s

दुईपटक बेचिनबाट जोगिएकी लक्ष्मी, एक वर्षदेखि पछि लागेका थिए तस्कर

अजवी पौड्याल

गत आइतबार महानगरीय प्रहरी परिसर टेकुका अनुसन्धान अधिकृत बृद्धिप्रसाद सुवेदी दुई युवकसँग सोधपुछ गरिरहेका थिए। युवकहरू थिए- नुवाकोटको दुप्चेश्वर ७ का २० वर्षीय राजु तामाङ र २८ वर्षिय अजय तामाङ। उनीहरूमाथि मानव बेचविखनको आरोप लागेको छ।

अनुसन्धानकै क्रममा अजयले रसुवाकी २० वर्षीय तामाङ थरकी लक्ष्मी (नाम परिवर्तन) लाई काठमाडौंबाट कलकत्ता लाँदै गरेको थाहा हुन्छ। केही वर्ष गाडी चलाएर जीवन चलाउँदै आएका अजय पछिल्लो समय चेलिबेटी बेचविखनमा लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

अजयले प्रहरीलाई दिएको बयान अनुसार नुवाकोटकै संगीता तामाङ कलकत्तामा कोठी चलाउँछिन्, जसको अजयसँग प्रेम सम्बन्ध थियो। संगीताकै आग्रहमा गत वर्ष पनि उनले नुवाकोटकै दुई युवती कलकत्ता पुर्‍याएका थिए। युवती पुर्‍याएबापत् संगीतासँग पैसा पनि नलिएको उनले प्रहरीसँग स्वीकारेका छन्।

तर संगीताले अरुसँगै बिहे गरिन्। संगीताले अजयलाई छाडिन् तर अजयले संगीतासँग सिकेको 'इजी मनी' आउने काम छाड्न सकेनन्। अजयले नुवाकोटकै अर्की महिलाले कलकत्तामै सञ्चालन गरेको कोठीका लागि ती युवतीलाई डेढ लाखमा पुर्‍याउन लागेको प्रहरीसँग स्वीकारेका छन्। अजयलाई गत वर्ष पनि उनै लक्ष्मीको ठाडो उजुरीमा महानगरीय प्रहरी वृत महाराजगञ्जको टोलीले पक्राउ गरी एक रात थुनामा राखी प्रमाण नपुगेको भन्दै छुटेका थिए। एउटै मानिस वर्षदिनदेखि ती युवतीका पछि लागेका थिए ? अनुसन्धानकै चरणमा रहेको भन्दै अनुसन्धान अधिकृत सुवेदी विस्तृत खुलाउन मान्दैनन्। तर घटनाक्रमले अजय ती युवतीकै पछि लागेको देखाउँछ।

गत वर्ष रसुवाकी ती युवती एक साथीमार्फत् अजयको सम्पर्कमा पुगिन्। प्रौढ शिक्षा मात्रै पढेकी ती युवतीलाई पैसा कमाउन काम चाहिएको थियो। अजयले कलकत्तामा ६० देखि एक लाख रुपैयाँसम्म कमाउन सकिने आश्वासन दिए। राम्रो होटलमा काम लगाइदिन्छु भन्दै विश्वासमा पारे। इन्डिया जाने भन्दै ती युवती रसुवाबाट काठमाडौं आइन्। अजयको व्यवहार शंस्कास्पद लागेपछि आफन्तको सहयोगमा उनले प्रहरीमा ठाडो उजुरी दिइन्। प्रहरीले अजयलाई पक्राउ गर्‍यो तर प्रमाण पुग्न नसक्दा अजय छुटे। एक वर्षपछि उनै युवतीलाई कलकत्ता लैजाँदै गर्दा अजय शनिबार पुनः पक्राउ परे।

अजय र राजुको समूहका कुनै एक व्यक्तिले लक्ष्मीको नम्बरमा फोन गर्छन्। कलकत्तामा राम्रो काम पाइने विश्वास दिलाउँछन्। लक्ष्मीले परिवारमा सल्लाह गरी कल ब्याक गर्छिन् र भोलि नै जान तयार भएको बताउँछिन्। फोन उठाउने युवकले एउटा नम्बर म्यासेज गर्दै लक्ष्मीलाई काठमाडौं आइपुगेपछि त्यही नम्बरमा सम्पर्क गर्न भन्छन्। नम्वर राजु तामाङको थियो।

साउन २५ गते विहान १० बजे नयाँबसपार्क आएकी लक्ष्मीले राजुलाई फोन गर्छिन्। राजुले ट्याक्सीमा राखेर उनलाई कोटेश्वर पुर्‍याउँछन्। राजु र लक्ष्मी माइक्रोमा बस्छन्। अजय पनि कोटेश्वर जडीबुटीबाट गाडीमा चढ्छन्। गाडीमा चढ्दै गरेका अजयलाई देखेर लक्ष्मी अवाक हुन्छिन्। उनले दाइलाई फोन गर्छिन् र, दाइमार्फत् प्रहरीलाई खबर हुन्छ। 'लगत्तै महानगरीय प्रहरी परिसरको टोली परिचालन भयो', अनुसन्धान अधिकृत सुवेदी भक्तपुरको जगातीमा गाडी रोक्न प्रहरी सफल भयो। र, अजय र राजु प्रक्राउ परे।

कामको प्रलोभन

पछिल्लो समयमा मानववेचविखनको घटनाका प्रकृति फेरिएको प्रहरी बताउँछ। सुवेदीका अनुसार केही दशक पहिले भारतका कोठीमा यौन धन्दाका लागि नेपाली युवती पुर्‍याइने गरेको भएपनि अहिले भारतमा मात्र नभइ कामको बहानामा भारत हुँदै खाडी मुलुकमा बेच्न थालेका छन् 'आर्कषक कमाइ र सजिलो कामको प्रलोभन आएपछि गाउँ युवतीहरू आखा चिम्लेर विश्वास गर्ने र जुनसुकै देश जान तयार हुने गरेको अनुसन्धानका क्रममा भेटिएको छ', उनी भन्छन्।

लक्ष्मीले प्रहरीलाई यसपटक कलकत्ता लैजाने अजय नै हो भन्ने थाहा नभएको बयान दिएकी छन्। अजयले 'केटी बेच्छ भन्ने सुनेकाले मलाई पनि बेच्न सक्छ भन्ने ठानेर फोन गरेको' उनले बयान दिएकी छन्। अजयले काकडभिट्टाबाट बोर्डर पास गराउने आफ्ना मान्छे रहेको बयान दिएका छन्। एकजना युवतीलाई कलकत्ता पुर्‍याएबापत् डेढ लाखदेखि दुई लाखसम्म लिने गरेको बयान प्रहरीलाई दिएका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंको तथ्यांकअनुसार २०७२/७३ मा २१ वटा मानव वेचविखनका घटना दर्ता भएका छन्। आर्थिक वर्ष २०७३/७४ मा ५१, ७४/७५ मा ३९ र ७५/७६ मा ५१ वटा उजुरी दर्ता भएका छन्। दोषी प्रमाणित भएमा मानव वेचविखन तथा ओसारपसार ऐन २०६४ अनुसार कसुरको आधारमा जेलसजाय तथा जरिवाना दुवै हुन सक्छ। ऐनको दफा ३ र दफा ४ मा मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद र दुई लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

Published on: 15 August 2019 | Annapurna Post

Back to list

;