s

दुई वर्ष विदेश बस्ने गैरआवसीय

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विधान संशोधन गरेर दुई वर्षभन्दा बढी विदेश बस्नेलाई एनआरएन मान्ने भएको छ । यसअघि विदेशमा १ सय ८३ दिन बसेकालाई एनआरएनको सदस्य बन्न पाउने प्रावधान  संघ विधानमा थियो ।

गैर आवासीय नेपाली संघ नेपालमा दर्ता हुन नसक्ने भएपछि संघले २ वर्षलाई नै मान्यता दिएको हो । २०६४ मा आएको गैर आवासीय नेपाली सम्बन्धी ऐनले २ वर्षभन्दा बढी विदेशमा बसेकोलाई मात्रै मान्यता दिने भनेपछि अन्योल  बढेको थियो । विधान संशोधनपछि संघ दर्ताको बाटो खुलेको छ । संघको शनिबार देखि सुरु भएको महाधिवेशन अन्तर्गतको बन्दसत्रले विधान संशोधनको प्रस्ताव पारित गरेको हो ।

संघका अध्यक्ष जीवा लामिछानेले विधान संशोधनको प्रस्ताव पेस गरेका थिए । प्रस्ताव पारित भएसँगै उनले गैरआवासीय नेपाली संघ दर्ताको लागि बाटो खुलेको बताए ।

'संघ दर्ताको औपचारिक बाटो खुलेको छ । हामी जतिसक्दो चाँडो दर्ताको प्रक्रिया अघि बढाउनेछौं,' उनले भने, 'नेपाल सरकारको ऐन र हामीले एउटै प्रावधान राखेका छौं । यसले लामो समयदेखि दर्ता हुन नसकेको संघलाई बाटो खुलेको छ ।'

संघ दर्ता हुन नसक्दा उसले सामूहिक रूपमा नेपालमा गर्ने लगानीमा अवरोध आइरहेको पदाधिकारीहरू बताउँदै आएका थिए । संघले ऐन संशोधनका लागि प्रयास गरे पनि पछिल्लो समय संसद् नभएका कारण रोकिएको थियो ।

सन् २००३ बाट सुरु भएको एनआरएन अभियानमा लगानी र समाजसेवाका धेरै प्रतिबद्धता आए पनि कार्यान्वयन नभएकाले देशभित्र आलोचना बढिरहेको थियो । अब भने संघ दर्तासँगै कार्यालय स्थापना गरेर लगानीको बाटो खुलेको  छ ।

महाधिवेशनको पहिलो दिन शनिबारको बन्द सत्रले यो निर्णय पारित गरेको हो । आइतबार संघको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ । यसअघि सर्वसम्मतबाट अध्यक्ष चयन हँुदै आए पनि यसपटक ५ जना प्रत्यासी मैदानमा छन् । आइतबार साझसम्म नतिजा प्रकाशित गर्ने कार्यक्रम छ ।

यस पटकको सम्मेलनमा पनि विगतमा झैं एनआरएनले नेपालमा पुर्‍याउन सक्ने योगदान, नेपाली नागरिकताको निरन्तरता, वैदेशिक रोजगारीमा रहेका नेपालीको काम र पारिश्रमिकको सुरक्षा र गैरआवासीय नेपाली संघ दर्ता नै  मुख्य छलफलको विषय छन् ।

सम्मेलनमा सहभागिता जनाउन ५० देशका करिब १३ सय जना राजधानी आइपुगेका छन् ।

यसपटक हुने निर्वाचनका लागि मतदाताको रूपमा दर्ता भएको आधारमा यो संख्या निकालिएको संघले जनाएको छ ।

१० वर्षमा संघको सञ्जाल ६५ देशमा पुगिसकेको छ । हरेक देशमा गठन हुने समितिलाई राष्ट्रिय समन्वय परिषद् -एनसीसी) भन्ने गरिन्छ । केन्द्रीयस्तरमा अन्तर्राष्ट्रिय समन्वय परिषद् -आईसीसी) हुन्छ ।

यसपटकको निर्वाचन यही आईसीसीको कार्यसमिति चयनका लागि हुन लागेको हो । निर्वाचन आइतबार हुनेछ । सम्मेलनको औपचारिक उद्घाटन भने राष्ट्रपति रामवरण यादवले सोमबार बिहान गर्ने कार्यक्रम छ ।

Published on: 20 October 2013 | Kantipur

Back to list

;