s

दुलही बनाएर नेपाली युवतीको चीनमा तस्करी

कतै रोजगारी त कतै अन्य प्रलोभनमा भारतदेखि मध्यपूर्वसम्म नेपाली युवतीको तस्करीको डरलाग्दो जालो देखिएकै छ । आश्यर्चजनक रूपमा चीनमा पनि नेपाली युवतीको तस्करीको घटना सतहमा आएको छ ।

नेपाल प्रहरीको एक अनुसन्धानमा विवाह गर्ने प्रलोभनमा नेपाली युवती चीनमा तस्करी हुने गरेको खुलेको छ । घटनामा संलग्न उदयपुर त्रियुगा नगरपालिका– १ जोगीदहकी ३१ वर्षीया सुन्दरी राई पक्राउ परेपछि यो तथ्य खुलेको हो । उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

राईले सम्पन्न चिनियाँ युवासँग विवाह गराइदिने प्रलोभनमा नेपाली युवती चीन लैजाने र प्रतियुवती एक लाख ५० हजार रुपैयाँमा बिक्री गर्ने गरेको खुलेको छ । उनले चीन पठाएका दुई युवतीलाई प्रहरीले चीनस्थित नेपाली दूतावासबाट उद्धार गरेको छ ।

ब्युरोका प्रवक्ता एसपी गौतम मिश्रले नेपाली युवतीलाई बेहुली बनाएर चीन लैजाने र उतै बिक्री गर्ने तथ्य खुलेको बताए । ‘आर्थिक रूपमा सम्पन्न चिनियाँ युवासँग विवाह गराइदिने प्रलोभनमा नेपाली युवतीलाई जम्मा गर्ने र भिजिट भिसामा चीन लैजाने गरिँदोरहेछ । र, युवतीलाई उतै बिक्री गर्ने रहेछन् । धन्दामा संलग्न एक महिला पक्राउ परेकी छिन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।

प्रहरीका अनुसार धन्दामा संलग्न राई आफैँले पनि चिनियाँ युवासँग विवाह गरेकी छिन् । उनी १० वर्षदेखि चीनमै रहँदै आएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत नेपाली युवतीसँग सम्पर्क गर्ने र अनेक प्रलोभन दिएर युवतीलाई नजिक पार्ने गरेको अनुसन्धानमा खुलेको छ । र, धनी चिनियाँ युवासँग विवाह गर्न प्रोत्साहित गर्थिन् । विवाह गर्न इच्छुक युवा सम्पन्नशाली रहेको प्रमाणित गर्न उनले सामाजिक सञ्जालमार्फत ठूला–ठूला घर र आलिसान जीवनशैलीको दृश्य देखाउँथिन् ।

अनुसन्धानमा पाइएअनुसार युवती विवाह गर्न राजी भएपछि उनी चिनियाँ युवासहित नेपाल आउँथिन् । युवतीसँग चिनियाँ युवाको भेट गराइदिन्छिन् । विवाह गर्न राजी भएपछि भिजिट भिसाको सबै प्रक्रिया मिलाउँथिन् । युवतीलाई युवासँगै जहाजमार्फत चीनको विकट गाउँ पुर्‍याउँथिन् । र, बिक्री गरेर सम्पर्कविहीन बन्थिन् ।

ब्युरोका प्रवक्ता एसपी मिश्रले सोही तरिका अपनाएर राईले अन्य नेपाली युवती पनि चीन लगेर बिक्री गरेको सूचना प्राप्त भएको बताए । ‘उनले आफैँले चिनियाँ युवासँग विवाह गरेकी रहिछिन् र चीन नै बस्ने रहिछिन् । सामाजिक सञ्जालमार्फत नेपाली युवतीसँग सम्पर्क बढाउने रहिछिन् । र, विवाहको प्रस्ताव गर्ने रहिछिन्,’ उनले भने, ‘विवाह गर्न चाहने युवा भन्दै नक्कली दुलाह खडा गर्ने रहिछिन् । धनी भएको प्रमाणित गर्न ठूला–ठूला घर र आलिसान जीवनशैलीको दृश्य सामाजिक सञ्जालबाट देखाउने रहिछिन् । यसरी यिनले धेरै नेपाली युवतीलाई चीन लगेर बिक्री गरेको सूचना प्राप्त भएको छ ।’

प्रहरीका अनुसार उद्धार गरिएकी एक युवती मकवानपुरकी हुन् भने अर्की सिन्धुपाल्चोककी हुन् । मकवानपुरकी युवतीले निर्माणाधीन काठमाडौं–तराई दु्रतमार्गमा मजदुरी गर्ने चिनियाँ युवासँग विवाह गर्ने योजना बनाएकी थिइन् । चिनियाँ युवासँग युवतीको राईमार्फत नै भेट भएको थियो । युवाले युवतीलाई जब चीन पुर्‍याए, त्यसपछि यौन हिंसा र शारीरिक यातना सुरु गरे ।

पीडा बढ्न थालेपछि युवती नेपाल फर्कन चाहिन् । तर, एक लाख ५० हजार रुपैयाँमा खरिद गरिएको भन्दै युवाले युवतीलाई बन्धक बनाए । युवतीले उद्धारका लागि सामाजिक सञ्जालमार्फत गुहार मागिन् । त्यसपछि ब्युरोले उद्धारको कार्य अघि बढायो । उनलाई चीनको विकट गाउँबाट ९ असारमा उद्धार गरी नेपाल ल्याएको थियो ।

सिन्धुपाल्चोककी युवतीसँग पनि राईले नै चिनियाँ युवा भेट गराइदिएकी थिइन् । दुलहीका रूपमा चीन लगेपछि युवाले युवतीलाई यौन र शारीरिक हिंसा गरेका थिए । उनलाई पनि राईले एक लाख ५० हजार रुपैयाँमा नै बिक्री गरेकी थिइन् । उनलाई पनि ब्युरोले उद्धार गरी नेपाल ल्याएको हो । घटनामा संलग्न राई नेपाल आएको सूचनापछि प्रहरीले निगरानी बढाएको थियो । सोही क्रममा उनलाई प्रहरीले ११ असारमा पक्राउ गरेको थियो ।

Published on: 28 June 2024 | Naya Patrika

Link

Back to list

;