s

दूतावासको शरणमा सय हाराहारी महिला

महेश श्रेष्ठ 
 
विभिन्न प्रक्रियामार्फत घरेलु कामदार हुन साउदी आएका आप्रवासी नेपाली महिला घर फर्कन रियादस्थित नेपाली राजदूतावासको शरणमा आउन थालेका छन्।
 
साउदी सरकारले आममाफी घोषणा गरेको लामो समयसम्म सम्पर्कमा नआएका उनीहरु समय सकिन १० दिन बाँकी रहँदा दूतावासको शरणमा आएका छन्। राजदूतावासको शरणमा आएका सय हाराहारी महिलाले जुलाई ३ अघि नै स्वेदश फर्कन रोजगारदाताको घरबाट भागेर आएको बताएका छन्। राजदूत उदयराज पाण्डेका अनुसार मानसिक सन्तुलन गुमाएकी एक, गर्भवती दुई र एक शिशुकी आमासहित ९१ महिला दूतावासको शरणमा छन्। उनीहरुलाई नेपाली राजदूतावासले अहिलेसम्म खान, बस्न र औषधी उपचार सेवा उपलब्ध गराएको छ। उनीहरुलाई फर्कन पाउने अनुमतिपत्र पनि दूतावासले नै बनाइदिएको राजदूत पाण्डेले बताए। 
 
पाण्डेका अनुसार धेरैजसो महिला भागेर आएकाले बेखर्ची छन्। उनीहरुलाई स्वदेश फर्काउन आर्थिक स्रोत छैन। नेपालको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले गैरकानुनी रुपमा आएकालाई सहयोग नगर्ने भएकाले समस्या छ। बेखर्ची महिलालाई स्वदेश फर्काउन साउदीमा रहेका सामाजिक संघ–संस्था र व्यक्तिको सहयोग लिने गरिएको छ। जुलाई १८ मा दूतावासले बेर्खर्ची तीन महिलालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीको सहयोगमा स्वदेश पठाएको थियो। एनआरएनए साउदीका महासचिव जैबी राइ 'सुस्तरी'का अनुसार ती तीन महिलालाई स्वदेश फिर्न साउदी रियाल २ हजार ८६ को हवाई टिकट उपलब्ध गराइएको थियो। एक महिलालाई उनीहरुले रियादबाट १२ सय किलोमिटर टाढाको आब्बा खमिसबाट त्यहाँ कार्यरत शम्भुराज भट्टको सहयोगमा उद्धार गरी ल्याएका थिए। उद्धार गरिएकी पोखरा–१७ की २२ वर्षे पार्वती विकलाई २४ अप्रिलमा उनीहरुले राजदूतावासको जिम्मा लगाएका थिए। विक आफ्नै दाजुको साथीमार्फत भारतको दिल्ली हुँदै एक वर्षअघि साउदी आएकी हुन्। 
 
साउदी सरकारले घोषणा गरेको आममाफी अवधिभित्रै नेपाली महिलाको उद्धार गर्न एनआरएनए साउदीले अध्यक्ष पुरुषोत्तमदास श्रेष्ठ, जैबी राई, ध्रुव रिजाल, दिपक रेग्मी, कृष्ण पोखरेल, सनिता श्रेष्ठ र उषा केसी सम्मिलित सात सदस्यीय समिति गठन गरेको छ। उनीहरु विशेष गरेर दमाम, रियाद, जेद्धा र साउदीको पूर्वी क्षेत्रमा सक्रिय छन्। 
 
एनआरएनएकी सदस्य उषा केसी आफ्नो संस्थाले महिलाहरुको उद्धारमा लागिपरेको र सो क्रममा आफ्नै कोठामा राखेर सुरक्षा र सहयोग गरेको बताउँछिन्। 'महिला आफैंले सम्पर्क नगरेसम्म उनीहरुको उद्धार सम्भव छैन,' केसीले भनिन्। दूतावासको सम्पर्कमा आएका धेरैजसो महिला भागेर बाटोमा सहयोग माग्दै आइपुगेका हुन्। कतिपयलाई रोजगारदाताले पनि दूतावाससम्म ल्याइदिएका थिए। 'उनीहरुलाई आममाफी घोषणाबारे जानकारी नभएको हुनसक्छ नेपालमा रहेका आफन्तले खबर गरे अथवा हामीलाई सम्पर्क गरे उद्धार गर्न सहज हुन्थ्यो,' केसीले थपिन्।  
 
साउदी सरकारले जुलाई ३ सम्मका लागि घोषणा गरेको आममाफी अवधीमै घर फर्कन राजदूतावासमा दैनिक १० देखि १५ जना आउन थालेको राजदूत पाण्डेले जानकारी दिए। 'अब हाम्रो मात्रै क्षमताले धान्न नसक्ने भएको छ,' उनले भने। पाण्डे सरकारी तथा गैरसरकारी निकायले पर्याप्त वास्ता नगरेको गुनासो गर्छन्। सरकारले साउदीमा नेपाली महिलालाई घरेलु कामदार ल्याउन रोक लगाए पनि वर्षेनी ५ देखि १० हजार महिला भारतको बाटो भएर आउने गरेका छन्। यसरी आउनेको संख्या साउदीमा ५० हजारमाथि रहेको अनुमान छ। नेपाली कानुन विपरीत आएका महिलाको उद्धार गर्नुपर्दा राजदूतावासलाई कानुनी र आर्थिक समस्या हुने राजदूत पाण्डेले बताए।
 
Published on: 23 June 2013 | Nagarik

Back to list

;