s

दुई हजार नेपाली भारतीय क्षेत्रमै अलपत्र

सुदूरपश्चिम ब्युरो 

धनगढी, वैशाख १५ गते । लकडाउनका कारण सुदूरपश्चिमसँग सीमा जोडिएका भारतका विभिन्न स्थानमा अझै झन्डै दुई हजार नेपाली रोकिएका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका अनुसार भारततर्फ अझै २०३ जना नेपाली रोकिएका छन् । उहाँहरूलाई नेपाल ल्याउन पहल भइरहेको उहाँले बताउनुभयो । यस्तै बैतडीसँग जोडिएको भारतमा छ सय र दार्चुलापारि भारतको धार्चुलामा एक हजार एक सयभन्दा बढी नेपाली रोकिएका छन् । नेपालीलाई भारतीय पक्षले खाने, बस्ने व्यवस्थासहित क्वारेन्टाइनमा राखेको जनाइएको छ । 

स्वदेश फर्किन अझै एक हप्ता लाग्ने

दार्चुला समाचारदाताका अनुसार रोजगारीका लागि भारत गएकाहरू लकडाउनपछि स्वदेश फर्कन खोज्दा सीमाक्षेत्रमा रोकिएका नेपालीलाई स्वदेश फर्काउन अझै एक हप्ताको समय लाग्ने भएको छ । दार्चुला, बैतडी, बझाङलगायतका जिल्लाका एक महिनादेखि धार्चुलास्थित पाँचवटा क्वारेन्टाइनमा रहेका एक हजार एक सय नेपालीलाई स्वदेश फर्काउन भारतीय पक्षबाट अनुमति नपाउँदा ढिलाइ भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताउनुभयो ।

नेपाल सरकारले धार्चुलामा रहेका नेपालीको उद्धार गरेर स्वास्थ्य परीक्षणपश्चात् सम्बन्धित जिल्लाको जिम्मा लगाउने कुरामा सहमति जनाए पनि भारतीय पक्षले स्वास्थ्य परीक्षण नगरेरै क्वारेन्टाइनबाट छोड्न नमिल्ने भन्दै एक हप्ता समय मागेको उहाँले बताउनुभयो । महाकालीमा ट्युब, तुइन तर्न पाएका, पौडी खेल्न र जङ्घार तर्न सक्ने झन्डै २५० जना नेपाली अवैध रूपमा दार्चुला भित्रिए पनि महाकाली पार गर्न नसकेका धार्चुलामै कष्टकर दिन बिताइरहेका छन् । 

लकडाउन उल्लङ्घन गर्ने पक्राउ

गोदावरी समाचारदाताका अनुसार कैलालीमा सरकारले जारी गरेको लकडाउन उल्लङ्घन गर्ने पाँच सय ८३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लकडाउन जारी भएदेखि आइतबारसम्म विभिन्न स्थानबाट लकडाउन उल्लङ्घन गर्ने पाँच सय ८३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले पक्राउ परेकामध्ये पाँच सय ७४ जनालाई सम्झाइ–बुझाइ छोडिएको र पाँचजनालाई सार्वजनिक हितविरुद्धको मुद्दा चलाइएको बताउनुभयो । थप चारजनालाई पनि मुद्दा चलाउने तयारी भइरहेको उहाँको भनाइ छ ।

लकडाउनको उल्लङ्घन गरी चलाइएका एक हजार २८५ सवारीसाधन नियन्त्रणमा लिइएको र जसमध्ये एक हजार १९८ लाई जरिवाना गरेर छोडिसकिएको र बाँकी नियन्त्रणमै रहेका छन् । 

छोरालाई सुगममा, डाक्टरलाई धम्की

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले दुर्गममा सेवारत डाक्टरलाई अझ दुर्गममा पठाएर छात्रवृत्तिमा अध्ययन गरेका आफ्ना छोरालाई प्रदेशको सबैभन्दा सुगम जिल्ला कैलालीमा खटाएको तथ्य खुलेको छ ।

बाजुरा सदरमुकाम मार्तडीमा एक वर्षदेखि कार्यरत राजुराज जैसीलाई अझ दुर्गम कोल्टी पठाउने भन्दै धम्की दिनुभएका डा. अवस्थीले एकजनाको मात्रै दरबन्दी रहेको कैलालीको जोशीपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आफ्नो छोरा सचिन अवस्थीलाई खटाएको खुलेको छ । जोशीपुरमा पहिलेदेखि नै डाक्टर दीपक जोशी कार्यरत रहनुभएको छ । स्वास्थ्य निर्देशनालयका प्रमुख अवस्थीले उल्टै सङ्घीय सरकार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई पत्र पठाउँदै बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा कुनै पनि चिकित्सक जान नमानेको भन्दै आफूलाई कामकाजका लागि खटाइदिन अनुरोध गरेका छन् । 

अपाङ्गता भएका दम्पतीले राहत पाएनन्

बैतडी समाचारदाताका अनुसार दशरथ चन्द नगरपालिका–४ तोलीगाउँका अपाङ्गता भएका दम्पती मोहन वड राहत बाँडिने लाइनमा बसेर पनि राहत नपाएपछि रित्तोहात घर फर्किनुभएको छ । सोही गाउँकै एकल महिला चन्द्रदेवी वडले पनि राहत नपाएपछि रित्तोहातै घर फर्किनुपरेको पीडा सुनाउनुभयो । चन्द्रदेवीका श्रीमान् र छोराको मृत्यु भएपछि घरमा सासूबुहारी गरेर दुई एकल महिलामात्रै हुनुहुन्छ । छोरी, बुहारी र नातिनातिना गरेर सात जनाको परिवारको गुजारा गिटी कुटेर चलेको थियो । लकडाउनका कारण भोकभोकै बस्नुपरेको उहाँहरूले पीडा सुनाउनुभयो ।

दशरथ चन्द नगरपालिका–४ को वडा कार्यालयले दैनिक ज्याला–मजदुरी गरी खाने दलित तथा विपन्न परिवारलाई १० किलो चामल वितरण गरे पनि वास्तविक पीडितले राहत नपाएको अपाङ्गता भएका मोहन वडले गुनासो गर्नुभयो । 

आमाबाबुविहीन बालबालिकाको बिचल्ली

डोटी समाचारदाताका अनुसार आमाबुबाविहीन भएपछि डोटीको सायल गाउँपालिका–२ लुसाकोटका तीनजना केटाकेटीको बिचल्ली भएको छ । पढ्ने, खेल्ने उमेरका नौ वर्षका कर्ण थापा, सात वर्षका दीपक थापा र पाँच वर्षीया जानकी थापाले पेट भर्नकै लागि अरूको घरमा काम गर्नुपर्ने र मागेर खानुपर्ने अवस्था आएको छ ।

Published on: 27 April 2020 | Gorkhapatra

 

Link

Back to list

;