s

दुवईमा विदेशी कामदारका लागि हाते पुस्तक : कामदारले गर्न हुने र नहुने काम यी हुन्

उमाकान्त पाण्डे

तपाईं दुवईमा हुनुहुन्छ ? तपाईंको बसाइलाई सजिलो बनाउन दुबई सरकारले हाते पुस्तक सार्वजनिक गरेको छ । दुवईमा हुने र नयाँ आउने कामदारले गर्न हुने र नहुने विषयमा जानकारी गराउन दुबई सरकारले हाते पुस्तक ल्याएको हो ।

विदेशी कामदारले दुबईमा रहदा र नयाँ आउन चाहनेका लागि उनीहरुको कर्तव्य र अधिकारका विषयमा सचेत गराउन हाते पुस्तक जारी गरिएको दबवई सरकारले जनाएको छ ।
 
तीन भाषामा हाते पुस्तक  
 
दुवईको मानव स्रोत तथा नागरिक रोजगार मन्त्रालय अन्तरगत वैदेशिक मामला तथा आवास महानिर्देशनालयले हातेपुस्तक सार्वजनिक गरेको हो ।
 
महानिर्देशनालयका उप–निर्देशक मेजर जनरल ओबाइद मोहेर बिन सुरोरले पुस्तकको विमोचन गरेको यहाँका स्थानीय संचार माध्यमहरुले उल्लेख गरेका छन् । ।
 
‘दुवईमा रहेका १० लाख विदेशी कामदारलाई निःशुल्क बाँडिने यो पुस्तिकाले कामदारलाई दुबईको कानुनसँग जानकार र उनीहरु यहाँ बस्दा दैनिकी सरल र सहज बनाउन सहयोग मिल्छ,’ पुस्तकको विमोचन गर्दै सुरोरले भन्नुभयो । 
 
दुवईस्थित श्रम मामलासम्वन्धी स्थायी समिति (पीसीएलए) ले अहिले युएईका कामदारलाई समितिसँग सम्पर्कमा रहन तथा आफ्ना अधिकार र दायित्वबारे जानकारी दिने एपको योजना अघि सारेको थियो । त्यसै अनुसार अहिले हाते पुस्तिका सार्वजनिक गरेको हो ।
 
कामदारलाई आफ्नो अधिकारको रक्षा गर्न तथा नियम कानुन पालना गर्न पुस्तिकाले सघाउने विश्वास दुवईले लिएको छ । आफूले के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्ने कुरामा कामदार सचेत भए समस्या न्यूनीकरण गर्न सहयोग मिल्ने अपेक्षा गरिएको छ ।
 
हाते पुस्तकमा विदेशी कामदारका लागि दुबईको नियमबारे के लेखिएको छ ?
 
कामदारले सबैभन्दा धेरै स्पोन्सरभन्दा बाहिर कसैका लागि काम गर्नु मुख्य समस्या हो । यसो गरेमा ५० हजार दिरर्हाम जरिवाना हुने कानूनी व्यवस्था छ ।  निर्देशिकाका अनुसार भिसा सकिएपछि पनि बस्ने र लागूऔषध तस्करीमा संलग्न हुने कामदारलाई आजीवन कारावासको सजाय हुन सक्छ । 
 
लागूऔषध प्रयोगकर्तालाई चार वर्ष जेल र हत्यामा संलग्न रहेको पाइएमा जन्मकैद वा मृत्युदण्ड हुने व्यवस्था छ । अन्य अपराधहरुमा, दंगा फैलाउने, चोरी गर्ने, मदिराको अवैध उपभोग, जुवा आदि छन् ।
 
नयाँ पुस्तिकामा कामदारलाई काम गर्ने ठाउँमा अपनाउनु पर्ने व्यक्तिगत सुरक्षाको विषयमा पनि शिक्षा दिइएको छ । हेलमेट, चश्मा, बुट, माक्सजस्ता साधनको महत्वबारे जानकारी गराइएको छ ।
 
पुस्तिकामा कामदारको कर्तव्य मात्रै नभएर उनीहरुको अधिकारका बारेमा पनि जानकारी दिइएको छ । काम गर्ने समय, साप्ताहिक बिदा, सार्वजनिक बिदा, ओभरटाइम, तलव, औषधि उपचार, आवासभत्तालगायतका विषयमा पनि स्पष्ट लेखिएको छ ।
 
युएई कामदारको अधिकारका विषयमा सचेत : नेपाली दूतावास 
 
कामदारका लागि आवश्यक पर्ने जानकारी सहित पालना गर्नुपर्ने कर्तव्य र अधिकारका विषयमा युएईले सकारात्मक प्रयास गरिरहेको युएईस्थित नेपाली दूतावासको भनाइ छ ।
 
अहिले सार्वजनिक गरेको पुस्तिका दूतावासमा उपलब्ध भएपछि सूचना जारी गरेर दुवईमा रहेका सबै नेपाली नागरिकसम्म पुर्‍याउने दूतावासका सूचना अधिकारी तथा द्वितीय सचिव कृष्ण अर्यालले उज्यालोलाई जानकारी दिनुभयो ।
 
कामदारले युएईमा ख्याल गर्नुपर्ने कुरा नेपाली भाषामै अनुवाद गरेर यसअघि पनि युएईले किताब सार्वजनिक गरेको थियो । दुई वर्षअघि दुवईमा भएको आबुधाबी डाईलगमा कामदारले जान्नुपर्ने १० वटा उपयोगी जानकारीसहित ६ पेजको हाते पुस्तक नेपाली भाषामा प्रकाशन गरिएको थियो । 
 
नेपाल अाफै‌ले पुस्तक प्रकाशन गर्ने 
 
युएईसहित खाडीका अरु देशमा जाने कामदारलाई सहज बनाउन सम्बन्धित देशको जानकारीसहित किताब प्रकाशन गर्ने कन्सुलर सेवा विभागले जनाएको छ ।
 
परराष्ट्र र श्रम मन्त्रालयको सक्रियतामा कन्सुलर सेवा विभाग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलगायतले जानकारी सकंलन गरिरहेको जनाएका छन् ।
 
सम्बन्धित देशको कानुन, रहनसहन, भाषा, संस्कृति, भेषभुषा तथा गर्न हुने र नहुने विषयमा नेपाली दूतावाससँग समन्वय गरेर पुस्तक प्रकाशन गर्न लागेको परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागले जनाएको छ । 
 
Published on: 20 February 2018 | Ujyaaloonline

Back to list

;