s

दुई बंगलादेशीलाई पाँच वर्ष प्रतिबन्ध

शम्भु कट्टेल 

गृह मन्त्रालयले नक्कली राहदानीमा युरोप छिर्न खोज्ने दुई बंगलादेशी मोहम्मद रहमान र एमडी मारुफ हुसेनलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ। अध्यागमन विभागको सिफारिसमा गृह मन्त्रालयले नक्कली राहदानीमा नेपाललाई ट्रान्जिट बनाई युरोप छिर्न खोज्ने उनीहरूलाई ५ वर्ष नेपाल आउन नपाउने गरी निष्काशन गरेको हो।

उनीहरू पुस २३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा पक्राउ परेका थिए। पोर्चुगलको जाली राहदानीमा चीनको कुनमिङ हुँदै युरोप जाने क्रममा उनीहरू विमानस्थल अध्यागमनमा पुस १८ गते पक्राउ परेका थिए। विभागले उनीहरूलाई गत शुक्रबार बंगलादेश फिर्ता पठाएको छ। अध्यागमन विभागका निर्देशक राजुप्रसाद पौडेलले जाली राहदानीमा आएका दुई बंगलादेशीलाई निष्काशन गरिएको बताए।
 
रहमान र हुसेनले शंकास्पद व्यवहार देखाएपछि अध्यागमन कर्मचारीले पक्राउ गरेका थिए। नेपाल प्रवेश गर्दा अध्यागन कर्मचारीले उनीहरूको नक्कली राहदानीमा आगमन अनुमति दिएका थिए। ५ दिन नेपाल बसाइपछि उनीहरू चीनको कुनमिङ हुँदै इटाली जान खोज्दा मात्र अध्यागमन कर्मचारीले राहदानी नक्कली भएको पत्तो पाएका थिए। इटाली हिँडेका उनीहरूसँग कुनै पनि युरोपेली देशको भिसा थिएन। अनुसन्धानका क्रममा उनीहरूको साथबाट बंगलादेश र पोर्चुगलका दुई राहदानी भेटिएपछि पक्राउ गरी थप अनुसन्धानका लागि विभागका बुझाएका थिए। जाली राहदानीअन्तर्गत काठमाडौं जिल्ला अदालतले सुनाएको जरिवाना तिरेपछि गृह मन्त्रालयले उनीहरूलाई निष्काशन गरेको हो।
 
बंगलादेशस्थित नेपाली दूतावासबाट भिसा लिएका उनीहरूलाई दूतावास कर्मचारीले समेत नक्कली राहदानीमा भिसा दिएका थिए। दलालको काम गर्दै आएका बंगलादेशी सज्जाद हुसेनको सुझावअनुसार रहमान र हुसेनले नेपालको भिसा लिएका थिए। दूतावास कर्मचारीले नक्कली राहदानीमा के कसरी भिसा जारी गरे केही खुलेको छैन। उनीहरूले पोर्चुगलको राहदानी खरिद गर्न दलाललाई प्रति राहदानी १० हजार अमेरिकी डलर बुझाएको बयान दिएका थिए।
 
Published on: 7 February 2018 | Annapurna Post

Back to list

;