गर्दै जानुपर्ने सुझाव मन्त्रालयलाई दिएको छ । 

दूतावास नजिकैको कूटनीतिज्ञहरूको आवास क्षेत्रमै राजदूत निवास खरिद गर्ने सोच दूतावासको छ । ‘अहिलेको अमेरिका मात्र होइन, अन्य मुलुकमा पनि आफ्नो सम्पत्ति खरिद गर्ने प्रक्रियामा छलफल भइरहेको छ, छिट्टै हामी टुंगोमा पुग्छांै,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने ।

तर भाडाको ठूलो रकम बच्ने हुँदा पनि विभिन्न कानुनी अडचन देखाएर कर्मचारी पन्छिने गर्दा भवन खरिद अलमलमा पर्दै आएको हो । ‘यति लामो समयसम्म मन्त्रालयले यति धेरै भाडा तिरेर किन बस्यो ? किन भवन खरिद गरेन ? हामी अचम्मित छौं,’ केही राजदूतले भने । बैंककमा केही महिना अघिमात्र सम्पत्ति खरिद गरेका राजदूत खगनाथ अधिकारीले भने, ‘आफ्नै सम्पत्तिमा मुलुकको झन्डा राख्नुमा अर्कै गर्व हुन्छ ।’ सरकारले लामो समयपछि केही महिनाअघि मात्र थाइल्यान्डमा आफ्नो सम्पत्ति खरिद गरेको हो । कतिपय राजदूतले त पैसा पाएर पनि खरिद प्रक्रिया अघि नबढाई रकम फिर्ता गरेका छन् । वासिङ्टनमा सरकारका दुई भवन भए पनि राजदूत र चान्सरीबाहेक नहुँदा मासिक लाखौं रकम भाडामा जाने गरेको छ । १० हजार वर्ग फिटभित्र बनेको ६ वटा बेडरुम, करिब २ सय जनाका लागि रिसेप्सन दिन मिल्ने अत्याधुनिक भवन खरिदका लागि मन्त्रालयको पत्र लगत्तै दूतावासले बोलपत्र निकालेको छ । सबै मुलुकको दूतावासभन्दा राजदूत निवास नै ठूलो हुने र त्यहाँ नै धेरै काम हुने हुनाले निवासलाई महत्त्व दिँदै त्यस्तो गर्न लागिएको पनि दूतावासका एक अधिकारीले बताए । अघिल्ला राजदूत डा. शंकर शर्माको पालामा पनि आवास खरिदको कुरा उठेको थियो । तर परराष्ट्रका केही वरिष्ठ कर्मचारी नै आवास र चान्सरी खरिदको पक्षमा नहुँदा काम हुन सकेन ।

परराष्ट्र सचिव शंकरदास बैरागीले दूतावास तथा आवास भवन खरिद गर्दै जाने नीति रहेको बताए । अहिले अमेरिकामा भवन खरिदका लागि दूतावासले बाहिर ल्याएको बोलपत्रअनुरूपको भवन खरिद गर्न कम्तीमा ६० करोड पर्नेछ । तर सरकारले कस्तो भवन खरिद गर्ने भन्ने टुंगो लगाउन सकेको छैन । 

नेपालका राजदूतसहित तीन जना कूटनीतिकस्तरका कर्मचारी रहनेदेखि राजदूतसहित १९ जनासम्मको कूटनीतिक अधिकारी भएका दूतावास छन् । ती सबैमा आफ्नो चान्सरी र आवास खरिद गर्न राम्रो हुने सुझाव प्राय: सबै राजनीतिक तहबाट आएका राजदूतको रहन्छ तर कर्मचारीस्तरबाट त्यसमा काम हुँदैन ।


Published on: 24 February 2017 | Kantipur

Back to list

;