s

दुईथरी करारले श्रमिकलाई मार

वैदेशिक रोजगारीमा मलेसिया जाँदा मकवानपुरका भीम खड्कालाई म्यानपावर कम्पनीले दुईवटा करार पत्र थमायो। भनियो, 'एउटा विमानस्थलमा देखाएपछि च्यातिदिनू अर्को सँगै लैजानू।'   

'मलाई मेनपावरको मान्छेले दुइटा कागज दिएको थियो। एउटा प्लेन चढ्ने बेला देखाएँ र फालिदिएँ, अर्को खल्तीमा राखें,' राजधानीकै एक म्यानपावर कम्पनीबाट मलेसिया पुगेर फर्किएका उनले भने।म्यानपावरले दिएका यस्ता कागजभन्दा पनि उनको ध्यान छिट्टै पुगेर काम सुरु गर्ने भन्नेमा थियो। हरेक देशमा काम गर्न जाँदा यस्तै नियम भएको जवाफ कम्पनीबाट पाएको उनले बताए। त्यसैले उनले ती कागजबारे बढी बुझ्न चाहेनन्।
१० जनाको समूहमा पुगेका उनीहरूले सो कागजबारे एकले अर्कालाई सोधेनन््। आफ्नै नाता पर्नेको कम्पनीबाट विदेश जान हतारिएका उनीहरूले कुनै शंका पनि गरेनन्। 'मलेसिया पुगेपछि कयौं दिन त भोकै बस्नुपर्यो , म्यानपावरले भनेजस्तो न कुनै कम्पनी लिन आयो, न त बस्ने ठाउँ नै पाइयो,' खड्काले आफ्नो कथा सुनाए, 'बल्ल बल्ल साथीले काम खोजिदिए। काम निकै गाह्रो, अनि फर्किएँ।' 
सिन्धुपाल्चोकका राजु तामाङ कतार जाँदा पनि यस्तै दुइटा कागज हात परेको थियो। 'म्यानपावरले मलाई जाने दिन एउटा कागज देखाए, जुन एयरपोर्टबाहेक कतै नदेखाउनु भनको थियो। अर्को नहराउनु भनेको थियो,' उनले भने। 
पैसा कमाउने सपना बोकेर उता पुगे पनि सहमति गरेजस्तो काम नभेटेको उनले सुनाए। 'लेखिएको काम पाइएन, कसैलाई भन्न पनि सकिनँ,' उनले भने, 'सकी नसकी दुई वर्ष बिताएर आएँ।' 
म्यानपावर कम्पनी र दलालले कम तलब भएको कागज देखाए, विमानस्थलमा प्रवेश गर्न दिँदैनन् भनेपछि बाध्य भएर यस्तो कागज बोकेको उनले बताए। 'उतिबेला हाम्रो तलब चार सय रियाल थियो, पाँच सय ५० न्युनतम तलब नभएकालाई वैदेशिक रोजगारमा नपठाउने नियम रहेछ,' दुइटा सहमति पत्र थमाउनुको रहस्य उनले खोले। 
दोहोरो कागजको फन्दामा परेका काभ्रेका विजय लामाले मलेसियामा ४ वर्ष लुकेर बस्नुपर्यो । 'उता पुग्दा भनेजस्तो काम पाइएन, विवाद भएपछि त्यहाँको एजेन्टले मेरो पासपोर्ट खोसे,' लामाले भने, 'मजस्ता धेरै साथी थिए, लुकीलुकी बसेर बल्लतल्ल नेपाल फकर्ंे।'
वैदेशिक रोजगारीमा प्रत्यक्ष नदेखिएको तर प्रमुख समस्या बनेको छ- दुईथरी करार। यसले गर्दा म्यानपावरले सम्झौता अनुसारको रोजगार कम्पनी, काम र तलबसमेत फरक पर्ने गरेको पीडितहरू बताउँछन्। 
दोहोरो करारकै कारण वर्षेनी हजारौंले दुःख पाउँछन्। यस्ता समस्या र गुनासो विदेशमा रहेका दूतावासमार्फत आउने गरेको वैदेशिक रोजगार विभाग बताउँछ। तर चर्को ब्याजदरमा ऋण लिएर रोजगारीमा जान तयार भएकाले यसबारे विवाद झिकिरहन मन गर्दैनन्। 
पछिल्लो समयमा थालिएको वैदेशिक रोजगार सुधारको मुख्य पक्ष दोहोरो करार पनि रहेकाले यस्ता उजुरीमा विभागले गम्भीरता साथ कारबाही गरिरहेका विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले बताए। कारबाही थालेपछि उजुरी बढेका छन्। 'धेरै गुनासा र उजुरी आएका छन्, हामीले कारबाही थालेका छौं,' उनले भने। 
दोहोरो करारसम्बन्धी समस्यालाई चरणबद्ध रूपमा हेरिरहेको उनले बताए। हाल कतार, कुबेत र मलेसियामा जाने कामदारमा यस्तो समस्या घट्दै आएको छ। साउदी अरबमा जानेहरूमा भने यो समस्या बढी देखिएको विभागमा जानकारी प्राप्त हुने गरेको उनले स्वीकारे। 
'विभागले यस्तो समस्या हटाउन सक्कल कागजातको भेरिफिकेसन, दूतावासको प्रमाणीकरण, कम्पनीसँग बुझ्ने र एयरपोर्टमा निगरानी राख्ने जस्ता प्रयास गर्दै आएको छ,' महानिर्देशक भट्टराईले भने।
दोहोरो करारको कागज दिने म्यानपावार कम्पनीलाई नक्कली कागजातसम्बन्धी मुद्दा लगाई एक लाखसम्म जरिवाना र कामदारलाई क्षतिपूर्ति दिन लगाउने विभागले जनाएको छ। 'दोहोरो कागज लिएर विदेश जाँदा अनेकौं कानुनी अड्चन आउन सक्छन्। शोषण र अन्य समस्या बेहोर्नु पर्ने परिस्थिति आउनेतर्फ सजग हुनुपर्छ,' भट्टराईले भने, 'विदेश जानुअगावै आफ्ना कागजातबारे राम्रोसँग जाँच गरे, यस्ता समस्याबाट बच्न सकिन्छ।' 

Published on: 15 August 2012 | Nagarik

Back to list

;