s

दुर्गाको जीवन रक्षाको पहल

संयुक्त अरब इमिरेट्सको शारजहाँमा हत्या अभियोगमा मृत्युदण्ड फैसला सुनाइएका चित्रे-४, पर्वतका दुर्गाबहादुर सुनारको जीवन रक्षार्थ वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले बीउ रकम (सीड मनी) स्वरूप १ लाख रुपैयाँ दिने भएको छ ।

कुटपिटबाट मारिएका हाँसोपोसा-२, सिरहाका गणेशबहादुर बस्नेतको परिवारलाई क्षतिपूर्ति -ब्लड मनी) का लागि सुनार परिवारले दिने १० लाख रुपैयाँमा सहयोग पुर्‍याउन बोर्डले बीउ रकम सहयोग गरेको हो । अन्य रकम गैरआवासीय संघ-संस्थाबाट उठाउने गरी बीउ रकम राख्ने गरी निर्णय भएको परराष्ट्रको कन्सुलर शाखाका प्रमुख दिलीप पौडेलले कान्तिपुरलाई बताए । १४ जनवरी, २००९ मा बस्नेतको हत्या गरेको अभियोगमा थुनामा रहेका सुनारलाई त्यहाँको अदालतले मृत्युदण्डको फैसला सुनाएको हो । त्यहाँको कानुनअनुसार मृतकका परिवारले ब्लड-मनी स्वीकारेमा मृत्युदण्डको सजाय आजीवन कारावासमा बदलिन्छ ।

यसअघि कुवेतमा हत्या अभियोगमा मृत्युदण्ड सजाय सुनाइएकी डोल्मा शेर्मालाई परराष्ट्रले ४ लाख बीउ रकम र अरू रकम एनआरएनलगायत प्रवासी संघ-संस्था तथा व्यक्तिहरूले ब्लड-मनीका लागि सहयोग गरेका थिए ।

Published on: 29 August 2012 | Kantipur

Back to list

;