s

दुःखको घर कतार

'विश्वकप फुटबल २०२२ खेल्ने खेलाडीको संख्याभन्दा बढी विश्वकपको भौतिक पूर्वाधार निर्माण गर्दा कामदारको मृत्यु हुने छ,' कतारमा काम गर्दैगर्दा गत वर्ष मृत्यु भएका २ सय नेपाली कामदारको संख्या उद्धृत गर्दै अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघकी महासचिव शारन बुरोले भनेकी थिइन्, 'फिफाले विश्वकप गर्ने अवसर यस्तो देशलाई दिएको छ, जसले कामदारलाई आधुनिक युगका दासको रुपमा व्यवहार गर्छ।' 

बुरोले कतारमा आप्रवासी कामदारमाथि हुने गरेको शोषणलाई कामदार मृत्युको प्रमुख कारण मानेकि छन्। पछिल्लो समय कतार अदक्ष नेपाली मजदुरको प्रमुख रोजगार गन्तब्य बनेको छ। गत वर्षमै १ लाख ५ हजार ६ सय ८१ नेपाली वैधानिक बाटोबाट कतार पुगेका छन्। तीन वर्षमा कतार जाने नेपालीको संख्या दोब्बरले बढेको छ। आर्थिक वर्ष ०६७/०६८ मा लाख हजार सय ६६ जना र त्यो भन्दा अघिल्लो वर्ष २०६६/०६७ मा ५५ हजार सय ४० जना कतार गएका थिए। नेपाली कामदार संख्या बढ्नुको मुख्य कारण विश्वकपको भौतिक पूर्वाधार निर्माणमा भएको वृद्धि हो। 
कतारमा ५ देखि ६ लाख नेपाली कामदार रहेको अनुमान छ। यो कतारमा रहेको कुल आप्रवासी कामदार संख्याको आधा हो। नेपाल, भारत, बंगलादेश र पाकिस्तानसहित दक्षिण एशियाली देशका १२ लाख कामदारले कतारको निर्माण क्षेत्र धान्दै आएका छन्। 

कतार जाने ४ नेपाली मध्ये ३ जना निर्माण क्षेत्रमा काम गर्छन। '७५ प्रतिशत नेपाली कामदार निर्माण क्षेत्रमा काम गर्न जान्छन्। बाँकी सेवा क्षेत्रमा काम गर्छन,' नेपाल बैदेशिक रोजगार व्यवसायी संघका द्वतीय उपाध्यक्ष कुमुद खनालले नागरिकसँग भने, 'निर्माण क्षेत्रको कामलाई कतारमा मात्रै होइन नेपालमै पनि थि्र डि(डिमिनिङ, डर्टी र डेन्जरस) मानिन्छ।' नेपाली कामदार विश्वकप फुटबल सफल बनाउन मरुभूमीमा पसिना बगाउँदै छन्। 
कतारमा भौतिक पूर्वाधार तथा खेलस्थल निर्माण जोडतोडसाथ चलिरहेको छ। सरकारले विश्वकप लक्षित गरी १ खर्ब अमेरिकी डलर खर्च गर्ने योजना बनाएको छ। त्यसमा नौ फुटबल मैदान मात्रै नभएर र त्यससँग सम्बद्ध भौतिक पूर्वाधार विकासमा खर्च गरिने बताइएको छ। कतारमा कामदारले प्राप्त गर्ने सेवा, सुविधा र अधिकार अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभएको भन्दै विश्वका ट्रेड युनियन तथा मानवअधिकारवादी संस्थाले विरोध गर्दै आएका छन्। 


अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइट वाचले कतारको निर्माण क्षेत्रका आप्रवासी कामदारलाई दिँदै आएको न्युन ज्याला र कामदारको अवस्थाप्रति कटाक्ष गर्दै २०२२ को विश्वकप फुटबल प्रतियोगिता 'शोषण तथा दुःखको भाँडो भित्र' हुन लागेको भन्दै आलोचना गरेको छ। वाचको प्रतिवदेनमा भारत, नेपाल, पाकिस्तान, बंगालदेश र अन्य दक्षिण एशियाली देशका कामदारलाई जबरजस्ती काममा लगाइएको, कम ज्याला दिएको, साँगुरो फोहोर ठाउँमा कोचाकोच गरि राखेको र कतार पुग्ने वित्तिकै उनीहरुको मानवअधिकार उल्लंघन हुने गरेको भनिएको छ। 

कतार विश्वका धनी देश मध्येमा पर्छ। वाचले कतार सरकारले विश्वकप आयोजना गर्ने बेला फिफासँग गरेको प्रतिवद्धताअनुसार कामदारको अवस्था सुधार नगरेको जनाएको छ। जुन तथा जुलाई(सन् २०२२ गृष्म)मा हुने विश्वकपमा खेलाडी तथा त्यसका समर्थकलाई गर्मीले असर गर्ला भनेर कतारले चासो व्यक्त गरेको छ। तर, उसले दिनदिनै काममा खटिने कामदारबारे चासो नदेखाएको भन्दै वाचले आलोचना गरेको छ। 
वाचले कतारमा रहेका आप्रवासी कामदारको बिषयमा वृहत प्रतिवदेन जुलाइमा प्रकासित गरेको थियो। त्यसमा केही कामदारले स्वच्छ पिउने पानी वा हावा प्राप्त नगरेको जनाएको छ। गर्मीको कारण धेरै कामदार विरामी पर्ने गरेको बताइएको छ। गत वर्ष मात्रै कतारमा २ सय नेपालीको मृत्यु भएको दुतावासले जनाएको छ। 
'सरिया कानुनअनुसार चल्दै आएको कतारमा मानवअधिकारलाई खासै ध्यान दिएको पाइँदैन,' उपाध्यक्ष खनालले भने। 

मानवअधिकारवादी र ट्रेड युनियनहरुले कतारमा कामदार शोषणको मुख्य कारण काफाला व्यवस्था भएको औल्याउँदै आएका छन्। काफाला अनुसार कामदारले मालिक परिवर्तन गर्न पाउँदैनन्। कतारमा एउटा रोजगारदाताबाट अर्कोमा परिवर्तन हुने घटनालाई वाचले 'अपवाद' भनेको छ। आप्रवासी कामदारले कतार छाड्न पनि सो देश लैजाने मालिकको स्वीकृतिलाई अनिवार्य गरेको छ। वाचले मालिकले कामदारको पासपोर्टनै खोसेर राख्ने कार्यलाई नियमित गतिविधि भनेको छ। वाचअनुसार खाडी क्षेत्र मध्ये कतारमा कामदारको स्पोन्सनरशीप सबैभन्दा कडा छ र त्यसले जबरजस्ती काममा लगाउने र मानव ओसारपसारको गम्भीर समस्या उत्पन्न गराएको छ। वाचले भनेको छ- विश्वकप २०२२ को विश्वकप ठूलो परियोजना प्रारम्भ गर्दा पनि सरकार(कतार) कानुनी तथा नियमन ढाँचा निर्माण गर्ने कुरालाई सम्बोधन गर्न असफल भएको छ।' कतारमा कामदार संगठित हुन पाउँदैनन्। त्यहाँ न्युनतम ज्याला सम्बन्धी कुनै कानुनी व्यवस्था छैन । 

 Published on: 6 February 2013 | Nagarik

Back to list

;