s

दुबईमा फसेका ७ जना युवाहरुको उद्धार

क्रान्ति शाह 

वीरगन्ज : बैदेशिक रोजगारीका लागि दुबई गएर अलपत्र परेका पर्साका बहुदरमाई नगरपालिकाका ७ जना युवाहरु घर फर्केका छन्। एजेन्ट (दलाल) मार्फत बैदेशिक रोजगारीका लागि दुबई गएका युवाहरु, नगर प्रमुख नितेन्द्र साहको पहलमा बिहीबार घर फर्किएका हुन्। 

आफ्नो निजी खर्चमा दसैंको विदामा दुबई भ्रमणमा गएका नगर प्रमुख साहले त्यहाँ अलपत्र परेका बहुदरमाई नपा १ बिश्रामपुरका हरिशंकर ठाकुर, प्रदिप कुमार, वडा नम्बर २ पिपराका प्रकाश प्रसाद, बाबुचन पासवान, बशिष्ठ हजारा, मुकेश साह र रामअयोध्या कुर्मीलाई उद्दार गरी घर फर्काएका हुन्। 

सर्लाहीको भरहथवाका एजेन्ट सुरेन्द्र यादवमार्फत झुक्याएर पर्यटक (टुरिस्ट)भिसामा बैदेशिक रोजगारीको लागि गएका थिए। दुबई भ्रमणमा गएका मेयर साहको सम्पर्कमा आएर उनीहरुले आफ्नो समस्या बारे जानकारी गराएपछि साहकै प्रयासमा उनीहरु नेपाल फर्केका हुन्। 

बिहीबार घर आइपुगेका बहुदरमाई २ प्रकाशका अनुसार, सर्लाहीका एजेन्ट यादवले चकलेट कारखानामा काम लगाइदिने भन्दै एक लाख ७० हजारको दरले सातै जना युवासँग रकम असुल गरेका थिए। दुबई पुगेपछि सातै जनाको पासपोर्ट बंगलादेशी नागरिक शेख इमरानले खोसे। चकलेट प्याकिङको काम लगाईदिने भनेर दुबई पठाएपनि त्यहाँ भने उनीहरुलाई सरसफाइको काममा लगाइएको थियो। प्रकाश प्रसादले भने,‘बंगलादेशी नागरिक इमरानले हामी सात जना सबैलाइ एउटै कोठामा कोचेर सुताउथे, बिहान बसमा चढाएर काममा लग्थे, बेलुकी बसले कोठामा ल्याएर छोड्थ्यो, खाना पनि एक छाक मात्र दिन्थे। 

प्रकाशसँगै बिहीबार बिहान घर आइपुगेका हरिशंकर ठाकुरले चकलेट प्याकिङको काम लगाइदिने भन्दै आफूहरुलाई एजेन्टले दबुई पठाए पनि त्यहाँ पुगेपछि बन्धक बनाएर सरसफाईकर्मीको काममा लगाएको बताए। आफ्नै नगरपालिकाको मेयर (नगरप्रमुख) साह दुबई घुम्न आएको थाह पाएपछि आफूहरुले साहलाई सम्पर्क गरेर आफनो समस्या सुनाएको र उनकै पहलमा घर फर्किन सम्भव भएको प्रकाश प्रसादले बताए। उनले भने,‘हामीले मेयर साबलाई फोनमा सम्पर्क गरेर आफनो पीडा सुनायाै‌, लगत्तै उहाँ हामी भएको ठाँउमा आएर भेट्नु भयो, हामीले आफूसँगै नेपाल लिएर जानुस् भनेर अनुरोध गर्यौं, अनि उहाँकै पहलमा हामी आज घर फर्कन पाएका हौं। 

आफूहरु समस्यामा फसेको थाहा पाए लगतै नगरप्रमुख साहले त्यसैबेला तत्काल दुबईको एक हजार रकमसमेत खाना खर्चको लागि दिएको प्रकाश प्रसादले बताए। उनले भने ,‘यदि मेयरसाब दुबई नगएको भए अझ कति दिन हामी बन्धक बन्नु पर्थ्याे। 

नगर प्रमुख साहलभने दसैं विदामा नीजी खर्चमा दुबई घुम्न गएका बेला त्यहाँ आफ्नै गाउँका युवाहरु अलपत्र परेको थाह पाएपछि आफनो भ्रमण समयवाधि छोट्याएर उनीहरुको उद्धारमा लागेको बताए। उनले भने ,‘मेरो दुबई टूर ७ दिनको थियो, तर युवाहरुका बारेमा थाहा पाएपछि मैले टूर ३ दिनमै छोट्याए, अनि त्यसपछि म यो काममा लागि हाले।'  

दुबई भ्रमणमा आफूसँगै गएका राहुल यादवको सहयोगमा बंगलादेशी नागरिकको नियन्त्रणमा रहेको पासपोर्ट फिर्ता गर्न लगाई युवाहरुलाई नेपाल फर्कन सम्पूर्ण व्यवस्था मिलाएर आफु दुबईबाट फर्केको उनले बताए। 

दुबईमा फसेका युवाहरुलाई त्यहाँबाट उद्धार गरी गाँउ ल्याउन आफ्नै करिव ६ लाख रुपैयाँ खर्च पनि भएको नगरप्रमुख साहले बताए। उनले भने,‘ दुबईमा उद्धार गरी त्यहाँ होटलमा ३/४ दिन सबैलाइ राख्नु पर्यो, होटेलको खर्च, प्लेनको टिकट , काठमाडाै‌बाट गाडीको भाडा सबै गरेर ६ लाख जति खर्च भएको छ सबै मैले व्यहोरेको छु।' उनले युवाहरुलाई झुक्याएर टूरीष्ट भिसामा दुबई पठाएका सर्लाहीका एजेन्ट यादव विरुद्ध कानूनी उपचार खोज्न आफु लाग्ने बताए। 

नगरप्रमुख साहले अझै पनि आफ्नो गाउँका ४ जना युवा दुबई मै फसेको बारे आफुले थाहा पाएकोले उनीहरुलाई पनि घर फर्काउन पहल गर्ने बताए। 

बिहीबार बिहान गाँउ आइपुगेपछि ती युवाहरुलाई उनीहरुका अभिभावक र गाँउलेले नगर प्रमुख साहसहित युवाहरुलाई पनि फुलको माला, अबीरटिका लगाएर खुशीयाली मनाएका थिए।

Published on: 22 October 2021 | Annapurna Post

Link

Back to list

;