s

दुई सय नेपाली युवासँग १३ करोडभन्दा धेरै ठगी

थाइल्यान्डबाट डिपोर्ट गरिएका पर्शुराम गुरुङ काठमाडौंमा पक्राउ

टेकराज थामी

थाइल्यान्ड बसेर दुई सय नेपाली युवासँग १३ करोड रुपैयाँभन्दा धेरै ठगी गर्ने भोजपुर हेलौचा–३ का पर्शुराम गुरुङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएका प्रहरी टोलीले उनलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । गत १३ चैतमा थाइल्यान्ड प्रहरीले ठगी मुद्दामा उनलाई पक्राउ गरेको थियो । नेपाल प्रहरी, थाइल्यान्डस्थित नेपाली दूतावास र थाई प्रहरीको सहकार्यमा पक्राउ परेका थिए । करिब दुई महिना थाई सरकारले अध्यागमन हिरासतमा राखेपछि उनलाई नेपाल डिपोर्ट गरेको थियो । 
 
क्यानडा लैजाने प्रलोभन देखाएर ठगी
 
प्रहरीका अनुसार आकर्षक रोजगारीमा क्यानाडा लैजाने प्रलोभनमा गुरुङले युवा ठग्दै आएका थिए । उनीविरुद्ध ८५ निवेदन सिआइबीमा दर्ता भइसकेका छन् । जसमध्ये तीनवटा निवदेन अनुसन्धानपछि अदालतमा मुद्दा दर्ता भएका छन् । 
 
सिआइबी प्रमुख डिआइजी नीरजबहादुर शाहीले गुरुङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार, संगठित अपराध र ठगी मुद्दामा अनुसन्धान हुने बताए । ‘उनले क्यानडा, फ्रान्स, कोरिया, मकाउ, अस्ट्रेलिया, अमेरिकालगायत मुलुक लगिदिने प्रलोभनमा दुई सयजनाभन्दा धेरै नेपाली युवा ठगेको पाइयो,’ उनले भने, ‘पीडितसँग पाँच लाखदेखि २० लाख रुपैयाँ रकम असुलेको भेटियो । ठगिएको रकमको परिमाण अर्बको हाराहारी हुन आउँछ । यो मानव तस्करी हो ।’
 
सिआइबीले उनीविरुद्ध ०७२ देखि मानव तस्करी अभियोग मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको थियो । थाइल्यान्डमा लुकेको सूचना प्राप्त भएपछि प्रहरीले गुरुङविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो । सोही कारण २२ जेठ ०७२ मा उनको राहदानी रद्द भएको थियो । तर, उनी जाली राहदानीबाट ट्राभल डकुमेन्ट बनाई थाइल्यान्डमा विभिन्न परिचयमा लुक्दै आएका थिए ।
 
Published on: 26 May 2019 | Naya Patrika

 

Back to list

;