s

दुबईमा नेपालीलाई मृत्युदण्ड सजाय

वैदेशिक रोजगारका लागि दुबई गएका संखुवासभा मंडेपोवरी ३ का अनीश खालिङ राईलाई पाकिस्तानी नागरिकको हत्या गरेको अभियोगमा त्यहाँको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। दुबईमा महिलाले सञ्चालन गरेको व्यापारिक भान्सामा काम गर्ने नेपाली र पाकिस्तानीबीच भएको झडपमा एक पाकिस्तानीको मृत्यु भएको थियो। सोही अभियोगमा राईविरुद्ध मुद्दा चलाइएको थियो। अदालतले शनिबार मृत्युदण्ड सुनाएका राई आठ महिनादेखि अबुधाबीको अलेन कारागारमा छन्।

राईलाई फाँसी सजाय दिइएको खबर आइतबार बिहान पाएपछि डेढबर्से छोरासहित पत्नी बिना राई परराष्ट्र मन्त्रालयको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग पुगेर घटनाको छानबिन गर्न र जीवनरक्षाका लागि पहल गरिदिन माग राखेकी छन्। राई छोरा जन्मेलगत्तै कामका लागि दुबई गएका थिए। उनी पाकिस्तानीसँगको झगडा मुद्दामा २०६९ कात्तिक ९ गते जेल परेका थिए। तर झगडामा घाइते भएका पाकिस्तानीको मृत्यु भएपछि हत्या अभियोगमा राईविरुद्ध कारबाहीप्रक्रिया अघि बढाइएको थियो।

सीएमए पास गरेका राई नेपालमा काम नपाएपछि २०६८ फागुनमा दुबई गएको पत्नी बिनाले बताइन्। ‘जेलबाट छुटेको समाचार आउला भनेर बसेकी थिएँ तर अदालतले फाँसीको सजाय सुनाएको खबर आयो’, बिनाले रुँदै विभागका अधिकारीसँग भनिन्, ‘मेरो श्रीमान् त्यस्तो (आपराधिक) प्रवृत्तिको मान्छे नै होइन। समूहको झडपमा उहाँ कसरी पर्नुभयो? यसमा छानविन होस्। उहाँलाई कसैले फसाएको हुनुपर्छ।’

उनले कन्सुलर विभागका प्रमुख यादव खनाललाई आफ्ना पतिको जीवनरक्षाका लागि पहल गरिदिन आग्रह गरिन्। एक नातेदारसँग विभाग पुगेकी बिनाले आफ्ना पति दोषी नरहेको भन्दै फैसलाको पुनरावेदनका लागि पहल गरिदिनसमेत विभागलाई अनुरोध गर्दै निवेदन दिएकी छन्। अबुधाबीस्थित नेपाली दूतावासमार्फत राईको जीवनरक्षाका लागि पहल गरिने आश्वासन विभाग प्रमुख यादवले बिनालाई दिएका छन्।

Published on: 22 July 2013 | Annapurna Post

Back to list

;