s

दुई वर्षसम्म कामदारले पाएनन् ज्याला

अच्युत राज भण्डारी

सिचाई कुलो निर्माणमा काम गरेका कामदारले दुई वर्ष बितिसक्दा सम्म ज्याला पाउन सकेका छैनन् । छायाँनाथ रारा नगरपालिका वडा नं. १० चराप गाउँ स्थित जिउला लामपाटी सिचाई आयोजनामा काम गरेका ६१ घरधुरीले ज्याला पाएका छैनन् । जिल्ला प्राविधिक कार्यालय अन्र्तगत सामुदायिक सिचाई आयोजनाको २६ लाख आर्थिक सहयोगमा निर्माण गरिएको उक्त सिचाई कुलोमा काम गर्ने स्थानीयले ज्याला नपाउदा निराश भएका छन् ।

आयोजना दुई वर्षअघि नै काम सम्पन्न भई सम्झौता अनुसारको रकम निकासा भएपनि उपभोक्ता समितिले स्थानीयलाई ज्याला नदिएको पाइएको छ । सिचाई आयोजनामा स्थानीयको २५ देखि ७० दिन काम गरेको हाजिर भएपनि ज्याला पाएका छैनन् । ‘मैले सिचाई कुलोमा काम गरेको ५० दिन छ तर, उपभोक्ता समितिले २ हजार ५ सय मात्र दिएको छ’ छायानाथ रारा नगरपालिका वडानं. १० चराप गाउँका रनकेशर बडुवालले बताए । दिनको ६ सय ज्याला दिन्छु भनेर समितिका अध्यक्ष शेरबहादुर ऐडीले काम गराए पैसा दिएनन् उनले गुनासो सुनाए ।
 
कार्यालयबाट पैसा आएको छैन निकासा भए दिउला भन्दै समितिका अध्यक्षले आलटाल गर्दै आएको पाइएको छ । आफुले ५० दिन कामगरेको ज्याला नपाएको रनकेशर बडुवाललको भनाइ छ । ढुङ्गा, गिट्टी र बालुवा बोक्दै पिठ्युँमा घाउ भयो कामको पैसा पाइएन बडुवालले गुनासो पोखे । ‘घरको काम छोडेर दुइ महिनासम्म लगातार सिचाइ कुलोमा काम गरीयो पुरा पैसा पाइएन, पैसा आएपछि पाइन्छ भन्दै दुइ वर्ष बितिसक्यो, जम्मा दुइ हजार ५ सय रुपैया पाइयो चराप गाउँका मानबिर बिकले बताए । कुलोको हालत अलपत्र अवस्थामा रहेको र खेत बारीमा बाझो देख्दा मनै दुखेर आउछ उनले भने ।
 
पैसा पाउने आसमै काम सकेको दुइ वर्ष बित्यो पैसा दिएनन् अब त आस लाग्नै छोडी सक्यो छायानाथ रारा नगरपालिका १० चराप गाउँकी होइजाली ऐडीको भनाइ छ । आफुले सिचाइ कुलोमा ५० दिन काम गरेको ६ सयका दरले ३० हजार पाउनु पर्नेमा दुइ हजार ५ सय पाएको उनले सुनाइन । एकातिर कामदारले ज्याला पाउन सकेका छैनन् भने अर्कोतिर निर्माण गरिएको सिचाई कुलो पनि प्रयोगबिहिन छ । मुहानदेखि कुलो निर्माण नगरी बीचभाग बाटै बनाइएको कुलो दुई वर्ष नबित्दै नहर माटो र ढुंगाले पुरिएको छ ।
 
रोवाजिउला, गाडापानी र चरापगाउँका स्थानीयको खेत र पाखो जग्गालाई सिचाई गर्ने उदेश्यले निर्माण गरेको सिचाई कुलो मरेको सर्प जस्तै भएको स्थानीयको भनाई छ । त्यस कुलोमा बिनियोजित बजेट बालुवाको पानी जस्तै खेर गएको छ । कार्यालयबाट २६ लाख रकम निकासा भइसकेको कामदारले ज्याला नपाएको भन्ने सुनिएको सामुदायिक सिचाइ आयोजनाका इन्जिनियर महेश कठायतले जानकारी दिए । आयोजनाको अबधि पनि समाप्त भएकोले पीडित कामदारले समितिका अध्यक्षबाट ज्याला भराउनु पर्ने उनको भनाई छ ।
 
Published on: 28 May 2018 | Naya Patrika

Back to list

;