s

दुई लाखसम्म तिरेपछि कुवेतमा वैधानिकता गैरकानुनी कामदारलाई जरिवाना तिराएर आममाफी

- होम कार्की, दोहा (कतार)
 गैरकानुनी रूपमा बस्दै आएका नेपालीसहित आप्रवासीले बढीमा दुई लाख रुपैयाँ बुझाए वैधानिकता पाउने गरी कुवेत सरकारले आइतबारदेखि आंशिक आममाफी दिएको छ ।
कुवेतस्थित नेपाली दूतावासका अनुसार गैरकानुनी कामदारले जरिवाना तिरेमा कुवेतमा फेरि आउन पाउने र वैध भएर बस्न पाउने गरी आइतबार आममाफी घोषणा गरेको हो । ‘नेपालीसहित आप्रवासी कामदारका लागि यो एउटा अवसर हो,’ कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले कान्तिपुरसँग भने, ‘सदुपयोग गर्न गैरकानुनी रूपमा बस्दै आएका कामदारलाई अपिल गर्छु ।’
आन्तरिक मन्त्रालयको जनसम्पर्क तथा सुरक्षा सञ्चार विभाग निर्देशक अदिल अल हसाहसले गैरकानुनी कामदारले दैनिक २ केडी (करिब ७ सय रुपैयाँ) देखि बढीमा ६ सय केडी (करिब २ लाख रुपैयाँ) सम्म बुझाउनुपर्ने बताए । त्यस्ता कामदारलाई प्रहरीले पक्राउ गरेमा फेरि कुवेतमा आउन नपाउने गरी डिपोर्ट (निष्कासन) गर्ने हसाहसले बताए ।
आफैं आन्तरिक मन्त्रालयको आवासीय मामिलाका विभागमा गएर आत्मसमर्पण गरेमा मात्रै आममाफीको सुविधा पाइनेछ । ‘आममाफीबाट स्वदेश गएमा उनीहरू भविष्यमा पुन: कुवेत आउन पाउने छन्,’ हसाहसले पत्रकार सम्मेलनमा भने ।
गैरकानुनी रूपमा बस्दै आएका कामदारलाई पक्राउ गरी डिपोर्ट गर्ने प्रक्रिया कुवेत प्रहरीले एक महिनायता तीव्र बनाएको छ । प्रहरीले गैरकानुनी कामदारको बसोबास रहेका जलिप अल सुयुख, अर्दिया क्षेत्रमा छापा मारी आइतबारसम्म ३ हजार ७ सय ८१ जनालाई पक्राउ गरी डिपोर्टटेसन प्रक्रियामा राखिसकेको मन्त्रालयले सार्वजनिक गरेको छ । राजदूत हमालले पक्राउमा नेपाली कामदार धेरै नभएको बताए । ‘केही त परेका छन्,’ उनले भने, ‘उनीहरूलाई स्वदेश फिर्न ट्राभल डकुमेन्ट दिनेछौं ।’
कुवेतले झन्डै पाँच वर्षपछि आंशिक आममाफी दिएको हो । भागेर बस्नेमा सबैभन्दा बढी घरेलु कामदारका रूपमा कार्यरत महिला छन्, जो जोखिमयुक्त अवस्थामा काम गरिरहेका छन् । भागेर बस्ने कामदारको यकिन तथ्यांक दूतावाससँग छैन । केही महिनाअघि स्थानीय सञ्चारमाध्यमले कुवेती निकायलाई उद्धृत गर्दै चार हजार नेपालीले आवासीय कानुन उल्लंघन गरेर गैरकानुनी भएर बसेको तथ्यांक सार्वजनिक गरेको थियो ।
आममाफी पर्खेर बस्नेलाई जरिवाना तिर्नुपर्ने बाध्यकारी नियमले निराश बनाएको छ । ‘जरिवाना तिरेर जानुपर्ने अवस्थाले खुसी लागेको छैन,’ पाँच वर्षदेखि भागेर काम गर्दै आएकी कपिलवस्तुकी एक घरेलु कामदारले भनिन्, ‘यति धेरै रकम तिर्न सक्ने अवस्था छैन ।’
कुवेतमै काम गर्न चाहनेहरू भने खुसी छन् । ‘यहाँ अवसर देखेका छौं, ब्युटिपार्लरमा काम गरिरहेका छौं । जरिवाना तिरेर भए पनि कानुनी रूपमा बस्न पाए हुन्थ्यो,’ झापाकी सीता ढुंगानाले भनिन्, ‘यो मौकाको सदुपयोग गर्छु ।’  
घरेलु कामदारको बाहुल्य रहेको कुवेतमा नेपालीले प्रलोभनमा परेर घरमा कार्यरत महिलालाई भगाउन प्रोत्साहितसमेत गर्दै आएका छन् । केही भने घरमा हुने श्रमशोषण र बन्धकजस्तो जीवन बिताउनुपरेमा भाग्ने गर्छन् ।
नेपाली दूतावासका अनुसार कुवेतमा ६० हजार नेपाली कार्यरत छन्, जसमा करिब २४ हजार हाउसमेड छन् । करिब दुई वर्षदेखि कुवेतमा हाउसमेड ल्याउन रोक लगाएको छ ।
 
Published on: 15 January 2016 | Kantipur

Back to list

;