s

दुई सातादेखि कतारमा शव अलपत्र

रुद्र खड्का

काठमाडौं - रौतहट, चन्द्रपुर–८ सन्तपुरका रोशनकुमार चौधरीको पछिल्लो दुई साता कतारमा रहेका नेपाली राजदूतावासमा फोन गर्ने र काठमाडौंमा रहेका वैदेशिक रोजगारीसम्बद्ध निकाय धाउँदैमा बितिरहेको छ। रोजगारीका लागि कतार पुगेका ४६ वर्षीय पिता लक्ष्मणको उतै ‘निधन’ भएपछि रोशनकुमारको दौडधुप भइरहेको हो। पिताको शव घरसम्म ल्याउन रोशनकुमारले जतिसुकै दौडधुप गरे पनि अहिलेसम्म कुनै उपलब्धि हात लागेको छैन।

‘पिताको शव घरमा पठाइदिनुप-यो भनेर दैनिकजसो कतारस्थित नेपाली राजदूतावासमा फोन गरिरहेको छु,’ आइतबार सहयोगका लागि वैदेशिक रोजगार बोेर्डको सचिवालय पुगेका रोशनले नागरिकसँग भने, ‘सबैले काम भइरहेको छ भन्छन्। तर कहिले शव आइपुग्छ यकिन छैन।’ १४ वर्षदेखि कतारको रिक्लाइमेसन तेल कम्पनीमा हेड मेकानिक्सको रूपमा कार्यरत लक्ष्मण पुनः वैदेशिक रोजगारीमा नजाने गरी यही फागुन महिना घर फर्कने तयारीमा थिए। ‘अर्को महिना १४ वर्षदेखि गर्दै आइरहेको काम छाडेर घर आउँदै गरेका कारण सबै परिवार उत्साही थियौं,’ छोराले भने, ‘एक्कासि बुबाको निधन भएको खबर सुन्दा मर्माहत छौं।’

काम गर्दै आएको कम्पनीले लक्ष्मणले आत्महत्या गरेको घर परिवारलाई जानकारी दिए पनि चौधरी परिवारले त्यस्तो सूचना गलत भएको बताइरहेको छ। लक्ष्मणले माघ ५ गते कार्यरत कम्पनीमै झुण्डिएर आत्महत्या गरेको जानकारी दिइएको छ। ‘कम्पनीले आत्महत्या गरेको जानकारी दिए पनि बुबाले आत्महत्या गर्नुपर्ने कुनै कारण छैन,’ छोरा रोशनले भने, ‘आत्महत्या गरेको भनिएको अघिल्लो दिन म र आमासँग करिब आधा घन्टा कुरा भएको थियो। निराशाको कुनै छनक पाएका थिएनौं।’ रोशनले केही महिनाअघि आफूले चन्द्रनिगाहपुर नगरपालिकामा कम्प्युटर अपरेटरको रूपमा नाम निकाल्दा पिता हर्षित हुँदै कतारमा मिठाइ बाँडेको समेत सुनाए। ‘पिताको मासिक पारिश्रमिक पनि एक लाख रुपैयाँ हाराहारी थियो। घरपरिवारमा पनि चिन्ता गर्नुपर्ने कुनै कारण थिएन,’ रोशनले भने, ‘सबै परिस्थिति हेर्दा आत्महत्या गर्नुपर्ने कुनै कारण थिएन।’

कतारबाट पठाइएको तस्बिर आत्महत्या गरेको जस्तो नदेखिएकाले पनि मृतकको परिवारले हत्या भएको आंशका गरिरहेको छ। ‘कतारबाट पठाएको तस्बिर हेर्दा आत्महत्या जस्तो देखिँदैन,’ रोशनले भने, ‘हत्या भएको दुई साता बितिसक्दा पनि शव घर नआउँदा अनेक शंका उत्पन्न भइरहेको छ।’ कम्पनीमै श्रमिकको हत्या भएको खबर सार्वजनिक हुँदा रोजगारदाताको बेइज्जत हुने र मृतकको परिवारलाई ठूलो रकम उपलब्ध गराउनुपर्ने बाध्यताले गर्दा शव झिकाउन ढिलाइ भइरहेको हुन सक्ने चौधरी परिवारको आंशका छ। ‘हत्या गरेर आत्महत्या भएको देखाउनलाई शव झिकाउन ढिलाइ गरिरहेको आंशका गरिएकाले दिनहुँजसो राजदूतावासमा फोन गर्ने र बोर्ड सचिवालय धाउने गरिरहेको छु,’ रोशनले भने, ‘तर नेपालको तर्फबाट रोजगारदाता कम्पनीलाई दबाब दिने काम भएजस्तो लाग्दैन।’

रोशनले कतारस्थित राजदूतावासका कर्मचारीले जति फोन गर्दा पनि राम्रोसँग रेस्पोन्स नगरेको गुनासो गरे। ‘यहाँबाट फोन गर्दा सुरुमा दूतावासका कर्मचारीले कुराकानी गरेका थिए,’ रोशनले भने, ‘कुराकानी भएको केही बेरमै पछि फोन गर्छु भन्दै सम्पर्क टुटाएका कर्मचारीले त्यसपछि जति फोन गर्दा पनि कुरै गर्न मान्दैनन्।’ जति फोन गर्दा पनि कार्यालयका सहयोगीले मात्र उठाउने गरेको उनको गुनासो छ।

बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले पनि लक्ष्मणको शव झिकाउन आफूले कतारस्थित राजदूतावासका कर्मचारीसँग समन्वय गरिरहेको बताए। ‘कतार राजदूतावासबाट शव झिकाउनका लागि अझै प्रक्रिया बाँकी रहेको जानकारी पाएको छु,’ उनले भने। सचिवालयका कर्मचारीका अनुसार यसअघि अन्य गन्तव्यको तुलनामा कतारबाट शव आउन बढीमा एक सातासम्म समय लाग्ने गर्थ्यो । ‘मृत्यु भएको दुई साता बितिसक्दा पनि शव आउने यकिन नभएपछि मृतकका परिवार आक्रोशित हुनु स्वाभाविक हो,’ सचिवालयका कर्मचारीले भने, ‘तैपनि हामी भर पर्ने भनेको नियोगसँगै हो।’ कर्मचारीका अनुसार यतिखेर शव झिकाउन सबभन्दा कठिन साउदी अरेबियाबाट छ। साउदी अरेबियाबाट भने शव झिकाउन तीन महिनासम्म लाग्ने कर्मचारीको भनाइ छ।

सचिवालयले वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिको शव घरसम्म पु-याउनेदेखि परिवारलाई सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउँछ। त्यस्तै बिमा कम्पनीहरूले मृतकका परिवारलाई प्रतिव्यक्ति १४ लाख रुपैयाँसम्म उपलब्ध गराउँछन्। सचिवालय र बिमा कम्पनीले उपलब्ध गराउने आर्थिक सहायता पाउनका लागि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको हुनुपर्छ। श्रम स्वीकृति नलिई तेस्रो मुलुक हुँदै वैदेशिक रोजगारीमा गएकाको निधन भयो भने त्यस्तो सुविधा पाइँदैन।

सरकारले लामो समयदेखि वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने भन्दै आए पनि व्यवहारमा भने त्यस्तो देखिएको छैन। चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउनदेखि कात्तिकसम्म) वैदेशिक रोजगारीको क्रममा दुई सय ५१ को मृत्यु भएको छ। त्यस्तै सोही अवधिमा एक सय १९ श्रमिक रोजगारीको क्रममा अंगभंग भएको सचिवालले जनाएको छ। वैदेशिक रोजगारीको क्रममा अंगभंग हुनेलाई पनि सचिवालयले सात लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउँछ। सचिवालयले आर्थिक वर्ष २०७५/७६ मा मृत्यु भएका सात सय ५३ श्रमिकका आफन्तलाई ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ उपलब्ध गराएको थियो। त्यस्तै त्यस आर्थिक वर्ष अंगभंग हुने व्यक्ति (तीन सय ३५) लाई नौ करोड १५ लाख रुपैयाँ उपलब्ध गराएको सचिवालयले जनाएको छ।

सचिवालयले सोही वर्ष विदेशमा मृृत्यु भई अलपत्र परेका शव विदेशबाट काठमाडौंसम्म ल्याउन ७८ लाख ५८ हजार रुपैयाँ र सबै मृतकको शव घरसम्म ढुवानी गर्न एक करोड ५७ लाख ६० हजार रुपैयाँ खर्च गरेको थियो। वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिको शव घरसम्म पु-याउने दायित्व रोजगारदाताको भए पनि केही रोजगारदाता अटेरी हुँदा बोर्डले नै त्यस्ता शव घरसम्म पु-याउने गर्छ।

Published on: 3 February 2020 | Nagarik

Link

Back to list

;