s

दुई महिनादेखि शव साउदीमै

दुई महिनाअघि साउदीमा ज्यान गुमाएका खोटाङ, सप्तेश्वरका जीवन राईको शव आर्थिक अभावमा घर फर्काउन सकिएको छैन । परिवारले शव ल्याउनका लागि आवश्यक रकम नपठाउन नसक्दा सप्तेश्वर ७ का २८ वर्षीय जीवन राईको शव साउदीबाट नेपाल फर्काउन नसकिएको हो । नेपाली दूतावासमार्फत माग गरेअनुसार मृतकका परिवारले पैसा पठाउन नसकेका कारण शव फर्काउन नसकिएको मृतकका भतिजा गोपाल राईले बताए। साउदी सरकारले नेपाली दूतावास, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमार्फत मृतकका परिवारलाई १० हजार कतारी रियाल माग गरेको थियो।

निम्न आर्थिक स्तर भएका राई परिवारले शव फर्काउनका लागि मागिएको रकम पठाउन नसक्दा शव ल्याउन समस्या भएको सुरक्षित आप्रवासन परियोजना केन्द्र खोटाङले जनाएको छ । रातको ३ बजे सुतेकै ठाउँमा बेहोस बनेका राईको उपचार क्रममा साउदी अस्पतालमा गत जेठ १६ गते ज्यान गएको थियो । आफ्नो कम्पनीबाट भागेर अर्कै ठाउँमा 'इल्लिगल' काम गर्ने क्रममा ज्यान गएका कारण मृतक राईको शव नेपाल फर्काउन समस्या भएको जनाइएको छ । परिवारबाट पैसा पठाउन सक्ने स्थिति नदेखिएपछि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले आफैंले शव ल्याउन पहल सुरु गरेको सुरक्षित आप्रवासन परियोजना केन्द्रले जनाएको छ।

परिवार विचल्लीमा राईको मृत्युपछि उनका परिवार विचल्लीमा परेका छन् । घर खर्च धान्दै आएको राईको मृत्युपछि छजनाको परिवार विचल्लीमा परेका हुन् । परिवारको विचल्ली भएपछि छिमेकीले चामल, नुन, तेललगायत चन्दा संकलन गरी गुजारा चलाएका छन् । राईकी हजुरआमा सिन्धुरी राई, आमा देउमाया, श्रीमती कविता र काखे बच्चासहित तीन छोरा छन् । बाबुको ज्यान गुमेपछि तीन छोराको लालनपालन र शिक्षादीक्षामा समस्या भएको छ ।

Published on: 25 January 2013 | Nagarik

Back to list

;