s

दुई सातासम्म भोकभोकै बगरको बास

भवानी भट्ट, अनिश तिवारी

(कञ्चनपुर र सिन्धुपाल्चोक) — काम खोज्न भन्दै पुस अन्तिमतिर उनीहरू घरबाट हिँडे । दोस्रो दिन भारत उत्तराखण्डको पिथौरागढ पुगेपछि ठेकेदारले टनकपुर ब्यारेज मर्मतको काममा लगाए । कञ्चनपुरको भीमदत्त नगरपालिका–९, ब्रह्मदेव नजिकै टनकपुर ब्यारेजको दक्षिणतर्फ मर्मतको काम चलिरहेको थियो । चैत १० देखि काम बन्द भयो । ठेकेदारले समयमा ज्याला दिएनन् । काम बन्द भएको भोलिपल्टै नेपाल र भारत दुवैतर्फ लकडाउन सुरु भयो । 

ठेकेदार सम्पर्कविहीन भएपछि मेलम्ची नगरपालिका–१० शिखरपुरस्थित खेतमा पाल टाँगेर बसेका मजदुर । रोल्पा र जाजरकोटका १९ मजदुर यहाँ अलपत्र छन् । 

महाकाली नदीको बगरमा बसेर मजदुरी गरिरहेका बैतडी र बाजुराका १६ जना भने त्यहीं थुनिए । बगरमा फसेका उनीहरूले आधा पेट खाएरै दुई साता बिताए । त्यो सकिएपछि रातारात भागेर नेपाल भित्रिए । टनकपुर ब्यारेजबाट रातारात भागेर आइतबार भीमदत्त नगरपालिका–८, तिलाचौर पुगेका बाजुराको गौमुल गाउँपालिका–४ का कमल बुढाले भने, ‘लकडाउन सुरु भएदेखि पेटभरि कहिल्यै खान पाएनौं, रासन सकिने लोभमा आधा पेट मात्रै खान्थ्यौं ।’ उनका अनुसार १६ जना कामदारले ज्याला नपाएका कारण बगरमै बस्नुपरेको हो । 

ब्यारेज मर्मतको काम बन्द भएपछि ठेकेदार पनि सम्पर्कविहीन भए । रासन लिन भारततर्फ जाँदा एसएसबीले मुख हेरेर फर्काउने गर्थे । नेपालतर्फ पनि एसएसबीले आउन नदिएको उनले सुनाए । ‘हामी त न नेपालका भयौं न भारतका,’ उनले भने, ‘रासन सकिएर अलपत्र पर्दा पनि कसैले हेरेनन्, किन्न पनि जान दिएनन् ।’ चार दिनअघि गत बुधबार ठेकेदारले सबै कामदारको ज्याला दिएपछि मात्रै उनीहरू नेपाल फर्किन सकेका हुन् । 

भोकभोकै बस्नुपर्ने अवस्था आएपछि भाग्नुपरेको कामदार टोलीका अगुवा (मेठ) आनन्द रोकायाले बताए । ‘आँटा चामल सकिएर भोकै बस्नुपर्‍यो, रातिको समयमा बगरै–बगर भागेर नेपाल पस्यौं,’ उनले भने, ‘त्यसपछि ब्रह्मदेवबाट चुरेको फेदैफेद हिँडेर महेन्द्रनगरतर्फ भागेका हौं ।’ 

बाजुराका १४ मध्ये १२ जना गौमुलका र दुई जना मार्तडी नगरपालिकाका हुन् । बाँकी दुई जना बैतडीका छन् । आइतबार बिहान महेन्द्रनगर जाने क्रममा उनीहरूलाई भीमदत्त नगरपालिका–८ का अध्यक्ष ध्वजबहादुर विष्टले रोकेर तिलाचौरस्थित त्रिभुवन माविमा बनाइएको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाए । उनीहरूलाई खान र बस्न सोही विद्यालयमा व्यवस्था गरिएको छ । क्वारेन्टाइनको व्यवस्था नहुँदासम्म कसैको सम्पर्कमा नजाने गरी यतै राखिने विष्टले बताए । 

रोकाया र बुढा यसअघि पनि भारतमै मजदुरी गर्थर् े। उत्तराखण्डको पिथौरागढ, नैनीताल, अल्मोडा लगायतका क्षेत्रमा काम गरेका उनीहरू यसपटक सीमा क्षेत्रमै काम पाइएपछि खुसी थिए । लकडाउनपछि भने निकै सास्ती खेप्नुपरेको रोकायाले बताए । 

‘आफ्नै देशमा बेवारिसे भइयो’ 

मेलम्ची नदीछेउको जंगलबीच एउटा थोत्रो त्रिपाल टाँगेर बसेका छन् रोल्पा त्रिवेणी गाउँपालिका–२ का कर्णबहादुर खड्का । सडक निर्माणको काममा सिन्धुपाल्चोक पुगेका उनीसहित १९ जना तीन सातादेखि अलपत्र परेका छन् । 

मेलम्ची नगरपालिका–१०, शिखरपुरको खेतमा भौंतारिरहेका उनलाई आफ्नै देश बिरानो लागेको छ । ‘ठेकेदार सम्पर्कमा छैनन्, काम लगाउने मान्छे पनि बेपत्ता भए, आफ्नै देशमा बेवारिसे भइयो,’ उनले भने, ‘बेलाबेला मरौंझैं लाग्छ । परिवार सम्झेर बाँच्नु परेको छ ।’

रोल्पा र जाजरकोटका १९ मजदुर तीन सातादेखि घर जाने आशामा पाल टाँगेर बसिरहेका छन् । जाजरकोटका १३ र रोल्पाका ६ जना मेलम्ची–भोताङ सडक खण्डमा जाली र पर्खाल लगाउन ठेकेदार र अन्यमार्फत यहाँ ल्याइएका थिए । ज्याला नपाएपछि उनीहरूका तीन साथी भने घरबाटै पैसा मगाएर घरै फर्किए । बाँकी १९ जना यहीँ अलपत्र परेका हुन् । ‘घर पुगेर मर्न पाए पनि कति आनन्द हुन्थ्यो, सरकारले लकडाउन बढाउने हल्ला आएको छ । हाम्रो झनै बिजोग हुने भयो,’ खड्काले भने । 

स्थानीय र जनप्रतिनिधिलाई गुहारेपछि तीमध्ये १३ जनालाई काममा लगाउने ठेकेदारका प्रतिनिधि प्रकाश श्रेष्ठ सम्पर्कमा आएका थिए । श्रेष्ठले पनि जिल्ला पुर्‍याउने आश्वासन मात्रै दिएको र अन्य कुनै सहयोग नगरेको उनीहरूले गुनासो गरे । बाँकी ६ जना भने आफूहरूलाई यहाँ ल्याउने एजेन्टबारे थाहा नहुँदा के गर्ने भन्नेमा अन्योलमा छन् । ‘ठेकेदार र कम्पनीको कोही पनि चिन्दैनौं । उनीहरू सम्पर्कमा छैनन्, कहिले अरूको घरमा आश्रय लिन्छौं, कहिले पालमा । यसरी कति दिन कटाउनु ?,’ जाजरकोट जुनचाँदी गाउँपालिकाकी ४० वर्षीया चन्द्रा घर्तीले भनिन् । मेलम्ची–१० बाट राहतमा पाएको दालचामलबाट छाक टारिरहेको उनले बताइन् ।

Published on: 13 April 2020 | Kantipur

Link

Back to list

;