s

दुई महिनामा डेढ खर्ब रेमिटयान्स

चालु आर्थिक वर्षको दुई महिनामा १ खर्ब ५४ अर्ब रुपैयाँ रेमिटयान्स मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो करिब ३४ प्रतिशतको वृद्धि हो  । गत वर्ष भदौसम्म रेमिटयान्समार्फत १ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ भित्रिएको थियो ।

चालु आर्थिक वर्षको सुरुदेखि नै रेमिटयान्स वृद्धिदर उच्च दरले बढ्न थालेको छ । साउनमा रेमिटयान्स वृद्धिदर ३३.१ प्रतिशत थियो । भदौमा यस्तो वृद्धिदर बढेर ३४ प्रतिशत हाराहारीमा पुगेको राष्ट्र बैंकको तथ्यांक छ । पछिल्ला दुई वर्षयता रेमिटयान्स वृद्धिदर घटदो क्रममा थियो । चालु आर्थिक वर्षको सुरुदेखि नै रेमिटयान्स आप्रवाह वृद्धिदर उच्च देखियो । उक्त अवधिमा अमेरिकी डलरको विनिमय दर बढ्नुका साथै कोरिया, अमेरिका र भारतबाट वैधानिक प्रणालीमार्फत भित्रिने रकम बढेपछि समग्र रेमिटयान्स वृद्धिदर उच्च बनेको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले बताए ।

ती राष्ट्रमा रेमिटयान्स सेवा प्रदायक कम्पनीको पहुँच वृद्धिसँगै वैधानिक बाटोबाट आउने रेमिटयान्स बढ्न थालेको हो । यसअघि ती राष्ट्रमा रेमिटयान्स सेवा प्रदायक कम्पनीको उपस्थिति सहज थिएन । यसकारण नेपाली बैंक तथा वित्तीय संस्था र रेमिटयान्स कम्पनीले ती राष्ट्रबाट रेमिटयान्स ल्याउन अप्ठयारो थियो ।

पछिल्ला महिनामा ती राष्ट्रमा धेरै रेमिटयान्स प्रदायक संस्थाको संख्या बढेको छ । यसकारण नेपाली कम्पनीलाई पनि त्यहाँबाट रेमिटयान्स ल्याउन सजिलो भएको हो । यसअघि ती राष्ट्रमा कार्यरत अधिकांश नेपालीले हुन्डीलगायत अन्य अवैधानिक प्रणालीमार्फत रेमिटयान्स पठाउँदै आएका थिए । ‘धेरै नेपाली रहेका मलेसिया र कतारमा अझै समस्या छ,’ ढुंगानाले भने, ‘ती राष्ट्रको समस्या समाधान भएमा धेरै रेमिटयान्स भित्र्याउन सकिन्छ ।’

पछिल्ला वर्षमा रोजागारीमा जाने नेपालीको संख्या घटदै गएको छ । तर, अमेरिकी डलरको भाउ बढेकाले रेमिटयान्स बढेको विज्ञ बताउँछन् । साउनमा ७३ अर्ब र भदौमा ८१ अर्ब रुपैयाँ गरी दुई महिनामा करिब साढे १ खर्ब रुपैयाँ मुलुक भित्रिएको हो । दुई महिनामा नेपाल भित्रिएको कुल रेमिटयान्समध्ये करिब १४ प्रतिशत (२२ अर्ब रुपैयाँ) भारतबाट मात्र आएको छ । बाँकी राष्ट्रबाट १ खर्ब ३२ अर्ब रुपैयाँ आएको हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत भदौमा अमेरिकी डलरमा रेमिटयान्स आप्रवाह करिब २५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२ प्रतिशतले बढेको थियो । यो वर्ष नेपाली मुद्रा (नेरु) सँग अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपालमा भारतबाहेक सबै राष्ट्रबाट आउने रेमिटयान्स अमेरिकी डलरमा आउँछ । यसकारण डलरको विनिमय दर बढेपछि रेमिटयान्स आप्रवाह पनि बढ्छ र घट्दा घट्छ ।  गत आर्थिक वर्षमा ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिटयान्स मुलुक भित्रिएको थियो । त्यसमध्ये करिब डेढ खर्ब रुपैयाँ भारतबाट मात्र आएको छ । अघिल्ला वर्षहरूमा भारतबाट निकै कम रकम मात्र वैधानिक बाटोबाट आउने गथ्र्यो । भारतमा बैंकबाहेक रेमिटयान्स कम्पनीहरू पनि सक्रिय बन्न थालेपछि वैधानिक बाटोबाट आउने रेमिटयान्स बढेको हो । भारतसँगै अमेरिका र कोरियाबाट पनि वैधानिक प्रणालीबाट आउने रेमिटयान्स बढ्न थालेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या (पुन: श्रमस्वीकृतिबाहेक) मा कमी आएको छ । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ७.२ प्रतिशतले घटेको छ ।

उक्त अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेबिया र कतार जानेको संख्यामा उल्लेख्य गिरावट आएको सरकारी तथ्यांक छ ।नेपाल भित्रने रेमिटयान्समध्ये अधिकांश हिस्सा खाडी मुलुक र मलेसियाबाट आउने गरेको छ । खाडी राष्ट्रहरूमध्ये पनि साउदी अरब, कतार, कुवेत, युनाइटेड अरब इमिरेटस (दुबई) र बहराइनबाट धेरै रकम नेपाल आउँछ । अर्थतन्त्रका हिसाबले ठूला र धेरै कमाइ हुने भनिएका राष्ट्र (जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, क्यानडा, अमेरिकाबाट करिब १०/१२ प्रतिशत रेमिटयान्स मात्र मुलुक भित्रिँदै आएको छ । खाडी राष्ट्रको तुलनामा ती मुलुकमा नेपाली कामदारको संख्या कम भए पनि आम्दानी निकै धेरै हुन्छ । त्यो आम्दानीको ठूलो हिस्सा नेपाल पनि भित्रन्छ ।

तर, त्यो रकमलाई वैधानिक बाटो (फर्मल च्यानल) मा समेट्न सकिएको छैन । यसले एकातिर नेपालमा अनौपचारिक अर्थतन्त्रले प्रश्रय पाइरहेको छ भने अर्कातिर रेमिटयान्सको वास्तविक अवस्था र योगदानको सही मूल्यांकन हुन नपाएको विज्ञहरू बताउँछन् ।

Published on: 28 October 2018 | Kantipur

Back to list

;