s

दुलही बनाएर चीनतर्फ ‘तस्करी’

दुर्गमका चेलीलाई आर्थिक प्रलोभनमा पारी चिनियाँसँग बिहे गराएर पठाउन एजेन्टहरु सक्रिय देखिएका छन् । यसलाई मानव तस्करीकै नयाँ स्वरुप मानेको प्रहरीले गत बुधबार मात्र चार चिनियाँसहित ६ नेपालीलाई पक्राउ गरेको छ ।

जनकराज सापकोटा

‘बिबिरानी’ भनिने रिना तामाङलाई देख्नेहरूले चिनियाँ ठान्छन् । चिनियाँ भाषा राम्रै बोल्छिन् । सिन्धुपाल्चोक, हेलम्बु–२ की उनले पाँच वर्षअघि एउटा म्यारिज ब्युरोमार्फत चिनियाँ नागरिकसँग बिहे गरेकी थिइन् । तर पतिको मृत्यु भयो । त्यसपछि उनी नेपाल–चीन बरोबर आउजाउ गरिरहन्थिन् ।

यिनै बिबिरानीलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गत बुधबार पक्राउ गर्‍यो । आरोप छ– उनले म्यारिज ब्युरोका नाममा नेपाली गाउँले चेलीलाई चिनियाँ नागरिकसँग बिहे गराउने धन्दा चलाएको । ब्युरोले यो कामलाई मानव बेचबिखनको नयाँ स्वरूपका रूपमा अर्थ्याएको छ ।

पक्राउ पर्नेमा रोज तामाङ र अन्य चार नेपाली एजेन्ट पनि छन् । उनीहरूमाथि दुर्गम भेगमा गएर चेलीहरू खोज्ने, चिनियाँ एजेन्टसँग मिल्ने र बिहे गराई चीन पठाउने काममा मुख्य भूमिका खेलेको आरोप छ । प्रहरीले उनीहरूसँगै काठमाडौंमा बसेका दुई चिनियाँ एजेन्ट र नेपाली चेली बिहे गर्न आएका अन्य दुई चिनियाँलाई पनि पक्राउ गरेको छ । तीमध्ये जंग सियाङ दोङ र जाङ दोङ एजेन्ट हुन् भने छुवान झान फंग र छिन लियाङ बिहे गर्न आएका हुन् । प्रहरीले सबैलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ । बिबिरानीको सम्पर्क काठमाडौंबाट गाउँसम्म फैलिएको पाइएको छ । उनी र लमजुङ, बेंसीसहरकी पार्वती गुरुङ कुनै बेला काठमाडौं, टोखाको एउटै घरमा भाडामा बस्थे । चिनियाँसँग बिहे गर्ने नेपाली केटी खोज्न सके ८० हजार रुपैयाँ पाइने बिबिरानीको प्रलोभनले आर्थिक संकट झेलिरहेकी पार्वतीलाई लोभ्यायो । प्रहरीका अनुसार पार्वतीले केहीअघि आफ्नै एक छोरीसमेत चिनियाँ नागरिकसँग बिहे गरेर पठाएकी छन् ।

बिबिरानीको प्रलोभनपछि पार्वतीले लमजुङ घर भई टोखामै बस्ने अमृता गुरुङलाई गाउँबाट केटी खोजेर ल्याउने प्रस्ताव राखिन् । एक केटीबापत ८० हजार मिल्ने र ४०–४० हजार बाँड्ने उनको सर्त थियो । अमृताले केटी खोज्ने काम लमजुङ, बेंसीसहरकै भरत तामाङलाई लगाइन् । भरतलाई उनले एउटी केटीबापत ४० हजार मिल्ने र २०–२० हजार आफूहरूले बाँड्ने बताइन् । भरतले बेंसीसहरमै होटलमा काम गर्ने कमजोर आर्थिक अवस्थाकी एक युवतीलाई ‘चिनियाँसँग बिहे गरे महारानी बन्न पाइने’ भन्दै प्रलोभनमा पारे । अमृताले पनि आफ्नो सम्पर्क प्रयोग गरी सुनसरी र चितवनबाट थप एक–एक जना खोजिन् ।

पहिलो लटमा बिबिरानीले तीन युवतीलाई चिनियाँसँग बिहे गराएर लैजाने योजना बनाएकी थिइन् । गत बुधबारका लागि काठमाडौं–कुनमिङ उडानको टिकटसमेत काटिसकेकी थिइन् । युवतीहरू काठमाडौं आएर पार्वतीको कोठामा बसिसकेका थिए । स्थानीय तहको सिफारिसपत्रका आधारमा कोर्ट म्यारिजसमेत गरिसकेका थिए । उड्न ठिक्क परेका तीनमध्ये एक युवती बीचमै मन बदलेर सुटुक्क गाउँतिर भागेपछि चिनियाँको बिहे धन्दा बाहिर आएको थियो । गाउँ फर्केपछि ती युवतीले चिनियाँसँग बिहे गरेर चीन जान लागेको तर अन्तिम अवस्थामा फर्केर आएको कुरा साथीलाई बताइन् । साथीले घटनाबारे प्रहरीमा सम्पर्क गरिदिए । त्यही सूचनाका आधारमा ब्युरो टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो ।

त्यही बेला प्रहरीले त्यस्तै प्रकृतिको अर्को टोली पनि फेला पार्‍यो । झन्डै डेढ वर्षयता ठमेलको ज्याठा क्षेत्रमा बस्दै आएका जंग सियाङ दोङ आफूलाई बुद्धचित्त मालाको कारोबारी बताउँथे । उनको भित्री काम थियो– नेपाली चेली खोज्ने र चिनियाँसँग बिहे गराएर कमिसन असुल्ने । बेलाबखत सोल्टी होटलमा रातभर क्यासिनो खेल्ने उनी बिहानीपख होटलनजिकैको मसाज पार्लर छिर्थे । त्यही क्रममा त्यहाँ काम गर्ने उषाकुमारी घिमिरेसँग उनको चिनजान भयो । बाँकी कामको खोजीमा दक्षिण कोरिया गएका श्रीमान् उतैबाट अमेरिका हान्निएर सम्पर्कविहीन भएपछि उषा एक्ली भएकी थिइन् । त्यही एक्लोपनको फाइदा उठाउँदै जंगले उनलाई पनि केटी खोज्ने काममा तान्न सकेका थिए । प्रहरीका अनुसार एजेन्टहरूले केटी खोज्ने र चीनमा रहेका बिहे गर्न इच्छुकसँग भिडियो कल गराउने गर्थे । गाउँबाट काठमाडौं ल्याइएका चेलीलाई भडकिलो मेकअप, आधुनिक देखिने खालको पहिरन लगाउन लगाएर भिडियो कलमा उपस्थित गराउने गरिएको देखिन्छ । सबैजसो युवतीसँग आफूले कोसँग बिहे गर्न लागेको हो, चीनको कुन सहर जाने हो भन्ने सामान्य जानकारीसम्म देखिँदैन ।

प्रहरीका अनुसार बिहे गराइदिएबापत बिबिरानी र जंगजस्ता एजेन्टले दस लाख रुपैयाँसम्म लिने गरेको पाइएको छ । यही पैसा उनीहरू बिहेको कागजी प्रक्रिया पूरा गर्न, कपडा, टिकट खरिद गर्न र एजेन्टलाई दिन खर्चन्थे । बाँकी रकम आफूले लिन्थे । कागजी प्रक्रिया सबै पूरा भए पनि विभिन्न एजेन्टहरूको भूमिका, उनीहरूबीचको कुराकानी, आर्थिक चलखेलका आधारमा प्रहरी यो मानव–तस्करी नै रहेको निष्कर्षमा पुगेको छ ।

‘नेपाल आएको एक साता नबित्दै भाषा नमिल्ने, दोहोरो संवाद पनि नभएका केटाकेटीबीच बिहे भएको देखिन्छ । यस्तो बिहेमा विभिन्न एजेन्टको भूमिका देखिन्छ,’ ब्युरोका एसएसपी ईश्वरबाबु कार्कीले भने, ‘आर्थिक कारोबार पनि भएको छ भने यसलाई बिहे मात्रै मान्न सकिँदैन ।’

प्रहरीका अनुसार एजेन्टहरूले युवतीका बाबुआमालाई समेत विश्वासमा लिन ज्वाइँले दिएको भन्दै ५० देखि ६० हजार रुपैयाँसम्म दिएको देखियो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले यो टोलीले यसअघि पनि यसैगरी कागजी प्रक्रिया मात्रै पुर्‍याएर कैयौं नेपाली चेलीलाई चीन पुर्‍याएको हुन सक्ने बताए । यस्ता धेरै युवती चर्को श्रम र यौन शोषणमा पर्ने जोखिम उच्च देखिन्छ । प्रहरीका अनुसार चिनियाँ समाजमा बिहे खर्च महँगो हुने र केही समयअघिको एक बच्चाको नीतिका कारण छोरी कम र छोराको संख्या धेरै भएकाले बिहेका निम्ति केटी अभाव देखिन्छ । यही कारण चिनियाँहरू केटी खोज्दै नेपाल, भियतनाम र कम्बोडियासम्म पुग्ने गरेका छन् । ब्युरोका अनुसार पछिल्लो समय भियतनाम र कम्बोडियाले कडाइ गर्न थालेपछि चिनियाँ नेपाल आउन खोजेका हुन सक्छन् ।

Published on: 31 August 2019 | Kantipur

Back to list

;