s

दुई पुरी र पानीकै भरमा दिन कटाउँदै प्रवासी नेपाली

पुष्पराज जोशी

शुक्रबार र शनिबार गरेर धनगढीको गौरीफन्टा नाका भएर ७ सय ५८ जना प्रवासी नेपाली भित्रिएको खबर सुनेपछि भारतको राजस्थान, मुम्बई लगायतका ठाउँबाट पाँच सय १२ जना बस रिजर्व गरेर धनगढीका लागि छुटे । आइतबार राति जब उनीहरु धनगढी नजिकैको सीमा क्षेत्र गौरीफन्टा पुगे त्यहाँबाट प्रहरीले नेपाल पस्न दिएन । उनीहरुलाई भारतीय प्रहरीले समातेर पलिया लगेर राख्यो । स्थानीय जिल्लाका कलेक्टरले नेपाल फर्कने सिफारिस दिएपछि आएका उनीहरु बीच बाटोमै अलपत्र परेका छन् । 

आफूहरु जोधपुर जिल्ला राजस्थानबाट तीन वटा बस रिजर्व गरेर एक सय २० जना सीमा नजिकै पुगेको बताउँदै डोटी केआईसिंह गाउँपालिका–७, का हर्क बलायरले टेलिफोनमार्फत् भने,‘हिजो रातिदेखि हामीलाई पलियाको नरेश गार्डेनमा खुला आकाशमुनिको क्वारेन्टाइनमा राखिएको छ ।’ आइतबार रातिदेखि सोमबार दिउँसो दुई बजेसम्म पानी मात्रै खाएर बसेका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले दुई बजेपछि मात्रै दुई÷दुई वटा पुरी दिएको छ । ‘दिनभर भोकै बस्यौँ, अहिले दिउँसो मात्रै दुई÷दुई वटा पुरी दिइएको छ,’ बलायरले भने,‘यसरी भोकभोकै खुला आकाशमुनि बस्नु परेको छ ।’

नेपालको सीमा नजिकै पुगेर पनि नेपाल सरकारले नेपालीहरुलाई लैजान नसकेको भन्दै उनले दुःख मनाउ गरे । ‘बरु नेपालकै क्वारेन्टाइनमा बस्थ्यौँ,’ उनले भने,‘पलियाको खुला आकाशमुनि बस्नु भन्दा त आफ्नै देशको चौरमै भए पनि सहज हुन्थ्यो ।’ उनीमात्रै हैन पलियाको नरेश गार्डेनमा बसेका सबै नेपालीहरु स्वदेशकै क्वारेन्टाइनमा बस्न तयार रहेका छन् ।

‘हामीलाई नेपालकै क्वारेन्टाइनमा जति दिन राखेपछि हुन्छ,’अर्का प्रवासी नेपाली राम साउँदले भने,‘शुक्रबार र शनिबार नेपाल सरकारले पलियामा बसेकाहरुलाई भित्र्यायो भन्ने खबर सुनेपछि भारतमा रहेका सयौँ नेपाली सीमामा पुगेका हौँ, तर यहाँ पुगेपछि भने पुनः पलियामा लगेर राखियो ।’ पलियाको बसाइँ साह्रै कष्टकर भएको बताउँदै उनले भने,‘खुला चौरमा मच्छरको टोकाइ उस्तै छ, त्यसमाथि यहाँ शौचालय र सरसफाइनका लागि स्नान घर समेत नहुँदा यही बिरामी परिने हो कि भन्ने चिन्ता थपिएको छ ।’ 

समय समयमा भारतीय प्रहरी आएर नेपाल सरकारले तिमीहरुलाई नेपाल नभित्र्याउन भनेका छन्, अब यही बस भनेर भन्ने गरेको बताउँदै उनले भने,‘चुनावका बेला भारतमा फोन गरेर भोट हाल्न बोलाउने नेताहरु अहिले सीमा नजिकै अलपत्र पर्दा भने चुइक्क नबोलेको सुन्दा दुःख लागेर आउँछ ।’ 

भारतीय प्रहरीले नेपालबाटै फोन गरेर प्रशासन र प्रहरीले नेपालीहरुलाई अहिले नपठाउनू भन्ने गरेको बताउँदै उनले भने,‘यसरी अलपत्र परेका आफ्ना देशका नागरिकलाई देशमै लैजानुको साटो त्यहाँबाट यता नपठाउनू भन्नु कहाँसम्मको न्यायोचित होला ।’ 

Published on: 18 May 2020 | Nagarik

Link

Back to list

;