s

दुव्र्यवहार गर्ने कम्पनी कालोसूचीमा राखिने

सोलस्थित नेपाली दूतावासले मोक्फो क्षेत्रमा रहेको उनगाङ नामक कम्पनीलाई कालोसूचीमा राख्न त्यस क्षेत्रको रोजगार केन्द्र र श्रम तथा रोजगार मन्त्रालय काठमाडांैलाई पत्राचार गरेको छ । उक्त कम्पनीका सञ्चालक ओछाङ मीनले त्यहाँ कार्यरत तीन नेपालीलाई पटकपटक कुटपिट गर्नुका साथै मानसिक यातनासमेत दिएपछि दूतावासले उक्त कदम चालेको हो ।

सञ्चालक मीनले ती नेपाली कामदारलाई श्रम सम्झौताअनुसारको खानबस्न पनि दिएका थिएनन् । बरु उल्टै बत्ती र ग्यासको पैसा लिने गरेको र ईपीएसको नियम विपरीत न्यूनतम तलब कटौती गरेको गुनासो कामदारको छ । नेपाली कामदारलाई पटकपटक दुव्र्यवहार गरेपछि कालोसूचीमा राख्न सिफारिस गर्न दूतावास बाध्य भएको नेपाली दूतावासका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार सो सिफरिसपत्र एचआरडी कोरिया र सम्बन्धित कम्पनीलाई पनि पठाइएको छ ।

यहाँको एचआरडीले पनि कालोसूचीमा राखे उक्त कम्पनीले अन्य मुलुकका कामदारसमेत पाउने छैन । नेपालमा श्रम तथा रोजगार मन्त्रालयले ईपीएस शाखालाई सोको जानकारी गराएपछि उक्त कम्पनीले पुनः नेपाली कामदार माग गरे पनि पाउने छैन । फलामसँग सम्बन्धित सो कम्पनीमा तीन नेपाली कार्यरत थिए भने त्यसअघि कम्पनीका सञ्चालक मीनकै पिटाइले एक नेपाली कामदारको हात भाँचिएको थियो ।

Published on: 21 November 2012 | Kantipur

Back to list

;