s

दुई हजार हुम्लाबासीको रोजगार गुम्दै

राजन रावत

चीनको ताक्लाकोटमा काम गर्दै आएका दुई हजार हुम्लाबासीको रोजगारी गुम्ने भएको छ । केही दिन अघि ताक्लाकोटमा चिनीया युवतीको हत्या आरोप हुम्लाका युवा माथि लाग्दा अन्य सबै कामदारलाई नेपाल फिर्ता पठाउन लागेपछि रोजगारी गुम्ने भएको हो ।

ताक्लाकोटमा रहेका हुम्लाका सबै कामदारहरुको सीमा पास चिनीया प्रहरी खोसेर हिल्सातर्फ पठाउन सुरु गरेको हाल ताक्लाकोटमा रहनु भएका सिमकोट एकका राम बहादुर भण्डारीले बताउनु भयो । एक जनाले गल्ती गर्ने त्यसको दोषको भागिदार हुम्लाका दुई हजार कामदारहरुले भोग्नु परेको दुखेसो उहाँले बताउनु भयो । भाषाको कारण घटनाका बारेमा द्धिपक्षीय वार्ता र समस्या समाधानका लागि पहल गर्ने निकाय समेत नदेखिएको भण्डारीले बताउनु भयो । विगत देखि नै ताक्लाकोट र आसपासका क्षेत्र हुम्लाका युवाहरुको रोजगारी गर्दै आउनु भएको थियो । अब रोजगारी गुम्ने भए पनि ताक्लाकोटमा रहेका सबै युवाहरु निरास रहेको भण्डारीले बताउनु भयो ।

हालसम्म चिनीया प्रहरीले ताक्लाकोटमा काम गरी रहनु भएका १२३ जना कामदारलाई हुम्लासंगको नाका हिल्सामा फिर्ता पठाएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताउनु भयो । हुम्लाका युवामाथि चिनीया युवतीको हत्या आरोप लागेपछि हुम्ली कामदारमाथि चिनीया प्रहरीले बढी निगरानी राख्न थालेको र हाल आएर फिर्ता पठाउन सुरु गरेको उहाँले बताउनु भयो । दश दिन अगाडी चिनीया युवतीको हत्या गरेको आरोप हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका वडा नम्बर २ का तेज बहादुर फडेरा माथि लागेको र निजलाई चिनीया प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । हाल फडेरालाई टुन्चुमा प्रहरी हिरासतमा राखी अनुसन्धान भइ रहेको छ ।

Published on: 2 June 2019 | Gorkhapatra

Back to list

;