s

दुखीलाई दुःखकै भारी

कठिन संघर्षका साथ १२ कक्षामा पढ्दै गरेका सिन्धुपाल्चोकका सुमन तामाङको थोरै पैसा भए पनि स्वदेशमै रोजगारी गर्ने इच्छा थियो। तर त्यस्तो रोजगार स्वदेशमा मिलेन। बेरोजगार बसेर घर नचल्ने भएकाले उनलाई बिदेसिनुको विकल्प थिएन।

घरखर्च चलाउन धौधौ परेको र पढ्न समेत पैसा नभएको हुँदा उनी रोजगारीका लागि भारत गए। उनको परिवारलाई चहलपहल गराउन त्यहाँको कमाइले कहिल्यै पुगेन, घरको चुलो बलेन। परिवारको खुसीका लागि फेरि तामाङले हरेक रात मन डुलाउन थाले।

भारतको कमाइले नपुगेपछि उनले खाडी मुलुक जाने मनसाय बनाए। केही साथीभाइले खाडी मुलुकमा गएर काम गरी फर्केपछि नेपालमा घरघडेरी खरिद गरेको देखेका उनको मन त्यतै मोडिन थाल्यो। उनले भारतका गल्लीमा पसिना चुहाउनुभन्दा हवाईमार्गको यात्रा गरेर खाडी मुलुकमा जाने र केही पैसा कमाउने सपना बुने। आफूले चाहेजति पढ्न, लेख्न नसके पनि परिवारका सदस्यलाई सहजै पालनपोषण गर्न सकिने आशाले खाडी मुलुकमा जाने निर्णय गरेको उनले बताए। ‘भारतमा काम गरेर पैसा जोहो गर्नु त परैको कुरा भयो, सामान्य घरखर्च टार्न पनि सकिएन,’ उनले भने।

आमा बिरामी हुँदा र घरखर्चका लागि लिएको ऋण झन्डै ३ लाख रूपैयाँ पुगेको थियो। ऋण तिर्न पनि भारतबाहेक अर्को मुलुक जानुपर्ने बाध्यता थियो। खेतबारीको उत्पादनले दुईतीन महिना खान पनि धौधौ हुने उनलाई खर्च जुटाएर विदेश जानु पहाड ढाल्नुजत्तिकै थियो।

महिनैपिच्छे ब्याज तिर्नेगरी ६ लाख ५० हजार रूपैयाँ ऋण लिएर उनले अजरबैजान जाने योजना बनाए। काठमाडौंस्थत एक एजेन्टमार्फत यही साउन १४ गते अजरबैजान उड्ने उनको योजना थियो। ‘अजरबैजान जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि म त्यहाँ गएर मजाले पैसा कमाउँदै गरेको कल्पनामा डुब्दै थिएँ,’ उनले भने, ‘विमानस्थलबाहिर परिवारजनसँग बिदावारी भएर भित्र गएका मसमेत केहीको सबै कागजात खोसियो। किन के भयो? किन सबै कागजात लिएको हो भन्दा उत्तर आयो–तपाईंहरू घर फर्किनुहोला, विदेश जान पाउनु हुन्न। भिषा र श्रमसम्बन्धी कागजात सबै नक्कली छ।’

उनले थपे, ‘मेरा हातखुट्टा काप्न थाले, चिटचिट पसिना बग्न थाले। दुखीलाई नै दुःखले लखेट्ने किन होला भन्ने मनमा आयो? रातको समयमा कहाँ गएर बस्ने भन्ने चिन्ता पनि लाग्यो।’

यसरी उनी विदेश जानबाट रोकिए। ‘बिदेसिन नपाउँदाको पिरलोमा रहेका अन्य साथीभाइको पछि लागेर राति होटेलमा पुगें। त्यो रात पूरै वर्ष झै लाग्योे,’ उनले भने।

त्यस दिन अजरबैजान जान लागेका १४ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको मानव बेचविखन अनुसन्धान ब्युरोका एसपी नरहरि रेग्मीले बताए।

बिदेसिने तयारीमा रहेका तामाङलाई अजरबैजानमा के काम गर्ने भन्नेसम्म थाहा थिएन। तामाङले अजरबैजान जानका लागि पैसा बुझाएका एजेन्ट पनि गायब छन्। ‘दिनरात के हो? भोक पनि लाग्दैन। पैसा दिएको एजेन्ट गायब छ। फोन अफ छ, सम्पर्क छैन। कसलाई समाउने? म कहाँ जाऊँ,’ तामाङले भने। उनी डिप्रेसनमा जान लागेको देखेर घरपरिवारका सदस्य चिन्तामा छन्। विदेश जान नपाएपछि ऋण दिएका साहुले पनि पैसा फिर्ता माग्न थालेको उनले बताए।

स्वदेशमा धेरै बेरोजगार छन्। सरकारले बेरोजगारलाई रोजगारी दिन नसक्दा नेपालमाबाट दैनिक करिब तीन हजार युवा बिदेसिन्छन्। बिदेसिने क्रममा उनीहरू ठगिने घटना पनि बढिरहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान ब्युरोले विदेशमा हुनसक्ने जोखिमबाट बच्न युवालाई परामर्श दिन्छ, कागजपत्र नमिलेको र नक्कली भएर विदेश जानबाट रोक्छ। भिसा तथा नक्कली श्रम स्वीकृति भएका तथा मानव बेचबिखनमा पर्न सक्ने शंका भएका व्यक्तिलाई विदेश जानबाट रोक्ने गरेको ब्युरोका एसपी रेग्मीले बताए।

उनले भने, ‘हाम्रो चाहना कोही पनि विदेश गएर दुःखको भूमरीमा नपरून् भन्ने हो। केही सिप नभईकन आफूले नदेखेको ठाउँमा जान हुन्न भनी विभिन्न तरिकाले परामर्श दिँदै आएका छौं।’ विशेष गरी सिप नभएका र नपढेका विदेश गएपछि विभिन्न समस्यामा पर्ने गरेको उनले बताए।

ब्युरोका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन १७ गते पनि बिदेसिन लागेका ३३ जनालाई विभिन्न परामर्श दिएर फर्काइएको थियो। साउन १ देखि १७ गतेसम्मको अवधिमा त्रिभुवन विमानस्थलबाट विदेश जान लागेकामध्ये शकांस्पद कागजात भएका ४ सय ६८ जनालाई परामर्श दिई फर्काइएको छ।

गत असारमा ९ सय ८३ जना, जेठमा ९ सय ८८ जना, वैशाखमा ३ सय १४ जना, चैतमा ६ सय ५३ र फागुनमा ५ सय ५७ जनालाई विमानस्थलबाट फर्काइएको छ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका ३४ जनालाई पनि जोखिममा पर्ने देखेर फर्काइएको छ।

Published on: 4 August 2023 | Nagarik

Link

Back to list

;