s

दुई इरानी अध्यागमनमा पक्राउ

शम्भु कट्टेल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी नक्कली राहदानीमा फ्रान्स र इटाली छिर्न खोज्ने दुई इरानी नागरिकलाई अध्यागमन कार्यालयले पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये फ्रान्सको नक्कली राहदानीमा नेपाल आएका इरानी मोससाभी सेद अमिरलाई अध्यागमन कार्यालयले फिर्ता (इन्ट्री रिफ्युज) गरेको छ । पुस २१ गते पक्राउ परेका अर्का एक इरानी नागरिक भने अध्यागमनको हिरासतमा छन् । अमिर गत शनिबार एयर अरेबियाबाट नेपाल आएका थिए । उनलाई विमानस्थल अध्यागमन कार्यालयले आइतबार बिहान एयर अरेबियाकै जहाजबाट फिर्ता पठाएको छ ।

विगतमा इरानी र सिरियाका नागरिकले युरोपेली मुलुक छिर्न नेपाललाई ‘ट्रान्जिट' का रूपमा प्रयोग गर्ने गरेका थिए । सरकारले अघिल्लो वर्षको जनवरी १ देखि सिरियाली नागरिकलाई ‘अन अराइभल' भिसा नदिने निर्णय गरेसँगै सिरियालीको आगमन लगभग ठप्प छ । इरानी भने फाट्टफुट्ट आउने गरेको अध्यामगनका एक अधिकृतले बताए ।

फ्रान्सको नक्कली राहदानी प्रयोग गरेको आरोपमा अध्यागमनले अमिरलाई पक्रेको हो । विमानस्थल अध्यामगन कार्यालयका प्रमुख उद्धव भट्टराईले इरानीसँग फ्रान्सको जाली राहदानी भेटिएपछि फिर्ता पठाइएको बताए । अमिरले १० हजार अमेरिकी डलरमा फ्रान्सको राहदानी टर्कीमा खरिद गरेको बयान दिएको विमानस्थल स्रोतले बताएको छ । अमिरले विमानस्थलस्थित अध्यागमन अधिकृतलाई पहिले फ्रान्सको राहदानी दिएका थिए ।

अध्यागमन अधिकृतले फ्रान्सको राहदानीमा साउदी अरेबियाको अध्यागमनले दिएको प्रस्थान अनुमति नदेखेपछि सोधपुछ गर्दा उनले आफूसँग इरानको समेत राहदानी रहेको बताएका थिए । त्यही क्रममा अध्यागमन अधिकृतले अमिरलाई आगमन अनुमति नदिई इन्ट्री रिफ्युज गरेको थियो ।

उनले अध्यागमन अधिकारीहरूले सोधेका कतिपय प्रश्नको जबाफ दिन आनाकानी गरेका थिए । उनले साउदी अरेबियाको विमानस्थलबाट इरानको राहदानीमा नेपालका लागि प्रस्थान अनुमति लिएका थिए । नेपाल आएलगत्तै अमिरले इरानी राहदानी लुकाएर फ्रान्सको राहदानी देखाएका थिए ।

पुस २१ मा पक्राउ परेका अर्का इरानी नागरिकलाई विमानस्थल अध्यागमन कार्यालयका अधिकारीले इटालीको नक्कली राहदानीमा नेपाल छिर्ने आगमन अनुमति दिएको पाइएको छ । टर्कीबाट १४ हजार अमेरिकी डलरमा इटालीको राहदानी किनेका ती इरानी नयाँदिल्ली हुँदै इटाली जानेक्रममा विमानस्थलमा पक्राउ परेका हुन् । नेपाल आउँदा नक्कली राहदानीमै आगमन अनुमति दिएका अध्यागमनका तिनै अधिकृतले पक्राउ गरेको स्रोतले जनाएको छ ।

काठमाडौं जिल्ला अदाललते ती इरानी नागरिकलाई १० हजार जरिबाना गरेको छ । विभागले अदालतको जरिबानापछि उनलाई निष्कासनको प्रक्रिया अघि बढाएको छ । अध्यागमन विभागका निर्देशक वासु घिमिरेले ती इरानी नागरिकलाई निष्कासन (डिपोर्ट) गर्ने प्रक्रिया अघि बढाइएको बताए ।

 

Published on: 31 January 2017 | Annapurna Post

Back to list

;