s

दुई हप्ता नबित्दै एक कामदार मलेसियाबाट फिर्ता

धन कमाउने सपना बोकेर मलेसिया पुगेका खोटाङका एक युवालाई दुई हप्ता नबित्दै स्वदेश फर्काइएको छ । मलेसिया पुगेको छ दिनमै बेपत्ता बनेका एेंसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका बमप्रसाद राईलाई बन्धक बनाएर राखिएको ठाउँबाट उद्धार गरेर बुधबार राति नेपाल फर्काइएको हो ।
 
रोजगारीका शिलशिलामा काठमाडौँको सनलाइट ह्युमन रिसोर्स प्रालिबाट गत फागुन २३ गते मलेसिया पुगेका उनी फागुन २७ गते बसेकै ठाउँबाट बेपत्ता भएका थिए । मलेसियाको व्याङ्गुनान एसआरआई लयाङ जलन थाम्बी बब्दुल्लाह ब्रिकफिल्डस् ५०४७० क्वालालम्पुर कम्पनीमा सुरक्षा गार्डका रुपमा गएका राईलाई बेवारिसे अवस्थामा उद्धार गरेर स्वदेश फर्काइएको छिमेकी माओदीप थुलुङले बताए ।
 
बेलुकाको खाना खाएपछि सुत्न गएको र राति नै सम्पकविहीन बनेका उनलाई १६ घण्टापछि फेला पारिएको थियो । आफन्तले ‘हाम्रो जलेश्वरी, ऐसेलुखर्क गाउँपालिका वडा नं ४ खोटाङ’ नामक फेसबुक पेजबाट सूचना प्रकाशन गरेर सम्पकविहीन बनेका उनको खोजी तीव्र पारेका थिए ।
 
खोजीकै क्रममा नाम बताए पनि कम्पनीको नाम र ठेगाना बताउन नसक्ने अवस्थामा बातुकेभ भन्ने स्थानमा मलेसियामै कार्यरत नरेश ओलीले भेटेर राईको तस्वीर फागुन २८ गते फेसबुकमा अपलोड गरेपछि उनलाई भेटाउन सहज भएको थियो । मलेसियास्थित नेपाली दूतावासमा समेत सूचना पुगेपछि दूतावासले खोजेर सुरक्षित राखेको उनलाई जलेश्वरीकै दुखीप्रसादले बुझेर नेपाल फर्काएक हुन् ।
 
मेनपावरलाई ९० हजार बुझाए पनि मेनपावरले भने २० हजारको मात्र भर्पाइ गरिदिएको पाइएको राईका आफन्तले बताएका छन् । मेनपावर कम्पनीलाई उनले तिरेजति रकमको भर्पाइ नभएपछि बाँकी रकम पाउन समस्या भएको छ ।
 
Published on: 23 March 2018 | Madhyanha

Back to list

;