s

दुई दिन धाउँदा पनि सिडिओ कार्यालय छिर्न पाएनन् मजदुरहरूले

युवराज श्रेष्ठ

धादिङको नेत्रदी गाउँपालिका-३, चौताराका अनिल सुनार दुई दिनदेखि जिल्ला प्रशासन कार्यालय कास्कीको गेट आसपास घुमिरहेका छन्। प्रशासनको गेटमा पहरा दिन बसेका प्रहरीको खप्की खान्छन्, तर पनि टसमस भएका छैनन्। 

उनी आइतबार र सोमबार दिनभरि यसैगरी बसे। सोमबार बिहानैदेखि लाइनमा थिए। अगाडिका मानिस भित्र छिर्न पायो, अनिल पाएनन्। 

‘प्रहरीले एक्कासि लाइन भंग गरिदियो, हामीलाई घर जान भनेर नजिक जानै दिएन,’ अनिलले भने। 

उनी धादिङदेखि इँटा बोक्ने काम गर्न एक महिनाअघि पोखरा आएका थिए। उनीसँगै १५ जनाजति गाउँका युवा पोखरा आएका छन्। धादिङकै निलकण्ठ नगरपालिका-९ का राजेश विक पनि अनिलसँगै छन्। राजेशसँग पनि १३ जना साथी छन्। 

लक-डाउनपछि काम बन्द भएकाले उनीहरू घर जान चाहन्छन्। ‘पोखरामा खानेकुरा सकियो,' राजेशले भने, 'घर गएर बस्न पाए हुन्थ्यो।’ 

प्रशासन कार्यालयभित्र छिर्न नदिन प्रहरीले लाठीले यताउता धकेल्ने गरेको उनले बताए। ‘घर जान पास माग्न आएको दुई दिन भयो, पास पाइएन,' अनिलले भने, 'प्रहरीको गाली मात्र खानुपरेको छ।’ 

प्रशासनको गेटमा यसरी नै पास माग्न बसेका थिए, पर्वतको पैंयु गाउँपालिका, हुवासका नेत्रबहादुर सेन्चुरी। उनी पाँच वर्षदेखि पोखराको एक सुनचाँदी पसलमा काम गर्छन्। आमा बिरामी परेको खबर आएकाले उनी घर जान खोजिरहेका छन्। 

‘आमा बिरामी पर्नुभछ रे, उहाँलाई उपचार गर्नुछ,' नेत्रले सेतोपाटीसँग भने, 'पास माग्न आएको, प्रहरीले भित्र जानसमेत दिएन। गेटमा बस्दा प्रहरीले लखेट्न खोज्छ। यता बसेको छ भने उता बस्न भन्छ।'  

उनको मन प्रहरीले गर्ने व्यवहारले दुखाएको छ। भने, ‘कोही कोही मान्छे सरासर भित्र जान्छ, फेरि आउँछ। ठूलाहरू जति बेला पनि जान मिल्ने, हामी दिनभर बस्दा पनि नमिल्ने?’ 

प्रशासनले भने बाहिरी जिल्लाका मजदुर र अत्यावश्यक कामले बाहिर जान पर्ने नागरिकलाई सवारी पास दिएको बताएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पर्यटक, मजदुर र अत्यावश्यक काममा हिँड्नुपर्ने मानिसलाई सवारी पास दिएको बताए। 

उनका अनुसार लक-डाउनपछि दुई हजार सवारीलाई पास दिइएको छ। अत्यावश्यक ढुवानीका सवारीलाई पास नभए पनि चल्न दिएको भन्दै उनले अरूलाई भने पास दिएर चल्न दिएको बताए। 

मजदुरी गर्नेलाई भित्र छिर्न नदिएको विषयमा उनले भने, ‘प्रहरीलाई हामीले पालैपालो पठाउन भनेका छौं, कोही मर्कामा परेका रहेछन् भने हेर्छौं।’

Published on: 30 March 2020 | Setopati

Link

Back to list

;