s

दुई रोल्पाली सम्पर्कविहीन

काशीराम डाँगी

रोल्पा — एक पटक हराएर भारत पुगेका लुंग्री गाउँपालिका–५ बुजिङ गाउँका १२ वर्षीय सुनील विकलाई संघ संस्थाको सहयोगमा गत वर्ष घर फर्काइएको थियो । तर घरमा ल्याएको केही महिनामै उनी फेरि हराए । अहिले उनी कहाँ छन् भन्ने कुनै अत्तोपत्तो छैन ।

‘एक पटक गाउँपालिकाका अध्यक्षले काठमाडौंमा भएको जानकारी दिनु भएको थियो । पछि ल्याउने भन्ने सल्लाह पाएकाले तत्काल खोज्न गएनौं । अहिले सम्पर्क नै छैन,’ सुनीलकी आमा ५० वर्षीया फुर्सी विकले भनिन्, ‘मेरो कान्छो छोरा कहाँ छ, कस्तो अवस्थामा छ भन्ने चिन्ता लागिरहेको छ ।’

एक पटक हराएपछि भारतबाट सहयोगीको पहलमा घरसम्म ल्याए पनि सुनील घरमा बस्न चाहेनन् । सुनीलकी आमा फुर्सीका अनुसार जेठो छोरा दिनेश घरमा बस्दैनन् । सानै भए पनि कान्छो छोरा सुनीलको भर थियो । छोरीको बिहे भइसकेको छ भने पति फुर्से कमाइ गर्न भारत पुगेका छन् ।

‘छोरा कहाँ छ भनेर खोजी गर्न जाने कोही छैन,’ फुर्सीले भनिन् । फुर्सी घरमा एक्लै छोरा कुरेर बस्छिन्, तर सुनील फर्केर आएका छैनन् । यसबारे गाउँपालिकाका अध्यक्ष भरत थापाले पुनः काठमाडौमा सम्पर्क गर्न नसकेको बताएका छन् । फुर्सीका अनुसार छोरा काठमाडौंको एउटा प्रहरी चौकीमा रहेको, केही समय त्यहीँ राखेपछि घरमा ल्याउने सल्लाह उनले दिएका थिए । अघिल्लो पटक सुनील हराउँदा वडा अध्यक्ष रहेका थापा हाल गाउँपालिकाको अध्यक्ष छन् । उनका अनुसार पढ्न नचाहने, घरबाट भाग्ने र नराम्रो संगतमा लागेकाले सुनीललाई काठमाडौंमा प्रहरीले उनको बानी सुधार गर्न राखेको थियो । पछिल्लो पटक उनी हराएको एक वर्ष पुग्न थालेको छ ।

त्यस्तै पश्चिमी रोल्पाको राङ्सी गाउँका एक युवा तीन वर्षदेखि बेपत्ता छन् । परिवर्तन गाउँपालिका–२ राङ्सी मालेमारे गाउँका ३८ वर्षीय प्रेम खत्री भारतमा काम खोज्न गएका बेला उतैबाट हराएका थिए । परिवारले उनको खोजी गरिरहेको छ । तर उनी फर्केर आएका छैनन् । भारतको चण्डीगढ पुगेका बेला त्यतैबाट हराएका उनको खोजी गरिरहेको उनकी पत्नी प्रतीक्षाले बताइन् ।

प्रेम हराएपछि भारतका धेरै ठाउँमा उनको खोजी जारी छ । गाउँमा आफन्त मार्फत र प्रहरीमा समेत खबर गरे पनि फेला पार्न नसकिएको उनको परिवारले जनाएको छ । ‘कमाइ गर्न भारतको चण्डीगढ जानु भएको थियो । उहाँसँग गएका गाउँका अरु साथीहरु फर्केर आए, उहाँ हराएको हरायै हुनुभयो,’ प्रेमकी पत्नी प्रतीक्षा खत्रीको भनाइ छ । घरमा एक छोरा, दुई छोरी र पत्नीलाई छाडेर भारत पसेका उनी फर्की नआएपछि गाउँघरमै दुःख अनुभव भएको छिमेकीले बताएका छन् ।

आफ्नै गाउँघरमा काम नपाउने हुँदा वर्षको करिब आधा अवधि कमाइ गर्न युवाहरुसँगै प्रेम भारतको चण्डीगढमा चौकीदारको काम गर्न पुगेका थिए । फर्केर नआएपछि उनको परिवार दुःख र सास्तीमै छ । परिवारका अन्य सदस्यबाट छुट्टिएर अलग्गै बसोबास गरेका प्रेमले कमाइ गरेर छोराछोरीलाई शिक्षादीक्षा दिने सपना उनकी पत्नीलाई बेला बेलामा सुनाउँथे । गाउँको होनहार युवा बेपत्ता भएकाले नराम्रो लागेको प्रेमका माइला बुबा रणबहादुर खत्री बताउँछन् ।

‘उ घरमा नआएपछि घर नै दुःखमा परेको छ । न कमाउने मानिस छ, न त परिवारको भरोसा,’ उनी भन्छन् । प्रेमका छोरीहरु १० वर्षीया सन्ध्या र ५ वर्षीया पुनी साथै ८ वर्षीय छोरा पारस गाउँकै विद्यालयमा पढ्छन् । हराएको लामो समयपछि पनि सबैतिर प्रेमको खोजी गरेको प्रतीक्षाकी गाउँले दिदी भीमकुमारीले बताइन् । उनले पतिको खोजी गरिदिन वडा कार्यालय, प्रहरी चौकी र गाउँपालिकामा निवेदन दिएकी छन् । प्रहरीले कहीँ कतै सम्पर्क नभएको र फेला नपारिएको जनाएको छ । प्रहरीका अनुसार हराउनेहरुको विवरणसहित खोजी गरिदिन प्रहरीमा उजुरी पर्ने क्रम बढेको छ । उजुरी अनुसार कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।

Published on: 29 March 2023 | Kantipur

Link

Back to list

;