s

दुई दिनमै भारतबाट ४० नेपाली महिलाको उद्धार

रामकला खड्का

पछिल्लो दुई दिनकाे अवधिमै ४० नेपाली महिलाको भारतबाटै उद्धार भएको छ । भारतीय प्रहरीको सहायतामा यस्तो काम सम्भव भएको हो । उनीहरुसहित जम्मा एक सय तीनजना महिलाको उद्धार भयो । यही शुक्रबारदेखि सुरु भएको उद्धार कार्य हालसम्मकै सबैभन्दा ठूलो रहेको भारतीय प्रहरीले जनाएको छ ।

माइती नेपालले दिल्ली महिला आयोगलाई दिएको सूचनाको आधारमा सबैभन्दा पहिले दिल्लीबाट ६ जना महिलाको उद्धार गरिएको थियो । त्यसपछि तिनै महिलाले अरु धेरै संख्यामा नेपाली महिलालाई दिल्ली लैजान लागिएको खुलासा गरेका थिए । प्रहरीले सुक्रबार विभिन्न समयमा भारतको मणिपुरस्थित मोरे सहरका छुट्टा छुट्टै ठाउँबाट ४० नेपाली महिलाको उद्धार गरेको हो । प्रहरीले आफ्नो रेस्क्यु अपरेसन जारी राख्ने क्रममा यही सहरको विभिन्न ठाउँबाट अन्य भारतीय महिलाको पनि उद्धार गरेको हो ।

मोरे सहर म्यानमारसँगको सीमावर्ती क्षेत्रमा पर्ने हुनाले सोही ठाउँमार्फत दक्षिण एसियाली र मध्य पूर्वीय क्षेत्रका देशहरुमा मानव तस्करी गर्नु मानव बेचबिखनमा संलग्न बिचौलियाहरुको उद्देश्य हुने प्रहरीले खुलासा गरेको छ ।

ठूलो संख्यामा उद्धार गरिएका महिलासँगै मानव बेचबिखनमा संलग्न केही व्यक्तिलाई समेत मणिपुर प्रहरीले पक्राउ गरेको छ । मणिपुरस्थित मोरे प्रहरीले जारी गरेको जाहेरी दरखास्तका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ४२ वर्षीय आशाकाजी लामा, सुनौलीका राजीव शर्मा, झापाका ५२ वर्षीय मदनकुमार खरेल र केही नाम नखुलेका व्यक्ति छन् ।

ठूलो संख्यामा उद्धार गरिएका महिलामध्ये सबैको हालसम्म पहिचान खुल्न सकेको छैन । उनीहरुको पहिचान खुलेपछि मात्रै आआफ्नो ठाउँमा पठाउने ब्यवस्था गरिने प्रहरीले जनाएको छ । मानव बेचबिखनको स्वरुप दिनानुदिन भयाभह हुँदैगएको अवस्थामा मानव तस्करीमा सम्लग्न गिरोहले विभिन्न तिकडम र नयाँ रुटको प्रयोग गर्दै आएको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले बताए । भारतको मनिपुरस्थित इम्फालबाट म्यानमार हुँदै इराक र दुवईमा मानव तस्करी गर्ने रुट विल्कुलै नयाँ रहेको पनि उनले जानकारी दिए ।

माइती नेपाललाई पहिचान नखुलेको इमेल मार्फत प्राप्त सूचनाको आधारमा गरिएको अनुसन्धान र थालिएको उद्धार कार्यले मानव तस्करीको गोप्य रुटको पर्दाफास गरेको अध्यक्ष खड्काले बताए ।माइती नेपाललाई गोप्य शुत्रबाट प्राप्त जानकारी अनुसार गत डिसेम्बर २०१८ र जनवरी २०१९ गरी दुई महिनाभित्र तीन सय १० जना नेपाली महिला मोरेको इमिग्रेसन पार गरि म्यानमार पुगिसकेका छन् ।

Published on: 2 February 2019 । Annapurna Post

Back to list

;